आत्महत्या दुरुत्साहन मुद्दामा रवि लामिछानेले पाए सफाइ

चितवन– पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा सञ्चारकर्मी रवि लामिछानेसहितका ३ जना प्रतिवादीले सफाइ पाएका छन् ।

जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलाशले आइतबार लामिछानेसहित न्यूज २४ टिभिका पत्रकार युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीलाई सफाइ दिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय चितवनले पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा लामिछानेसहित कँडेल र कार्कीविरुद्ध ८ भदौ २०७६ मा जिल्ला अदालत चितवनमा मुद्दा दायर गरेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय चितवन लामिछानेसहित तीनै जनाविरुद्ध अधिकत्तम ५ वर्षसम्म कैद र जनही ५० हजार रुपैयाँ जरिवाना मागदाबी गरेको थियो ।

चितवन जिल्ला अदालतले गत भदौ ९ गते थुनछेक आदेश जारी गर्दै सञ्चारकर्मी लामिछानेसँग ५ लाख तथा कँडेलसँग ३ लाख रुपैयाँ धरौटी माग गरेको थियो भने कार्कीलाई साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न भनेको थियो ।

यसबीचमा वादी नेपाल सरकार र प्रतिवादी लामिछानेसहितका ३ जना प्रतिवादी जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत समेत गएका थिए ।

तर, उच्च अदालत पाटनको हेटौंडा इजलाशले जिल्ला अदालत चितवनकै थुनछेक आदेश सदर गर्दै अन्तिम आदेश सुनाएको थियो ।

मुद्दाका साक्षी र घटनासँग सम्बन्धित व्यक्तिको बयान, बकपत्र र वादी प्रतिवादीहरुको बयानका आधारमा अदालतले पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा लामिछाने, कँडेल र कार्कीले आत्महत्या गर्न दुरुत्साहन गरेको मान्न नसकिने ठहर गरेको हो ।

पत्रकार पुडासैनी गत साउन २० गते चितवनको नारायणगढस्थित होटेल कंगारुमा मृत फेला परेका थिए । प्रहरीका अनुसार पुडासैनीले आत्महत्या गरेका थिए ।

पुडासैनीको शवसँगै फेला परेको उनको मोबाइलमा भेटिएको भिडियोसहित अन्य प्रमाणका आधारमा प्रहरीले टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछाने, न्यूज २४ टेलिभिजनमा कार्यरत कँडेल र नर्स अस्मिता भनिने रुकु कार्कीलाई गत साउन ३० गते (बिहीबार) काठमाडौंबाट पक्राउ गरेको थियो ।

प्रहरीले करिब १० दिन अनुसन्धान गरेपछि उनीहरुविरुद्ध आत्महत्या दुरुत्साहन गरेको कसुरमा मुद्दा दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस