काठमाडौं :- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारका कारण प्रेस स्वतन्त्रतामा माथि कुनै खतरा नरहेको स्पस्ट पारेका छन् ।

नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको २३ औँ स्थापना दिवस समारोहमा सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले सरकारका कारण प्रेस स्वतन्त्रतामाथि कुनै खतरा नरहेको स्पष्ट हुन आग्रह गरे ।

उनले संविधानको मर्म विपरीत प्रेस स्वतन्त्रता विपरीत हुने खतरा आए आफैँ राजीनामा दिएर आन्दोलनमा होमिने बताए ।

मन्त्री बाँस्कोटाले सरकारले ‘संमृद्ध नेपाल, गरिब पत्रकारिता’ को अवधारणा नलिएको स्पष्ट पार्दै अब कमिसन पत्रकारिता धेरै नचल्ने भन्दै पत्रकारिता व्यवसायिक हुनुपर्नेमा जोड दिए ।

मन्त्री बाँस्कोटाले पत्रकारको हकहित भन्दा बाहिर गएर मिडिया काउन्सिल विधेयक पारित नहुने पनि बताए ।

उनले फरक प्रसंगमा आफू मन्त्री बनेपछि कमिसन दिन आउनेहरूको नामसहित लेखनमा पनि आफू सक्रिय रहेको बताए । उनले आफु मन्त्री भएपछि पाँच करोड ३४ लाख रुपैयाँको पत्रकारिता वृद्धि विकास कोष स्थापना गरेको भन्दै अब त्यसलाई बढाएर १० करोड रुपैयाँ पुर्याउने उदेश्य लिएको जानकारी दिए ।

स्थापना दिवसको अवसर पारेर स्थानीय पत्रकार दवाब साप्ताहिकका सम्पादक अमर भुजुलाई मैयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कार, सञ्चारकर्मी तथा साहित्यकर्मी ध्रुव मधिकर्मीलाई स्वर्गीय भगवान महर्जन स्मृति पुरस्कार प्रदान गरिएको थियो ।