राष्ट्रियसभा सदस्यको निर्वाचनको सम्पूर्ण तयारी पूरा, बिहीबारनै नतिजा प्रकाशन हुने

काठमाडौं :-  निर्वाचन आयोगले बिहीबार हुने राष्ट्रियसभा सदस्यको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

आयोगको कार्यालय कान्तिपथमा बुधबार पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त दिनेकुमार थपलियाले राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

प्रमुख आयुक्त थपलियाले निर्वाचन हुने सात प्रदेशका उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा तोकिएको मतदान स्थलमा निर्वाचनको लागि आवश्यक सम्पूर्ण निर्वाचन सामग्री पुगिसकेको जानकारी दिए ।

आयोगले बिहीबार विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । मतदान सकिएपछि बिहीबारनै नतिजा प्रकाशन गर्ने गरी व्यवस्था मिलाएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगले निर्धारण गरे बमाजिमको परिचयपत्र लिई मतदानमा सरिक हुन सम्पूर्ण मतदातालाई अनुरोध गरेको छ ।

राष्ट्रियसभाको पहिलो बैठक बसेको २ वर्षमा कार्यकाल सकिने १९ जनामध्ये १८ सिटका लागि भोलि निर्वाचन हुन लागेको हो । एक सिटमा भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ ।

यता,भोलि हुने राष्ट्रियसभा निर्वाचनका लागि आवश्यक प्रदेश १ को विराटनगरस्थित वीरेन्द्र सभागृह, प्रदेश २ मा जनकपुरस्थित महेन्द्र नारायण निधि स्मृति भवन, बागमति प्रदेशमा ललितपुर महानगरपालिकाको वडा समिति भवन, गण्डकी प्रदेशमा जिल्ला निर्वाचन कार्यालय, प्रदेश ५ मा घोराहीस्थित कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशको सुर्खेतमा जिल्ला निर्वाचन कार्यालय र सूदुरपश्चिम प्रदेशको सिलगढीमा पदम पब्लिक मुक्ति नारायण उच्च माध्यामिक विद्यालयमा मतदानको व्यवस्था गरिएको छ ।

राष्ट्रिय सभा निर्वाचनमा नेकपाले १६, नेपाली कांग्रेसले १६, समाजवादी पार्टीले ७ तथा राष्ट्रिय जनता पार्टी राजपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले २-२ जनालाई उम्मेदवार बनाएका छन् ।

सातवटा प्रदेशमा प्रदेशसभा सदस्यतर्फ ५ सय ५० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १ हजार ५सय ६ गरी कूल जम्मा २ हजार ५६ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

यसैबीच निर्वाचनमा सहभागी हुन स्थानीय तहका जनप्रतिनिधि प्रदेश राजधानी पुग्ने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस