चन्दको निशानामा एनसेल टावर

काठमाडौं :- नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले पछिल्लो समयमा बम विस्फोट तथा आगजनीका गतिविधिलाई तीव्रता दिएको छ । उसको मुख्य निशानामा उद्योग तथा व्यापारका स्थानहरु परिरहेका छन् ।

सरकारले प्रतिबन्धित घोषणा गरेपनि आगजनी तथा विध्वंशात्मक गतिविधिमा नियन्त्रण भने गर्न सकेको छैन ।

प्रतिबन्धित रहेको ‘विप्लव’ नेतृत्वको नेकपाले विस्फोट र आगजनीका क्रियाकलापलाई तीव्रता दिँदै आइरहेको छ ।

सरकारी कार्यालय, प्रहरी तथा स्थानीय तहका कार्यालयहरुलाई आक्रमणको निशाना बनाएको उसले निजी क्षेत्रका व्यापारिक प्रतिष्ठान र उनीहरुका सम्पत्तिलाई पनि निशाना बनाउने गरेको छ ।

यसको मारमा निजी क्षेत्रको सञ्चार सेवा प्रदायक कम्पनी एनसेल पनि परेको छ ।

एनसेलकाअनुसार सन् २०१९ मा ३० जिल्लाका ५० भन्दा बढी टावरमा आक्रमण गरेको सो समूहले विगत एक महिनाको अवधिमा मात्र ९ स्थानमा आक्रमण गरिसकेको छ ।

सन् २०२० को जनवरी सुरु भएदेखि अहिलेसम्म काठमाडौं, म्याग्दी, तनहुँ, गोरखा, प्यूठान, नुवाकोट, सुर्खेत र धादिङमा रहेका ९ ओटा टावरमा आगजनी भएको एनसेलले जनाएको छ ।

एनसेलका टावरमाथि आक्रमण गर्दा विशेषगरी दुर्गम क्षेत्रका बासिन्दाले सञ्चार सेवाबाट बञ्चित बन्नुपरेको गुनासो गरेका छन् ।

देश–विदेशमा रहेका नेपालीहरुको परिवारसँग कुरा गर्ने एकमात्र माध्यम अहिले सञ्चारको साधन नै हो ।

तर, सञ्चार उद्योगका टावरहरुमा आक्रमण हुँदा उनीहरुको परिवारसँग सम्पर्कविच्छेद भएको छ ।

विभिन्न बहानामा सेवा दिइराखेका कम्पनीका टावरहरुमा आक्रमण हुँदा सेवाग्राहीमा पनि असन्तुष्टि पैदा भएको हो।

प्रतिक्रिया दिनुहोस