धनगढी :- सुदूरपश्चिमका सबै जिल्लामा छाउपडी गोठ भत्काउने अभियान चलिरहेको छ । अहिले सम्म अछाममा सबै भन्दाबढी १ हजार तीन सय ५५ वटा छाउगोठ भत्काइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक देवबहादुर बोगटीले बताएका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक बोगटीका अनुसार कैलालीमा १ सय ३५, कञ्चनपुरमा ४, बाजुरामा ५ र बझाङामा ३६ गरी १ हजार ५ सय ३५ छाउगोठ भत्काइसकिएका छन् ।
प्रहरी परिचालन गरेर सबैतिर छाउगोठ खोज्दै भत्काउने कार्य जारी रहेको उनले बताए । बैतडी, दार्चुला, डडेल्धृुरा र डोटीमा अहिले सम्म छाउगोठ फेला नपरेको र खोजी भइरहेको उनको भनाइ छ ।
छाउपडि कुप्रथाकै कारण अछाममा १० बर्षमा १४ किशोरी तथा महिलाले ज्यान गुमाएका छन् ।
सरकारको निर्देशनपछि २०६२ सालमा कुरीति घोषणा गर्दै छाउपडी प्रथा उन्मुलन सम्बन्धी निर्देशिका २०६४ समेत जारी गरिएको थियो ।
सरकारले कुरीति घोषणा गरेको ११ वर्ष भइसक्दासम्म पनि छाउपडी प्रथा पूरै हट्न सकेको थिएन ।