संसदमा विचाराधीन सूचना प्रविधि र विशेष सेवा विधेयकको नेपाली काँग्रेस रामेछापद्वारा विरोध

पुष्कर खड्का/रामेछाप – नेपाली काँग्रेस रामेछापले संसदमा विचाराधीन सूचना प्रविधि र विशेष सेवा विधेयकको विरोध गर्दै जनाएको छ । नेपाली काँग्रेस रामेछापका सभापति लवश्री न्यौपालेको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको काँग्रेसको टोलीले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र बुझाएको हो । आइतबार काँग्रेसले देशभरिको जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई विरोध पत्र पठाउने कार्यक्रम अनुसार सो कार्यक्रम गरिएको नेपाली काँग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीले बताए ।
काठमाडौंमा पनि माइतीघर मण्डलामा भेला भएर कांग्रेस नेता कार्यकर्ता जुलससहित जिल्ला प्रशासन कार्यालय पुगेका थिए । सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जालमा कसैलाई निरन्तर जिस्क्याए ५ वर्षसम्म जेल वा १५ लाखसम्म जरिमाना वा दुवै सजाय हुन सक्नेसम्म व्यवस्था छ । संसदीय समितिले पनि यही प्रावधानसहित विधेयक पास गरेर संसदमा पठाएको छ । विशेष सेवा विधेयक भने संसदमा दर्ता मात्र भएको छ, जसमा अदालतको अनुमति नलिइ फोन ट्यापिङ गर्नसक्ने लगायतका विवादास्पद प्रावधानसमेत छ ।

प्रतिक्रिया दिनुहोस