यसकारण अध्यक्ष बिष्णु भट्ट गोरखा सफंल गाउपालीका अध्यक्ष

काठमाडौं :- वारपाक सुलिकोट गाऊँपालिका, जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका र राष्ट्रिय पुननिर्माण प्राधिकरणविच जीविकोपार्जन सुधार सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ । सहभागीतामूलक ग्रामीण पुनर्लाभ परियोजना सञ्चालनका लागि त्रिपक्षीय सम्झौता भएको हो ।

ताकुकोटको सूर्यज्योती माध्यमिक विद्यालयमा शनिवार भएको कार्यक्रममा गाऊँपालिका अध्यक्ष विष्णु भट्ट, प्राधिकरणका उपसचिव युगराज पाण्डे र जाइकाका प्रतिनिधि नानाको चुकाहाराविच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङ, परियोजनाका जिल्ला संयोजक बुद्धिमान श्रेष्ठ लगायतको पनि सहभागीता रहेको थियो ।

गोरखाका दुईवटा स्थानीय तहमा जाइकाले जीविकोपार्जन सुधार सम्बन्धी कार्यक्रम सञ्चालन गर्न लागेको हो । पालुङटार नगरपालिका र वारपाक सुलिकोट गाऊँपालिकामा सन् २०२२ सम्म परियोजना सञ्चालन हुनेछ ।परियोजना अवधीभर सिन्धुपाल्चोकका दुई सहित गोरखाका दुई स्थानीय तहमा २७ करोड रुपैया खर्च गर्ने परियोजनामा उल्लेख छ । परियोजना अन्तर्गत कृषि, पर्यटन, मूल्य श्रृङ्खला र विपद जोखिम न्यूनीकरण सम्बन्धी कार्यक्रम गरिने परियोजनाका जिल्ला संयोजक बुद्धिमान श्रेष्ठले बताउनुभयो ।

जाइकाले यसअघि कार्यक्रम गरिसकेका, अरु निकायले उस्तै प्रकारको कार्यक्रम नगरेको र पुननिर्माणको काम राम्रो भएको लगायतका सूचकका आधारमा कार्यक्रम सञ्चालन गर्ने पालिका छनौट गरेको उहाँको भनाई छ ।

भूकम्पपछिको पुननिर्माणको काम सकिनै लागेकाले अब जीविकोपार्जन सम्बन्धी कार्यक्रम सञ्चालन गर्नु जरुरी भएकाले जाइकासँग सहकार्य गरिएको पुननिर्माण प्राधिकरणका प्रवक्ता गोपाल अर्यालले बताउनुभयो ।

पुननिर्माणपछि सामाजिक र आर्थिक पुनरुत्थानको काम गर्नै पर्ने भएकाले गोरखाका दुई स्थानीय तहमा नमुनाको रुपमा उक्त कार्यक्रम सञ्चालन गर्न लागेको उहाँको भनाई छ । स्थानीय तहले आफ्नो नीति, योजनामा पुनरुत्थानका काम कसरी गर्न सक्छ भन्नेबारे पनि उक्त कार्यक्रम कार्यान्वयनपछि जानकारी लिन सकिने प्राधिकरणको विश्वास छ ।

पहिलो चरणमा गोरखा र सिन्धुपाल्चोकका दुई दुई स्थानीय तहमा कार्यान्वयन हुने उक्त कार्यक्रम प्रभावकारी भएमा भूकम्प प्रभावित सबै जिल्लामा कार्यक्रम अघि बढाउन सकिने जाइकाले संकेत दिएको छ ।

सहभागीतात्मक ग्रामीण पुनर्लाभ कार्यक्रममा जाइकाले स्थानीय, प्रदेश र संघ तीनै तहका सरकारसँग सहकार्य गर्ने पुननिर्माण प्राधिकरणका प्रवक्ता अर्यालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस