काठमाडौं :- गोरखा नगरपालिका १० स्थित छेपेटारमा गोरखकाली क्रसर उद्योगको टिपरले ठक्कर दिँदा स्थानीय एक महिलाको मृत्यु भएको छ ।
स्थानीय एक विद्यालयमा दूध पु¥याउन जाँदै गरेकी ५२ वर्षीया मनमाया तामाङलाई आज ग १ ख ८०२७ नम्बरको टिपरले ठक्कर दिएको थियो । गोरखा नगरपालिका १० अमलापानी घर भएकी मनमाया भुइँमा लडेपछि टिपर ब्याक गरेर किचेर मारेको स्थानीयको दाबी छ ।
टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनापछि आक्रोशित समूहले ठक्कर दिने टिपरमा आगो लगाएका छन् । साथै क्रसर उद्योगका अन्य टिपर र एक्साभेटरमा समेत तोडफोड गरिएको छ ।
उनीहरुले उक्त क्रसर उद्योग बन्द गराउन र पीडितलाई उचित राहत दिन माग गर्दै शव उठाएका छैनन् ।
उक्त क्रसर उद्योग अवैध भएको दाबी स्थानीयको छ । गोरखा नगरपालिका वडानम्बर १३ मा दर्ता भएको, तर वडानम्बर १० सञ्चालन गरिएको भन्दै उक्त क्रसर उद्योग बन्द गराउनुपर्ने स्थानीयको माग छ ।
स्थानीय प्रशासनले पीडित पक्ष र क्रसर सञ्चालकबीच वार्ताको पहल भइरहेको जनाएको छ ।