के उपसभामुख पाउला त कांग्रेसले ?

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले उपसभामुखका लागि ‘लबिइङ’ थालेको छ ।

मंगलबार बिहान सत्तारूढ पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका कांग्रेस नेता रामचन्द्र पौडेलले मुख फोरेको स्रोतले जानकारी दियो ।

नेकपाका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पनि उपसभामुखको विषयमा कांग्रेससँग कुराकानी भइरहेको स्वीकार गरे ।

“कांग्रेससँग पनि यसविषयमा कुराकानी भएको छ । तर, निचोडमा पुगिसकेका छैनौं । औपचारिक हिसाबले पार्टीमा कुराकानी भएको छैन,” उनले बाह्रखरीसँग भने ।

पौडेल निकट स्रोतले भने उपसभामुखको प्रसंगमा मात्रै कुराकानी नभएको जानकारी दियो ।

“उहाँ (रामचन्द्र पौडेल)ले लामो समयदेखि भेट्न खोज्नुभएको थियो । समय मिलेको थिएन । उपचार गरेर फर्किएपछि समय मिलेकाले भेट भएको हो । विविधि विषयमा कुराकानी भएका छन्,” पौडेल निकट स्रोतले भन्यो ।

संविधानको धारा ९१ (२)मा प्रतिनिधि सभाको सभामुख र उपसभामुखमध्ये एकजना महिला अनिवार्य गरिएको छ । त्यस्तै सभामुख र उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनु पर्नेछ ।

नेकपाले सभामुखमा उमेदवारी दिएपछि उपसभामुखमा उमेदवारी दिन मिल्दैन । कांग्रेस संसदीय दलले सभामुख तटस्थ रहनुपर्ने र नेकपाको उमेदवार जित्ने निश्चित भएकाले उमेदवारी नदिने निर्णय गरिसकेको छ ।

यसअघि कांग्रेस सचेतक पुष्पा भुसाललाई उमेदवार बनाउने तयारी कांग्रेसको थियो ।

उपसभामुखमा कांग्रेससँग सहमति नजुटे राष्ट्रिय जनता पार्टी या राष्ट्रिय जनमोर्चाले पाउने निश्चित छ ।

समाजवादी पार्टीले भर्खरै सत्ताबाट बहिर्गमित र सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएकाले उसको हकमा ‘च्याप्टर क्लोज’ भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस