पहिलो यौनसम्पर्क,उत्तेजना र डर

डा.राजेन्द्र भद्रा/काठमाडौं :-  म १९ वर्षीया युवती हुँ । आगामी माघ महिनामा मेरो विवाह हुने लगभग पक्का भएको छ । मेरो विवाह गर्ने केटाको उमेर यस्तै २५ वर्षको हुनुपर्छ । विवाहको प्रसंग उठेदेखि मलाई यौनसम्पर्कको विषयलाई लिएर डर लागिरहेको छ । विवाहपछि सबै श्रीमान्–श्रीमतीको यौनसम्पर्क हुन्छ । मेरो पनि हुने नै छ । मैले सुनेअनुसार पुरुषको लिंग उत्तेजित अवस्थामा मोटो, कडा र लामो हुन्छ । कुनै–कुनै पुरुषको त अत्यधिक ठूलो हुने हुनाले योनिमा छिराउँदा रगत आउने र दुख्ने गर्छ भन्ने सुनेको थिएँ । मैले अहिलेसम्म कसैसँग शारीरिक सम्पर्क नराखेको र वयष्क पुरुषको उत्तेजित लिंग नदेखेका कारण कतै मेरो हुनेवाला श्रीमान्को पनि ठूलो हुने र त्यसले मलाई निकै पीडा देला भन्ने लागेको छ । यस्तो बेलामा मैले के गर्दा मलाई नदुखी आनन्द लिन सकिन्छ ?

– टी. लिंगको उत्तेजना र नाप ?

लिंगको मुख्य कार्य योनिमा वीर्य राख्नु हो । यसका लागि यौनसम्पर्क राख्नु जरुरी छ । यो पक्कै हो कि यौनसम्पर्क राख्दा यौनसुख प्राप्त हुन्छ । सामान्य अवस्थामा पुरुषको लिंग लुलो अवस्थामा हुन्छ । यस्तो लुलो अवस्थाको लिंग यौनिमा भित्रसम्म पसाउन सकिने स्थिति हुँदैन । त्यसैले पनि सफल रूपमा यौनसम्पर्क राख्न लिंग उत्तेजित हुन आवश्यक हुन्छ ।

लिंगको लम्बाइ तथा मोटाइ व्यक्तिअनुसार फरक–फरक हुन सक्छ । कसैको लामो हुन्छ भने कसैको छोटो । त्यसैगरी कसैको मोटो हुन्छ भने कसैको पातलो, अनि आकार पनि फरक–फरक हुन सक्छ । एक अध्ययनअनुसार लिंग उत्तेजित नहुँदा सालाखाला लम्बाइ ३ दशमलव ८९ इन्च र उत्तेजित हुँदा ६ दशमलव २१ इन्च हुने कुरा उल्लेख गरिएको छ । त्यसैगरी सालाखाला मोटाइ उत्तेजित नहुँदा ३ दशमलव ७५ इन्च र उत्तेजित हुँदा ४ दशमलव ८५ इन्च भएको उल्लेख गरिएको छ । अहिले देशअनुसार लिंगको नापसम्बन्धी गरिएका अध्ययनहरूको नतिजा पनि आएका छन् ।

अध्ययनअनुसार केही विविधता भए पनि कंगोको ७ दशमलव १ इन्च, इक्वेडरको ६ दशमलव ९ इन्च, हल्यान्डको ६ दशमलव २ इन्च, फ्रान्सको ५ दशमलव ७ इन्च, बेलायतको ५ दशमलव ५ इन्च, संयुक्त राज्य अमेरिकाको ५ दशमलव १ इन्च, पाकिस्तानको ४ दशमलव ८ इन्च, दक्षिण कोरियाको ४ दशमलव ४ इन्च, जापानको ४ दशमलव ३ इन्च, थाइल्यान्डको ४ इन्च, भारतको ४ इन्च र उत्तरी कोरियाको ३ दशमलव ८ इन्च देखिएको छ । नेपालको सन्दर्भमा लिंगको नापको तथ्याङ्क उपलब्ध नभएका कारणले यसै भन्न नसकिए पनि हाम्रो वरिपरिको देशका बासिन्दासँग वंशाणु वा जातीय तथा अन्य कतिपय कुरामा मिल्ने भएकाले तुलना गर्नु मनासिव नै होला भन्ने लाग्छ । तपाईंको श्रीमान्को लिंगको नाप यति नै भन्न सकिने स्थिति नभए पनि यो एक आधार भने हुन सक्छ ।

तपाईंको समस्या के ?

तपाईं अक्षतयोनि अर्थात् अहिलेसम्म यौनसम्पर्क गर्नुभएको छैन भने पहिलो यौनसम्पर्कमा योनिच्छद च्यातिन सक्ने हुँदा अलिकति रगत देखा पर्न सक्छ, तर यो सबै महिलाको हकमा हुन्छ भन्ने छैन । योनि विशेष किसिमको तन्कन सक्ने गुण भएको तन्तुले बनेको विशेष अंग हो । त्यसैले तुलनात्मक रूपमा कडा, मोटो र लामो लिंगलाई पनि सजिलै ग्रहण गर्न सक्छ । फेरि लिंगको नापअनुसार उचित आशनको प्रयोग गरेर आनन्ददायी किसिमले यौनसम्पर्क राख्न सकिन्छ । आफूलाई असजिलो भएको बारेमा तपाईंले यौनसम्पर्कको दौरान आफ्ना श्रीमान्लाई खुलस्त रूपमा लाज नमानीकन भन्नुपर्छ । मलाई विश्वास छ, तपाईंको श्रीमान् पनि संवेदनशील हुनुहुनेछ । सामान्यत: कुनै पनि पुरुषले आफ्नी पत्नीलाई पीडा पुगोस् भन्ने चाहँदैन ।

मानिसले प्राप्त गर्ने सुखहरूमध्ये यौनसम्पर्कबाट प्राप्त हुने सुख उच्चतम हुने भएकाले नै यसलाई चरमसुख पनि भन्ने गरिन्छ, तर तपाईंमा श्रीमान्सँगको यौनसम्पर्कबाट प्राप्त हुने यौन सुखभन्दा पनि पीडातिर जोडिएको देखिन्छ । मेरो विचारमा तपाईंमा यौनसम्पर्कसँग एक किसिमको भय उत्पन्न भएको छ ।

यौनसम्पर्कसँग भय

हामीलाई विभिन्न परिस्थितिमा डर लाग्छ, एकहदसम्म यो एक स्वाभाविक प्रक्रिया पनि हो । तर, कतिपय स्थितिमा डर लाग्नुपर्ने कारण साधारण वा सानो भए पनि यसप्रति व्यक्तिले देखाउने प्रतिक्रिया भने असामान्य रूपमा बढी हुन्छ र व्यक्ति भयभीत हुने गर्छ । यौनसम्पर्कका सन्दर्भमा हुने यस्तो स्थितिलाई हामी यौन सम्पर्कसँगको भय भनिन्छ । यौनसम्पर्क राख्न भयभीत हुने परिस्थितिलाई चिकित्सा भाषामा Genophobia वा Coitophobia भनिन्छ । Geno को अर्थ ग्रिक भाषामा सन्तान offspring हुन्छ र Coitus को अर्थ यौनसम्पर्क हुन्छ । त्यसैगरी Phobia शब्दको अर्थ भय हुन्छ ।

तपाईंले पहिले भोग्नुभएको यौनसम्पर्कसम्बन्धी कुनै अप्रिय घटनाप्रति केही नलेख्नु भएकाले यसै भन्न सकिने स्थिति भने भएन, तर पनि यौन सम्पर्कको भयलाई कसरी कम गर्न सकिएला भनेर चर्चा गर्दैछु ।

तपाईंलाई थाहै भएको कुरा हो कि कारणअनुसार यसको उपचार गर्नुपर्ने हुन्छ । तपाईंलाई भएको यस भयको जडसम्म पुग्न आवश्यक हुन्छ । त्यसैले तपाईंले यसको जडसम्म पुग्न आफैंलाई र आफ्नो विगतका घटना र त्यसले आफूलाई पारेको प्रभावबारेमा केलाउनुपर्ने हुन्छ । तर्कपूर्ण रूपमा विचार गर्नुभयो भने तपाईंमा भएको नकारात्मक सोच हटाउन सकिन्छ । यदि लिंग निकै लामो भएको स्थितिमा फरक आशनको प्रयोग वा लिंग भित्रैसम्म नपसाउने गरेर पनि यौनसम्पर्क गर्न सकिन्छ ।कतिपय स्थितिमा आफैंले आफ्नो स्थिति केलाउन सजिलो नहुन सक्छ । यसका लागि तपाईंले मनोचिकित्सक, मनोरोग विशेषज्ञ वा मनोपरामर्श दिने व्यक्तिको सहायता लिनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस