चीनबाट ल्याइने विद्यार्थीलाई १५ दिनसम्म अलग्गै राखिने, मास्क उत्पादक बढाउन निर्देशन

काठमाडौं :- सरकारले कोरोना भाइरसबाट प्रभावित बनेको चीनको वुहान क्षेत्रबाट नेपाल ल्याइने विद्यार्थीलाई राख्नका लागि छुट्टै स्थान भेट्टाउन मुश्किल परेको जनाएको छ ।
कोरोना प्रभावित क्षेत्रमा रहेका विद्यार्थीलाई स्वदेश ल्याउने प्रक्रियाअन्तर्गत विवरण संकलन गर्न थालिए पनि उनीहरुलाई ल्याएर राख्ने छुट्टै स्थान भने फेला पार्न सकिएको छैन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार अहिलेसम्म चीनमा रहेका १ सय ७७ जना नेपाली (विद्यार्थी)ले नेपाल फर्किन चाहेको भन्दै फाराम भरेका छन् ।

तर, सरकारले भने उनीहरुलाई स्वदेश ल्याउने दिन र ल्याएर राख्नुपर्ने विशेष स्थानको यकीन गर्न सकेको छैन ।

‘अहिलेसम्म १ सय ७७ जनाले स्वदेश फर्किने भनेर फाराम भर्नुभएको विवरण हामीलाई प्राप्त भएको छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठले भने, ‘उहाँहरुलाई ल्याउने तयारी पनि शुरु गरिएको छ । तर, ल्याएर कहाँ राख्ने भनेर ठाउँ यकीन भएको छैन ।’

चीनबाट नेपाल आएका विद्यार्थीलाई कम्तिमा १५ दिन निगरानीमा राखिने जनाइएको छ । नेपाल ल्याइने त्यस्ता नेपालीको चीनमा पहिलो चरणको स्वास्थ्य परीक्षण गरिने छ । यस्तै, विमानमा चढाइने क्रममा विमानस्थलमा पनि स्वास्थ्य परीक्षण गरिने छ ।

नेपाल आएपछि विमानबाट झर्दा पनि परीक्षण गरिने र विमानस्थलको हेल्थ डेस्कमा पनि उनीहरुको स्वास्थ्य परीक्षण गरिने जनाइएको छ ।

यस्तै, विमानस्थलबाट तोकिएको स्थानसम्म पुर्याउनका लागि उनीहरुलाई विशेष गाडीको व्यवस्था गरिने पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

‘चीनबाट आउने सबै विद्यार्थी संक्रमित नै हुन्छन् भन्ने हुँदैन । तर, यहाँ ल्याउँदा ‘आउटब्रेथ’ नहोस् भनेर हामीले त्यहिअनुसारको व्यवस्थापन भने गर्छौं,’ श्रेष्ठले भने ।

अफ्रिकी मुलकुमा इबोला भाइरसको महामारी चलेको बेला पनि त्यहाँ तैनाथ शान्ति सेनालाई नेपाल ल्याएर १५ दिनसम्म छुट्टै स्थानमा राखेर निगरानी गरेको अनुभव आफूहरुसँग भएको श्रेष्ठले बताए ।

‘त्यतिबेला नेपाली सेनाका सुरक्षाकर्मीलाई शिवपुरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीलाई ककनीमा पूरै ब्यारेक नै खाली गरेर राखिएको थियो,’ श्रेष्ठले भने, ‘अहिले विद्यार्थीहरु ल्याएर कहाँ राख्ने भन्ने छलफल चलिरहेको छ । केही प्रस्तावहरु पनि आएका छन् । यस विषयमा छिट्टै निर्णय हुने छ ।

मास्क उत्पादक कम्पनीलाई उत्पादन बढाउन निर्देशन

कोरोना भाइरसको संक्रमणको त्रास बढिरहेको समयमा बजारमा मास्क अभाव देखिएपछि स्वास्थ्य मन्त्रालयले मास्क उत्पादक सम्पनीहरुसँग समेत उत्पादन बढाउन छलफल गरेको छ ।

यस्तै नेपालबाट मास्क निर्यात गर्न समेत रोक लाउन दिर्नेशन दिइएको स्वास्थ्य मन्त्रालका प्रवक्ता श्रेष्ठले बताए ।

चीन र भारतबाट आउने मास्कको आयात समेत बन्द भएकाले स्थानीय उत्पादनलाई वृद्धि गर्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता श्रेष्ठले बताए ।

‘केही दिन अघि मन्त्रीज्यु सहित स्टेक होल्डरहरुको मिटिङ भयो । हामीले अध्यागमन विभागलाई नेपालबाट बाहिर जाने मास्कको निर्यात तुरुन्त रोक्न पनि निर्देशन दिएका छौं,’स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठले भने, ‘नेपालको उत्पादन सामान्य खालको छ । त्यो तीनपत्र वाला मास्क उत्पादन दिनमान ३ हजार हुने रहेछ, त्यसको उत्पादन बढाउँन सबै उद्योगहरुलाई औषधि व्यवस्था विभागबाट निर्देशन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस