अलबिदा चाचाजी !

जनक नेपाल/काठमाडौं :-  पुरानो पुस्ताका पत्रकार ‘चाचाजी’ अर्थात् पन्नालाल गुप्त अब रहेनन् । मुलुकको केन्द्रीय मुकामभन्दा टाढा रहेर स्थानीय पत्रकारितामा लामो योगदान गरेका चाचाजी धेरैका प्रिय पत्रकार थिए ।

९२ वर्षको उमेरमा १५ माघ साँझ नेपालगन्ज मेडिकल कलेजमा उनको निधन भयो । एउटा सरल, सादगी र सक्रिय जीवनको आर्दश भने उनलाई चिन्नेहरूको स्मृतिमा रहिरहने छ ।

चाचाजीको शुक्रबार बिहान १० बजे राप्ती नदी सिधनवाघाटमा अन्तिम संस्कार गरिनेछ । उनका श्रीमती, चार छोरा र तीन छोरी छन् ।

नेपालगन्जको पत्रकारिताको एउटा विम्ब थिए, चाचाजी । सेतै फुलेका मसिना दाह्री, ढाका टोपी र साइकल उनको पहिचान थियो । हेर्नुस्, सन्तोष रेग्मीले उपलब्ध गराएको तस्बिरमा आफ्नो साइकलसहित चाचाजी (तल) ।

जीवनभर लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा लडे । गान्धीवादी अहिंसात्मक विचारमा दृढ रहे । पत्रकारिताका माध्यमबाट झण्डै ५ दशक निरन्तर सेवा गरे । जीवनको उत्तरार्धसम्मै सम्पादकका रुपमा साप्ताहिक ‘किरण’ लाई निरन्तरता दिइरहे ।

उनको पत्रकारिता पञ्‍चायतकालीन राजनीतिक आन्दोलनबाटै सुरु भएको थियो । प्रहरीले खोजी गरेपछि उनी भारत लागे । त्यहाँ उनी काँग्रेस नेताहरूको सम्पर्कमा पुगे र पत्रकारिताबाट आन्दोलनलाई सघाउन थाले । स्थिति सहज भएपछि नेपालगन्ज फर्किएर छोरा विजय गुप्तले थालेको पत्रिका सम्पादन गर्न थाले । स्थिति यस्तो आयो कि बाबुछोराले भूमिका साटेझैँ भयो । छोरा विजय राजनीतिमा लागे, चाचाजी पत्रकारितामा । विजय नेपालगन्ज नगरका मेयर भए भने चाचाजी प्रेस स्वतन्त्रता सेनानी ।

साप्ताहिक ‘किरण’ का अलराउन्डर रिपोर्टर थिए, उनी । प्रकाशक र प्रधान सम्पादक पनि उनी आफैँ थिए । पत्रिका छापिने अघिल्लो साँझ अबेरसम्म बसेर डिजाइन र प्रुफ समेत आफैँ हेर्थे । पत्रिका छापिएपछि नेपालगन्जमा वितरकले बाँड्थे । बाहिर पठाउन साइकलमा च्यापेर उनी आफैँ हुलाक पुग्थे । खासमा चाचाजी ‘वान म्यान जर्नलिज्म’ का सफल अभ्यासकर्ता थिए ।

चाचाजीले पत्रकारितालाई कहिल्यै व्यवसाय स्वीकारेनन् । न त कहिल्यै विज्ञापन माग्न कतै गए । पत्रकारितालाई मिसन ठाने । समाजसेवा र पत्रकारको सामाजिक उत्तरदायित्व माने । उनी पत्रकारितालाई लोकतन्त्रको साधन मान्दथे । पत्रकारिता आम नागरिकको जीवनपद्दति बन्नुपर्छ भन्थे । विश्वसनिय पत्रकारिताको पक्षपाति थिए, चाचाजी ।

लोकतान्त्रिक आन्दोलनमा आफैँ संलग्न भएकाले हुनुपर्छ, लोकतन्त्र संस्थागत हुन नसकेकोमा उनी चिन्तित थिए । पत्रकार सम्मेलनमा उनलाई सामना गर्न नेताहरूलाई मुस्किल पर्‍थ्यो । पहिले उनी काँग्रेसबाट आशावादी थिए । मधेस आन्दोलनपछि उनको भरोसा मधेसकेन्द्रित दल र नेताहरूतर्फ ढल्कियो । तर पछिल्लो समय सत्तामुखी प्रवृत्ति देखिएपछि उनीहरूसँग पनि चाचाजीको मोहभंग भयो । थुप्रैपल्ट उनले पत्रकार सम्मेलनमा नेताहरूलाई नाजवाफ हुनेगरी र्‍याखर्‍याख्ती पारेका छन् ।

जतिसुकै भिन्न विचार भए पनि सम्मान गर्नुपर्छ भन्ने चाचाजीको आदर्श थियो । पत्रकार कृष्णसेन इच्छुक पहिलोपल्ट पक्राउ परेको बेला उनी बाँके पत्रकार महासंघका अध्यक्ष थिए । महासंघ केन्द्रले इच्छुकको रिहाइको माग गर्दै देशभर लालटिन जुलुस निकाल्ने निर्णय गर्‍यो । पत्रकारको आवरणमा हिंसालाई प्रोत्साहन गर्नुहुन्न भन्नेमा चाचाजी प्रष्ट धारणा राख्दथे । त्यतिबेला उनले भनेका थिए, ‘इच्छुकको पत्रकारिता र महासंघ केन्द्रको निर्णयप्रति मेरो विमति छ । तर, भिन्न विचारको सम्मानका लागि लालटिन जुलुसको नेतृत्व गर्न म तयार छु ।’

पत्रकार सम्मेलनहरूमा, कार्यक्रमहरूमा उनीसँग रिपोर्टिङ गर्ने पत्रकार उनका नाति पुस्ताका थिए  । तर, कहिल्यै कसैलाई कनिष्ठ भएको महसुस हुन दिएनन् । उनी सबैलाई माया गर्थे, हामी सम्मान गर्थ्यौँ । नेपालगन्जका पत्रकारले केही वर्षदेखि चाचाजीको सम्मानमा उनको जन्मोत्सव मनाउन थालेका थिए । गत वर्ष रथारोहणसमेत गरियो ।

सायदै त्यस्ता कुनै त्यस्ता कार्यक्रम होलान्, निम्ता आएर पनि चाचाजी नपुगेका होउन् । त्यसैले त रिपोर्टिङ होस् वा प्रेस स्वतन्त्रताको आन्दोलन, हामी सँगसँगै रह्यौँ ।

नेपाली पत्रकारितालाई त्यो अभिभावकत्व, साथ र सक्रियताको अभाव सधैँ खड्किरहने छ ।

अलबिदा चाचाजी !

प्रतिक्रिया दिनुहोस