कोरोना भाइरसले ३६१ जनाको मृत्यु, १७,२०५ जना संक्रमित

काठमाडौं :-  कोरोनाभाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ३६१ पुगेको छ भने १७,२०५ संक्रमित भएका छन् । मृत्यु हुने ३६१ जना सबै चीनका भएका बताइएको छ । यसको संक्रमण अहिलेसम्म विश्वका २१ देशमा फैलिसकेको छ ।

संक्रमितहरुको उपचारका लागि चीन सरकारले १००० सैयाँको हस्पिटल निर्माण गरी आजदेखि सेवा दिने बताइएको छ । त्यस्तै १५०० सैयाँको हस्पिटल निर्माण भइराखेको छ ।

त्यस्तै चीनमा एक दिनमा नै २८०० भन्दा बढी कोरोना भाइरस संक्रमतिहरु भेटिएको बताइएको छ । यो सख्ंया अझै बढ्ने बताइएको छ । मिडिया रिपोर्टका अनुसार यो भाइरस नियन्त्रणका लागि वैज्ञानिकहरु औषधिको खोजीकार्य गरिराखेका छन् ।

उपचार
यो भाइरसले संक्रमित भई जटिल अवस्थामा पुगेकाहरूलाई लाक्षणिक उपचार गरिन्छ । सास फेर्न असजिलो, एक सय डिग्री फरेनहाइटभन्दा बढीको तीव्र ज्वरो, बान्ता, पखालाजस्ता समस्या ४८ घण्टाभन्दा बढी समय देखियो भने तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ ।

डब्लूएचओका विशेषज्ञहरूका अनुसार, जटिल अवस्थाका संक्रमित व्यक्तिलाई श्वासप्रश्वाससम्बन्धी स्याहार र उपचारको आवश्यकता हुन्छ । जटिल अवस्थामा शरीरका धेरैजसो अंगले काम गर्न छोड्ने अवस्थासमेत आउन सक्ने भएकाले ‘मल्टिपल अर्गेन सपोर्ट’ चाहिन्छ ।

जोखिम न्यूनीकरण
हातलाई साबुन–पानीले धुने वा हातमा अल्कोहलजन्य सेनिटाइजर दलौं ।
खोक्दा नाक र मुख हात, टिस्यु पेपर वा कुहिनोले छोपौं ।
चिसो लागेको वा रुघाखोकीको लक्षण भएकाहरूको निकट सम्पर्कबाट बचौं ।
मासु र अण्डालाई पकाएर खाऔं ।
जंगली वा पालिएको जनावरसँग असुरक्षित सम्पर्कबाट बचौं ।

कति खेर धुने हात ?
खोक्दा वा हाच्छिउँपछि ।
बिरामी व्यक्तिको स्याहार गरेपछि ।
चर्पी प्रयोग गरेपछि ।
हात फोहोर देखिएपछि ।
बाहिरबाट घर आएपछि ।
जनावर वा जनावरको फोहोर छोएपछि ।

प्रतिक्रिया दिनुहोस