काठमाडौँ । उद्योग वाणिज्य संघ चितवनको ५३औँ साधारण सभाबाट अध्यक्ष पदमा नेकपा समर्थक राजु श्रेष्ठ विजयी भएका छन् ।
उनले कांग्रेस निकट उम्मेदवार ज्ञानेन्द्र शाक्यलाई ७८७ मतले पछि पार्दै विजयी हाँसिल गरेका हुन् ।
कुल ३ हजार १ सय ७३ मत खसेकोमा श्रेष्ठले १ हजार ९ सय ८० र शाक्यले १ हजार ९३ मत ल्याएका थिए ।
१८ पदको लागि भएको निर्वाचनमा २५ जनाको उम्मेदवारी दर्ता गराएका थिए । राजु श्रेष्ठ यसअघिको ५१ औं साधारणसभा तथा ३५ औं अधिवेशनमा निवर्तमान अध्यक्ष सहनलाल प्रधानसँग पराजित भएका थिए । अहिलेका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ र राजु श्रेष्ठ अध्यक्ष पदका आकांक्षी थिए ।
राजु श्रेष्ठ २०६४ सालमा उवासंघको पहिलो पटक कार्यसमिति सदस्य भएका थिए । तृतीय उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षसमेत बने । उनी होटल ग्राण्ड भ्यू र नेशनल सिटी अस्पतालका सञ्चालक हुन् ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफूलाई मतदान गर्ने सबैलाई धन्यवाद दिए । उनले उवासंघ चितवनलाई सबैलाई समेटेर लैजाने र उद्योगी व्यवसायीको हितमा सक्रिय हुने बताएका छन् ।