काठमाडौं :-   गाडीको सिसा (विन्ड सिल्ड) अगाडि लेस, झल्लर, धजा झुण्ड्याएको देख्नु भएको छ?

त्यस्तै सिसामा विभिन्न फोटो स्टिकरहरू टासेको पनि पक्कै देख्नु भएको होला।

अब भने सवारी साधनको अगाडिको सिसामा स्टिकर वा अन्य कुनै वस्तु टाँस्न वा झुण्ड्याउन नपाइने भएको छ। यातायात व्यवस्था विभागले सुचना जारी गर्दै यस्ता नगर्न निर्देशन दिएको हो।

सार्वजनिक सवारीसाधन दुर्घटनामा वृद्धि भएसँगै यातायात व्यवस्था विभागले चालकहरुलाई जुत्ता पनि अनिवार्य गर्ने व्यवस्था ल्याएको छ ।

विभागका प्रवक्ता तिर्थराज खनाल यस्तो व्यवस्थाले दुर्घटना न्यूनीकरण हुने दाबी गर्छन् ।

गेयर, क्लज र ब्रेकमा खुट्टा सारिरहँदा चप्पलको फित्ता अड्किएर दुर्घटना भएको पाइएको बताउँदै खनालले भने, ‘यस्ता दुर्घटना कम गर्नका लागि यो नियम ल्याएका हौं ।’

त्यस्तै दुर्घटना कम गर्नको लागि गाडीमा लेखिएका सबै किसिमका स्लोगन तथा कोटेसन मेट्न, सिसामा स्टिकर वा अरु कुनै चिज नटाँस्न र नझुण्डाउन र गाडीको क्याबिनमा सजावटका सामान वा म्युजिक सिस्टम राखेको भएमा त्यसलाई हटाउन समेत विभागले आग्रह गरेको हो ।

पछिल्ला समय सवारीसाधन दुर्घटना हुनुको कारणमध्ये सबैभन्दा बढी चालकका कारण हुने गरेको पाइएको भन्दै विभागले चालकको ध्यान अन्यत्र मोड्ने सामग्री गाडीबाट हटाउन सुझाव दिएको छ ।

१ हजार ५ सयसम्म जरिवाना

एक हप्तासम्म सम्पूर्ण चालकहरुलाई यसबारे चेतना दिइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
गत बुधवारबाटै अनिवार्य जुत्ता लगाउनुपर्ने व्यवस्थाबारे प्रचार गरिरहेको महाशााखाले जनाएको छ ।
यससँगै विभागले सवारी साधनको क्याविनमा सजावटमा सामान र म्युजिक सिस्टम पनि नराख्न निर्देशन दिएको छ।

विभागले गाडीमा भएको स्लोगन मेट्न पनि निर्देशन दिइसकेको छ।