सुरक्षा र गुप्तचर प्रणालीमाथि प्रश्न

नरेन्द्र मानन्धर र रक्षा बज्राचार्य/काठमाडौं :-

 नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)माथि प्रतिबन्ध लगाएको ११ महिनाको अवधिमा झन्डै १४ सय नेता–कार्यकर्ता पक्राउ परेका छन् ।

तरपनि त्यही समूह अहिले पनि छुट्टै सैन्य ब्यूरो बनाएर संघीय राजधानी काठमाडौंभित्रै बम विस्फोट तथा जग्गा–जमिन कब्जा गर्न सक्रिय देखिएको छ ।

यसले सुरक्षा संयन्त्र र गुप्तचरी प्रणालीमाथि नै प्रश्न उठ्न थालेको छ ।

नेपाल सरकारका प्रवक्ताको भनाइ सुन्दा बालुवाटारजस्तो संवेदनशील क्षेत्रमा भेटिएको बम र चन्द समूहको गतिविधि सामान्य लाग्छ ।

तर, सुरक्षा मामिलाका जानकारहरु यो घटनालाई गम्भीर चुनौतीका रुपमा लिन्छन् ।

पछिल्लो एक वर्षको अवधिमा राज्यद्वारा प्रतिबन्धित चन्द समूहले यस्ता दर्जनौं घटना गराइसकेको छ । यो अवधिमा सो समूहका सयौं नेता–कार्यकर्ता पक्राउ परेका छन् ।

तरपनि यी र यस्ता संवेदनशील घटनापूूर्वको जानकारी सुरक्षा निकायले किन पाउँदैन त ? यो गम्भीर प्रश्न हो ।

बालुवाटार क्षेत्र प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीशलगायतका विशिष्ठ अधिकारीको आवास क्षेत्र हो । जुन क्षेत्र केही महिनायता ललिता निवास जग्गा प्रकरणका कारण चर्चामा छ ।

चन्द समूहले सोही जग्गा कब्जा गरेको भन्दै झन्डामात्र गाडेन, सोही प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट गरायो ।

यसले संघीय राजधानीको संवेदनशील क्षेत्रको सुरक्षा प्रणाली र गुप्तचर प्रणालीमाथि पुनः प्रश्न उब्जिएको छ । जबकि, ‘सीसीटीभी’को निगरानीमासमेत रहेको बालुवाटार क्षेत्रमा विभिन्न मुलुकका कूटनीतिक नियोगसमेत छन् ।

विज्ञहरुकाअनुसार यो सुरक्षा संयन्त्रलाई समयानुकूल प्राविधिकरुपमा बलियो नबनाउँदाको परिणाम पनि हो ।

चन्द समूहमाथि सरकारले प्रतिबन्ध लगाएपछि ६ जना चन्द कार्यकर्ता, तीन सर्वसाधारण र दुईजना प्रहरीको अलग–अलग घटनामा ज्यान गइसकेको छ ।

यो समूहको मागलाई राजनीतिकरुपमा सम्बोधन नगरे समस्या झन् विकराल बन्ने विज्ञहरुको तर्क छ । स्रोत ईमेज खबर

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस