नेकपा केन्द्रीय कमिटी बैठक आजदेखि

काठमाडौं :- नेकपा केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदैछ । पार्टी एकीकरणको २१ महिनामा दोस्रोपटक बस्न लागेको बैठकमा केन्द्रीय सदस्यहरूले भने पहिलोपटक धारणा राख्न पाउनेछन् ।

राष्ट्रिय सभागृहमा बिहान ११ बजे उद्घाटन हुने बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले उद्घाटन मन्तव्य र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले दुवै अध्यक्षका तर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ ।

आज नै महासचिव विष्णु पौडेलले सांगठनिक र विधान संशोधन प्रस्ताव तथा सातै प्रदेशका अध्यक्षहरूले प्रगति प्रतिवेदन प्रस्तुत गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाए ।

अध्यक्ष र महासचिवको प्रतिवेदन आइसकेपछि समूह विभाजन गरेर छलफल चलाउने तयारी नेकपा सचिवालयले गरेको छ । सचिवालय सदस्य झलनाथ खनालका अनुसार एक समूहमा ३० जना रहने गरी १५ समूह बनाउने र उनीहरूलाई छलफलका लागि आज र भोलि समय दिने निर्णय सचिवालयको छ ।

नामको वर्णानुक्रमअनुसार तय गरिने समूहमध्ये ८ वटा समूहले राष्ट्रिय सभागृहमा, ४ वटा समूहले पार्टी कार्यालय धुम्बाराही र ३ वटा समूहले पार्टी कार्यालय पेरिसडाँडामा बसेर छलफल गर्नेछन् । सबैले १७ गते समूहगत निष्कर्ष सुनाएपछि १८ गते सचिवालय बैठक बसेर छलफल गर्ने र १९ गते अध्यक्षद्वयले जवाफ दिने कार्यतालिका रहेको सचिवालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस