सुर्खेतमा कफ्र्यू हटाइयो

काठमाडौं :-  जिल्ला प्रशासन कार्यालय सुर्खेतले हिजो साँझ ६ बजेदेखि लगाएको कफ्र्यू हटाएको छ । स्थिति सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले आज बिहान ६ बजेसम्मका लागि घोषणा गरेको कफ्र्यू आदेश फिर्ता लिएको हो ।

वीरेन्द्रनगरको गौतम चोकमा टिपरले ठक्कर दिएर मोटर साइकल चालक कालिकोट सिमखेतका २० वर्षिय केशर सिंहको मृत्यु भएको विषयमा तनाव बढेपछि हिजो साँझ कफ्र्यू लगाइएको हो ।

सिंहको मृत्युको विषयलाई लिएर दिनभर वीरेन्द्रनगर बजार तनावग्रस्त बन्यो । स्थानीय प्रदर्शनकारी र प्रहरीबीच पटक पटक झडप भयो भने प्रहरीले चलाएको गोली लागेर ७ जना घाइते भएका छन् ।

प्रदर्शनकारीको ढुंगा लागेर ४ जना प्रहरी समेत घाइते भएका छन् । प्रहरीले लाठीचार्ज र दर्जनौं राउण्ड अश्रुग्यास प्रहार समेत गरेको थियो । प्रदर्शनकारीले बजार क्षेत्रमा रहेको एउटा प्रहरी विट समेत तोडफोड गरेका छन् । प्रहरीले घटनास्थलबाट बल प्रयोग गरेर मृतक सिंहको शव उठाएको छ ।

प्रतिक्रिया दिनुहोस