संजयको क्यामरामा नयाँ चरा कैद

काठमाडौं :- सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्षमा विश्वमै दुर्लभ मानिने एक नयाँ प्रजातिको चरा फेला परेको छ ।
‘सेतो पेटे रानी चरी’ नाम रहेको उक्त चराको फोटो नेपालमै पहिलो पल्ट भक्तपुर बोडेका स्थानीय एवं फोटोग्राफर संजय थाः श्रेष्ठले खिचेका हुन् ।

Swinhoe Minivet अंग्रेजी नाम रहेको उक्त चरा श्रेष्ठले माघ ९ गते खिचेको बताए ।

संचारगृहसंग कुरा गर्दै फोटोग्राफर श्रेष्ठले भने, कोशीटप्पमा चरा खोज्दै हिड्ने क्रममा मैले उक्त चरा देखेको थिए । फोटो खिच्दासमेत त्यो चरा दुर्लभ रहेछ भने मलाई थाहा थिएन । मैले सयौं चराको फोटो खिचिसक्दा समेत उक्त चरा आफूले नखिचेको भएरै आफ्नो क्यामरामा कैद गरेको हुँ । पछि थाहा भयो यो त दुर्लभ चरा पो रहेछ ।

तस्बिरः संजय थाः श्रेष्ठ

संजय कोशीटप्पु वर्ड वाचिङ क्याम्पका सञ्चालकसमेत हुन् । आफू बेला बेलामा क्याम्पका गईरहने उनी बताउँछन् । क्यामरा चलाउने सोख पूरा गर्दा गर्दै यसै पेशामा सकृय रुपमा लागेकोसमेत संजय बताउँछन् । पछिल्लो समय उनी चराकै फोटो खिच्नका लागिसमेत कहलिएका छन् ।

उनी भन्छन्, चराको फोटो खिच्न त्यति सजिलो छैन । बिहानदेखि बेलुकासम्म जंगल जंगल हिडेर बल्ल एउटा फोटो मिल्छ । यो पटक पनि त्यस्तै भएको थियो । फोटो खिच्दाको सब दुःख एक राम्रो फोटो मिलेसँगै आनन्दमा बदलिने गरेको छ । ‘सेतो पेटे रानी चरी’ को हकमा पनि त्यही भएको हो ।

चराको टाउको वरपर खैरो, पेट सेतो र पछाडिको भाग कालो छ ।

सुनसरी, उदयपुर र सप्तरीमा फैलिएको कोशीटप्पु वन्यजन्तु आरक्षमा मात्रै ५२६ प्रजातिका चरा पाइने रेकर्ड छ । पछिल्लो समय आरक्षमा ‘सेतो पेटे रानी चरी’ नामक प्रजातिको चरा फेला परेसँग यो संख्या बढेको छ ।

‘नयाँ प्रजाति’ भनेर प्रचार गरिए पनि उक्त चरा सन् २०११ नोभेम्बर १९ मा चरा विज्ञ बद्री चौधरीलगायतले रेकर्ड गरेका थिए । भारतबाट आएको रैथाने उक्त चरा दुर्लभभन्दा पनि कम देखिने चरामा पर्ने चरा विज्ञ डा. हेमसागर बरालले जानकारी दिए । सो समयमा उक्त चराको रेकर्ड भएपछि नेपालीले खिचेको फोटो भने यो नै पहिलो बनेको छ ।

तस्बिरः संजय थाः श्रेष्ठ

त्यसबेला दुई प्रजाति ‘एसी मेनिभेट’ र ‘सुइनोज मेनिभेट’ प्रजाति रेकर्ड भएका थिए । त्यसपछि हालसम्म फेला परेको थिएन । यस चराको विषयमा डा. बरालले सन् २०१६ मा लेखेको ‘बर्ड अफ सप्तकोशी’ पुस्तकमा समेत उल्लेख छ । नेपालमा भएका ८८६ प्रजाति चरामा पेटे चरा उल्लेख छ ।

आरक्षणमा चीन, रसिया, पाकिस्तान, बङ्लादेश, भारत, भूटानबाट कोशीटप्पुमा चरा आउने गर्छन् । चखेवा, कराङकुरुङ रसियाबाट आएका हुन् । यी चरा विश्वमा धेरै लामो दूरी उड्नसक्ने पँक्षीका रूपमा चिनिन्छन् । नेपालमा पाइने जम्मा ८८६ प्रजातिमध्ये ५९ प्रतिशत चरा कोशीटप्पुमा पाइन्छ ।

उक्त चरा नयाँ प्रजातिको हुन सक्ने अनुमानपछि प्रमाणीकरणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग काठमाडौं पठाइएको थियो । श्रेष्ठले खिचेको चराको फोटो नेपालका लागि नयाँ भनेर विभागले प्रमाणित गरेको हो । योसँगै अब कोशी टप्पुमा पाइने चरा प्रजातिको संख्या ५ सय २७ पुगेको छ ।

चरा हेर्नकै लागि स्वदेशी/विदेशी पर्यटक कोसीटप्पु आउने गर्छन् । कोसीटप्पुमा हरेक वर्ष चरा गणना हुँदै आएको छ । यस वर्ष २५ देखि २९ पुसमा पनि गणना गरिएको थियो ।

तस्बिरः संजय थाः श्रेष्ठ

उनले ५ सय प्रजाति चराका फोटो खिचिसकेका छन् । जसमा ४० प्रजातिका त दुर्लभ चरा छन् । बाल्यकालदेखि चरा प्रजातिमा निक्कै सोख रहेको बताउने संजयले त्यही सोख पूरा गर्न घरमा परेवासमेत पालेका छन् । घरमा त्यही परेवाको फोटो खिच्दाखिच्दै अन्य चराप्रतिको मोहसमेत बढेको उनि बताउँछन् ।

उनि फोटो खिच्नकै लागि कोशी टप्पु, बर्दिया राष्ट्रिय निकुञ्ज, इलामको सन्दकपुर, अन्नपुर्ण बेस क्याम्प, हेलम्बु, गोसाइकुण्ड, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, बिराटनगरको बर्जु ताल, काठमाडौं आसपासका डाँडाहरुलगायत देशका बिभिन्न स्थानमा पुगिसकेको बताउँछन् । कोशी टप्पुमा मात्रै उनि बिभिन्न सिजनमा गरी २० औं पटक पुगिसकेका छन् ।

Photography मा पनि Wild life  Photography लाई निक्कै कठीन पेशाको रुपमा लिइन्छ । यसमा विशेषगरी जंगली जनावरकै फोटो खिचिने हुँदा अधिकाँश समय जंगलमै हिड्नुपर्ने हुन्छ । संजय आफ्नो अनुभव सुनाउँदै भन्छन् । उनले विश्वमै दुर्लभ मानिने Fishing cat को तस्बिर लिन सफल भएका छन् । यो विशेष गरी कोशी टप्पुमा देखा पर्दछ ।

Wild life  Photography कै मोहको कारण उनले कोशी टप्पु क्षेत्रमा कोशी टप्पु Bird watching camp समेत संचालन गरेका छन् । उनले त्यसैलाई आफ्नो वेश बनाएर दुर्लभ जनावरका फोटो खिच्न सफल भएका छन् । प्रकृतिको साथै जनावरको समेत संरक्षण गर्नुपर्ने एजेण्डा बोकेर उनि अगाडी बढेका छन् । जसरी नेपालको प्रकृतिले पर्यटकलाई लोभ्याउने गरेको छ, त्यसैगरी दुर्लभ जनावरको संरक्षण गर्ने हो भने त्यसले पनि पर्यटक नेपाल भित्राउन सकिने भनाइ श्रेष्ठको छ ।

Bird watching camp संगै उनले नट Point Mall र नट Point व्याङ्क्वेट एण्ड टेनिङ सेन्टर संचालन गरिरहेका छन् । फोटो खिच्ने क्रममा गैडाले लखेटेको, सर्पले टोक्न लागेकोदेखि फोटो खिच्न चरालाई कुर्दा निदाएर भीरबाट लडेकोसम्मको अनुभव उनिसँग छ । दिनभर क्यामरा बोक्दा उनको हातभरी ठेला उठेको छ । एउटा चराको फोटो खिच्न एक सिजनमा नभेटेर अर्को सिजनसम्म कुरेको अनुभव पनि उनको छ । चीनबाट सगरमाथा पार गरेर आउने खोया हाँसको फोटो खिच्न उनले एक बर्षनै कुनुैपर्यो । जंगलमा हिड्दा कहिले दुई दिनसम्म पनि खान नपाएको उनि बताउँछन् । उनि भन्छन्– यि सब कुराहरुको अर्थ एउटै हो । यसमा धैर्यता चाहिन्छ र जुन म मा छ । हुन पनि छोटो समयमा उनले खिचेका फोटोहरु निक्कै उत्कृष्ट बनेका छन् । उनले कतै सिकेका होइनन्, आफैंले क्यामरा चलाउँदै उनि आजको अवस्थामा पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस