शहीद धर्मभक्त माथेमाको सम्झना गरिँदै, के–के भएको थियो मृत्युदण्ड अघि

काठमाडौं :-  सोमबार माघ १३ गते अर्थात् शहीद सप्ताहको चौथो दिन । शहीद सप्ताहको अन्तिम दिन शहीद धर्मभक्त माथेमाप्रति श्रद्धाञ्जली अर्पण गरिँदैछ ।

धर्मभक्तलाई मृत्युदण्ड दिइएको काठमाण्डौको सिफलमा रहेको उहाँको शालिकमा माल्यार्पण गरिने कार्यक्रम छ । विसं १९६६ सालको असोजमा पिता सुब्बा आदिभक्त माथेमा र माता चन्द्रकुमारी देवीको कोखबाट काठमाण्डौको ओम बहालमा जन्मिनु भएका धर्मभक्तलाई तत्कालीन राणा शासकले विसं १९९३ साल माघ १३ गते सिफलको बकाइनाको रुखमा झुण्ड्याएर मृत्युदण्ड दिएका थिए ।

तत्कालीन राजा त्रिभुवनका व्यायाम शिक्षकसमेत रहनु भएका धर्मभक्तले राणा शासनको विरोधमा १९९३ सालमा आफनै घरमा प्रजा परिषद्को स्थापना गर्नु भएको थियो ।

धर्मक्तका बुबा आदिभक्तले राणाहरुका लागि भारतबाट सामान ल्याउनु हुन्थ्यो र त्यही कारणले धर्मभक्तले दार्जि्लिङमा शिक्षा आर्जन गर्नुभयो । धर्मभक्तले केही समय कोलकतामा पनि अध्ययन गर्नुभयो ।

शरीर दुब्लो भएर व्यायाम गर्न थाल्नु भएका धर्मभक्तले बङ्गालको शारीरिक व्यायामशालाबाट बङ्गाल च्याम्पियन भएर नाम पनि कमाउनु भयो।

बङ्गालमा रहँदा अङ्ग्रेजकै पालाबाट उहाँमा राजनीतिक चेतना जागेको थियो । यसै क्रममा उहाँको सम्पर्क बङ्गाली नेता चित्तरन्जन दाससँग भयो । केही समयपछि उहाँका बुबालाई राणा प्रधानमन्त्री जुद्ध शमशेरले निर्वा्सित गरिदिए।

विसं १९९० मा धर्मभक्त माथेमाको उत्तरादेवीसँग विवाह भयो र उहाँले भारतको स्कटिस चर्च कलेजबाट आईए उत्तीर्ण गर्नुभयो । विसं १९९० सालमा धर्मभक्तको दशरथ चन्दसँग भेट भयो। त्यसपछि चन्द पनि प्रजा परिषद्को संस्थापक सदस्य हुनु भयो ।

धर्मभक्तले विसं १९९३ सालमा आफ्नै फुपूको घरमा नेपाल प्रजा परिषद्को स्थापना गर्नु भएको थियो। प्रजा परिषद् र राजा त्रिभुवनका बीच भएको सम्पर्क राणाहरूले चाल पाए र धर्मभक्तलाई पक्राउ गरियो । विसं १९९७ माघ १२ गते उहाँलाई सिफलमा मृत्युदण्ड दिइयो ।

प्रतिक्रिया दिनुहोस