१७ हजार मानिस मारेको भनेर लगाइएको आरोप झूटो – अध्यक्ष प्रचण्ड

काठमाडौं :-  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई १७ हजार मानिस मारेको भनेर लगाइएको आरोप झूट रहेको बताएका छन् ।

बुधबार काठमाडौँको टुँडिखेलमा थारु संवत २६४३ तथा माघी महोत्सवलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले आफूमाथि बारम्बार लाग्दै आएको आरोपमा कुनै सत्यता नरहेको समेत बताए । हिजोको सामन्ती राज्यसत्ताले १२ हजार मान्छे मारेका भन्दै द्वन्द्वका क्रममा ५ हजार मानिस मरेकोमा भने आफू जिम्मा लिन तयार रहेको उनले बताए ।

अध्यक्ष प्रचण्डले रेशम चौधरी छिट्टै छुट्ने दावी गरे । झूटा मुद्दा लगाएकाहरुलाई छुटाउन आफ्नो प्रयास जारी रहेको भन्दै रेशम चौधरीलाई छुटाएरै छाड्ने उनले बताए । प्रचण्डले टीकापुर घटना, रेशम चौधरी वा थारु समूदायका समस्याबारे आफू जानकार रहेको भन्दै अझैपनि त्यसका लागि सहयोग जारी रहने जिकिर गरे ।

समस्याहरु समाधान गर्न अझैपनि संवाद र शान्तिपूर्ण आन्दोलनको बाटोबाट अघि बढ्न जरुरी रहेको प्रचण्डले बताए । पहिचान र अधिकारका निम्ति फेरि पनि बहस भइरहेको भन्दै उनले नयाँ चिज लिन खोज्दा पोल्टामा भएको नखसोस् भन्नेतर्फ सचेत हुनुपर्ने धारणा राखे ।

थारु समुदायले बुधबार काठमाडौँको टुँडिखेलमा माघी महोत्सव मनाएका हुन् । विभिन्न साँस्कृतिक झाँकीहरुसहित परम्परागत पहिरनमा सजिएका थारु समुदायका युवा युवतीहरु माघी महोत्सवमा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस