गायक निशान भट्टराईको सवारी दुर्घटनामा निधन

काठमाडौं :-  वरिष्ठ गायक निशान भट्टराईको सोमबार राति सवारी दुर्घटनामा परी निधन भएको छ। काठमाडौंको दरबारमार्ग्स्थित वानथाई रेष्टुरेन्टमा आफ्नो नियमित गायन सकेर निवास फर्कदै गर्दा उनको दुर्घटनामा परी निधन भएको हो।

दरबारमार्गबाट कोटेश्वरतर्फ जाँदै गरेका उनी तिनकुनेमा दुर्घटनामा परेका थिए। उनी सवार कार विजुलीको पोलमा ठोक्किएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका भट्टराईलाई उपचारका लागि तत्काल वीर अस्पतालको ट्रमा सेन्टर लगिएको थियो। उनको ट्रमा सेन्टरमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ। उनी आफैंले गाडी चलाएका थिए ।

गायक भट्टराईको ‘कामनाले भरिएको…’ पहिलो गीत हो । दीर्घ सिंह बमको रचनामा उनले पहिलो गीत रेडियो नेपालमा गाएका थिए । ‘माया गर माया गर…’ उनको अर्को लोकप्रिय गीत हो । यसमा महिला स्वरमा सुकमित गुरुङले भट्टराईलाई साथ दिएकी छिन् । उनको अर्को लोकप्रिय गीत ‘हेर धर्ती…’ हो । यो गीत नेपाल आइडल सिजन वानका प्रतिस्पर्धी निशान भट्राईले गाएपछि नयाँ पुस्ता माझ पनि लोकप्रिय भएको थियो ।

निशान ०४१ मा रेडियो नेपाल प्रवेश गरेका थिए । ०४१ देखि ०४४ को अन्त्यसम्म उनले रेडियो नेपालमा गायकको रुपमा काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस