पर्यटकलाई सन्देश दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्धको मुर्ति स्थापना

काठमाडौं :-    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिवार बुद्धको मुर्ति स्थापना गरिएको छ । सरकारले विमानस्थललाई बुटिक एयरपोर्टको रुपमा विकास गर्ने योजना अनुसार एयरपोर्ट भित्र बुद्धको मुर्ति स्थापना गरिएको हो । भ्रमण वर्षको प्रवर्द्धन र पर्यटकलाई बुद्धको देश भनेर चिनाउन पनि यसले सघाउ पुर्‍याउने छ ।

शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले मुर्तिको अनावरण गरेका हुन् । भ्रमण वर्ष २०२० को शिलशिलामा विमानस्थललाई बुटिक एयरपोर्ट बनाई नेपालको संस्कृति, र मौलिकता झल्कने खालका विभिन्न वस्तुहरु विमानस्थलमा राखिएका छन् । सोही अनुसार नै एयरपोर्टमा जहाजबाट झरेपछि बाहिर निस्कने बाटोमा देखिनेगरी बुद्धको मुर्ति स्थापित गरिएको मन्त्री भट्टराईले जानकारी दिए ।

मन्त्री भट्टराईका अनुसार बुद्धको मुर्ति निर्माण गर्न ७० लाख रुपैयाँ लागत लागेको छ भने करिब २४ लाख रुपैयाँ बराबरको सुनको जलप लगाइएको छ । मुर्ति ललितपुर पाटनका मिर शाक्यले निर्माण गरेका हुन् ।

विमानस्थलमा मुर्ति स्थापनापछि बुद्धको देश नेपालमा आइयो भन्ने अनुभुति हुने र यसले छुट्टै किसिमको आनन्द अनुभुति हुने समेत उनले बताए । पर्यटनकहरुले बुद्धसँगै बसेर फोटो लिन सक्ने भएकाले भ्रमण वर्ष २०२०को प्रवर्द्धनमा पनि यसले सहयोग पुर्‍याउने उनको भनाइ छ ।

एक वर्ष अघि देखि बुटिक एयरपोर्टको काम शुरु भएको थियो । एयरपोर्टमा एकसिंगे गैंडा, रेडपाण्डा, गणेश, मयुर, डाँफे लगायतका मुर्तिहरु राखिएका छन् । अझैपनि बुटिक एयरपोर्टको निर्माणका काम सम्पन्न भइनसकेको नागरिक उडड्यन प्राधिकरणका महाप्रवन्धक राजन पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस