राजमार्ग बन्द गर्ने उखु किसानको चेतावनी

नवलपरासी :-   सरकारले तोकेको समय सीमाभित्र पनि भुक्तानी नपाएपछि पश्चिम नवलपरासीका उखु किसानले राजमार्ग बन्द गर्ने चेतावनी दिएका छन् ।

सरकारले लिखित सम्झौता गरेर पनि भुक्तानी दिलाउन नसकेको भन्दै उनीहरुले कडा आन्दोलनको विकल्प नभएको बताएका हुन् ।

गत पुसमा काठमाडौंमै आएर आन्दोलन गरेपछि उद्योगमन्त्री लेखराज भट्टको रोहबरमा चिनी उद्योगीहरुहसंग माघ ७ गतेभित्र बक्यौता रकम उपलब्ध गराउने लिखित सहमति भएको थियो ।

तर सहमति अनुसार किसानहरुले भुक्तानी भने पाएका छैनन् । अब सरकार आफैले भुक्तानी गर्नुपर्ने उनीहरुको माग छ । एक साता भित्र पनि भुक्तानी प्रकृया शुरु नगरे राजमार्ग बन्दसँगै काठमाडौं केन्द्रित आन्दोलन सुरु गर्ने उखु उत्पादक कृषक समितिका जिल्ला अध्यक्ष उमेश यादवले बताए ।

पश्चिम नवलपरासीमा इन्दिरा, बागमती र लुम्बिनी चिनी उद्योग रहेका छन् । ति उद्योगले किसानको कुल २५ करोड ४५ लाख रुपैयाँ तिर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस