उपेन्द्र खनाल/तनहुँ :-
जिल्ला कारागार तनहुँका कैदीबन्दीले कारागारभित्रै आर्थिक उपार्जनका क्रियाकलाप गरेका छन् ।
आफ्नो सीपको सदुपयोग गर्दै काम गर्न थालेपछि उनीहरुलाई समय बिताउन मात्रै सजिलो भएको छैन थेरथोर आम्दानी पनि गरिरहेका छन् ।
विभिन्न मद्दामा सजाय भोगिरहेका जिल्ला कारागार तनहुँका कैदीबन्दी मुढा बुनेर पैसा जोहो गर्न थालेका छन् । मुढा बुनेर बिक्रीबाट कमाएको पैसा उनीहरुले घरमा खर्च चलाउन समेत पठाउने गरेका छन् ।
कैदीबन्दीले कारागारमै बसेर मासिक ८ हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका कारागारका सूचना अधिकारी नारायण अधिकारीको भनाइ छ ।
उनीहरुले बुनेका मुढा बलियो र आकर्षक हुने भएकाले ग्राहकहरुको रोजाइमा पर्ने गरेको छ । मुढा किन्न ग्राहकहरु कारागारमै पुगेर लिने गरेका छन् ।
कारागारमा रहेका ६० जना बन्दीले अहिले यो काम गर्दै आएका छन् । सुधारगृहको रुपमा लिइने कारागारलाई साँच्चै नै कैदीबन्दीले आफुले जानेको सीपलाई प्राथमिकतामा राखी काम गरिरहेको कारागारका प्रहरी नायव निरीक्षक पूर्ण बहादुर नेपाली बताउँछन् ।
कारागारभित्रै इलम गरेर बस्दा धेरैतिर सकारात्मक सन्देश जान थालेको छ । अर्कोतर्फ यसबाट सीप नभएकाहरुले पनि काम सिक्ने अवसर पाएका छन् ।