टिपर आतंक (सम्पादकीय)

काठमाडौं :-  टिपरले मान्छे मार्ने क्रम दिनहुँ चलिरहेको छ । यो क्रम अहिले मात्र होइन, विगत धेरै समयदेखि चलिरहेको छ । देशभरि नै टिपरले मान्छे घाइते बनाउने, मार्ने र पीडितका आफन्तले सडकमा विरोध प्रदर्शन गरेको केही घण्टापछि ‘क्षतिपूर्ती दिने शर्त’मा मिलापत्र गर्नु एक प्रकारको ‘नियमित आकस्मिकता’ नै बनेको छ ।

नेपालको सडक यातायात यात्रु मैत्री छैन । देशका धेरै शहरहरुमा फुटपाथ नै छैन, भएको फुटपाथको निर्माण पनि वैज्ञानिक पाराको छैन । खाल्डाखुल्टी, बन्द नगरिएका नालीहरु त छदैंछन्, त्यतिले पनि बचेंको फुटपाथ व्यापारीहरुको कब्जामा छ । पसलेहरुले आफ्नो सटरभित्र भन्दा धेरै समान फुटपाथमै राखेका हुन्छन् । त्यसैले यात्रु सडकबाट हिड्नुको विकल्पै छैन ।

लामो रुटका सडकहरुको त बेहाल छ । कुनै पनि रुटका सडकमा फुटपाथ नै बनाइएको छैन । मानौ त्यो सडकमा स्थानीयहरु हिड्नै पर्दैन, केवल लामो रुटका गाडीहरु मात्र हुइकिन्छन् । सडक निर्माणमा रहेको यो त्रुटीलाई सच्याएर देशभरकै मुख्य र भित्री सडकहरुमा अपांग मैत्री व्यवस्थित फुटपाथ बनाउने र फुटपाथमा कुनै पनि वाहानामा कुनै पनि किसिमको समान राख्न वा अवरोध पु¥याउन नदिने हो भने धेरै हदसम्म सडक सुरक्षित हुनेछ । फुटपाथ व्यवस्थित गर्ने बेलामा बेला बेलामा कुरा उठे पनि त्यो कार्यान्वयन नहुनु र लामो रुटका सडकमा फुटपाथ निर्माण गर्नेतर्फ ध्यान नदिइनु दुर्भाग्यपूर्ण हो ।

अर्काे कुरा टिपर नै बढी मात्रामा किन दुर्घटना हुन्छ भन्ने बारेमा कसैको ध्यान पुगेको देखिदैन वा ध्यान पुगेर पनि आफ्नो कमजोरी खुल्ला भन्ने डरले त्यसबारेमा चर्चा गरिदैन । लगातार टिपर दुर्घटना हुनु भनेको केवल संयोग वा चालकको कमजोरी मात्र कारण हुन सक्दैन । लगातार दुर्घटना बढिरहनु, नियन्त्रणका लागि गरिएका प्रयासहरु असफल भएपछि किन यस्तो भयो ? कतै सवारी चालक अनुमति पत्र प्रदान गर्ने तरिका र सवारी चालक माथि गरिने व्यवहार पनि मुख्य कारण छ कि ? भन्ने बारेमा विचार पुर्याइनु पर्नेमा अहिलेसम्म एक पटक पनि त्यसबारेमा ध्यान दिएको पाइदैन ।

सामान्यतया टिपरका चालकहरु उच्च शिक्षा नलिएका, भिषा लागे मलेसिया, कतार गैहाल्ने अल्लारे युवाहरु रहेको देखिन्छ । स्वभाविक हो, अल्लारे उमेरमा कुनै पनि कुरा ‘अति’ गर्ने रहर हुन्छ । आफूलाई मन लागेको कुनै पनि विषयवस्तु प्रतिको अति लगावको कारण ‘हेरौं न के हुन्छ ?’ भन्ने भावना हुन्छ ।

फलस्वरुप चालकको सिटमा वसिसकेपछि ‘म पनि के कम’ भन्दै हुईकाउने गर्छन् । कलेज जाने युवाहरुमा मोटरसाइकल हाक्ने जुन होड हुन्छ, कलेज जान नपाएर टिपरलगायतका सवारी साधनको चालकको सिटमा वसेका युवाहरुमा पनि आफ्नो सवारी साधन ‘हांकेर देखाइदिने’ प्रतिशोधपूर्ण दृढता हुन्छ । फलस्वरुप उनीहरुले नियन्त्रण गर्न समेत नसक्ने गरी सवारीसाधन हुईक्याउँछन् र दुर्घटना हुन्छ ।

यो कुरालाई महसुस गरेर अब कम्तिमा मोटरसाइकल र टिपर लगायतका हलुका सवारी साधनको लागि चालक अनुमतिपत्र दिँदा उमेर हददेखि लिएर चालकको मानसिकता परिवर्तनसम्मका कार्यक्रमहरुमा पुर्नविचार गरिनु जरुरी छ ।

टिपर आतंकलाई केवल ‘टिपरको दोष’ मात्रै नदेखि सवारी चालक अनुमतिको प्रकृया र उमेरसंग जोडेर हेरिनु पर्छ र टिपरलाई मात्र होइन, मोटरसाइकल, स्कुटर लगायतका साइकल वाहेकका दुई पाङग्रे सवारी साधनलाई एउटै वर्गमा राखेर विश्लेषण गरिनु पर्छ ।

किनकी यस्ता सवारी साधन चलाउनेहरु अल्लारे हुन्छन् र उनीहरुको उत्साह, जोश र ‘इगो’ एउटै हुन्छ । एउटा सानो निहुँमा पनि ‘गरिहालौं न त’ भन्ने भावना हुन्छ । त्यसैले सवरी चालकको अनुमति दिँदा, तालिम दिँदा र कारवाहीको भागदार बनाउँदा उमेर समुहलाई केन्द्रमा राखेर नीति बनाएर कडाईका साथ लागू गर्ने हो भन्ने बल्ल टिपर मात्र होइन, मोटरसाइकल आतंक पनि निकै हदसम्म नियन्त्रण हुनेछ ।

अन्यथा अहिले गरिएको जस्तो दुर्घटना गराएको भन्दै टिपरलाई सराप्दै र दुर्घटना भएपछि पीडितका परिवारसंग मिलापत्र गराउने काम मात्र गरिरहने हो भने यो समस्याको समाधान कहिल्यै हुने छैन ।

प्रतिक्रिया दिनुहोस