डडेल्धुरा । विशेषज्ञसहितको विशिष्ट अस्पताल भनिएको डडेल्धुरा अस्पतालमा जनशक्तिको अभाव कायमै रहेको छ । जनशक्ति राख्न पटक पटक आन्दोलन र आश्वासन भएपनि लामो समयदेखि अस्पताल कर्मचारीविहीन बनेको हो ।
उपक्षेत्रीय अस्पतालबाट स्तरवृद्धि भइ संघीय सरकार मातहत राखी रिफरल अस्पतालको रुपमा विकास गरिने प्रस्ताव भए पनि एक जना मेडिकल अधिकृतको भरमा अस्पताल सञ्चालन भइरहेको छ ।
दरबन्दीअनुसार चिकित्सक र स्टाफनर्सको अभावले सेवा प्रभावित भइरहेको छ । डडेल्धुरा अस्पताल रिफरल भए पनि संघीयस्तरको अस्पतालबाट प्रदेश अस्पतालमा प्रसुति तथा अन्य सामान्य प्रकारका बिरामी पनि रिफर गर्नुपर्ने बाध्यता हटेको छैन ।
दरबन्दी अनुसारका चिकित्सक र दक्ष जनशक्ति नहुँदा डडेल्धुरालगायत सुदूरपश्चिमका सात जिल्लाका बिरामी उपचारका लागि कैलाली, कञ्चनपुर, नेपालगन्ज, काठमाडौं र भारतका अस्पताल पुग्न बाध्य छन् ।
२०७५ फागुन ३ मा सरकारले देशका ५ अत्याधुनिक अस्पतालभित्र डडेल्धुरा अस्पताललाई पनि पारेको थियो । डडेल्धुरा अस्पतालमा ४२ विशेषज्ञ चिकित्सक, दुई सयभन्दा बढी स्वास्थ्यकर्मीको दरबन्दी छ ।
तर अहिले अस्पतालमा एकजना स्त्रीरोग तथा प्रसुति सेवा विशेषज्ञ मात्र रहेका छन् । सरकारले पठाएको भनिएका ११ जना छात्रबृति चिकित्सकमध्ये ७ जना अध्ययनमा रहेका छन भने ३ जना हाजिर भएका छैनन् ।