काठमाडौं :- १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्न सफल बक्सिङ खेलाडीहरु सम्मानित भएका छन् ।
बेलायतमा बस्दै आएका पूर्वबक्सिङ खेलाडी कुश बस्नेतको सहयोगमा बिहीबार खेलाडीहरुलाई नगदसहित सम्मान गरिएको हो ।
वरिष्ठ बक्सिङ प्रशिक्षक ओमकुमार मास्केमार्फत् बस्नेतले सागमा स्वर्णपदक जित्ने तीन खेलाडीहरु सनिल शाही, भूपेन्द्र थापा र मिनु गुरुङलाई जनही २५ हजार रुपैयाँसहित सम्मान गरेका हुन् ।
त्यस्तै, रजत र कास्यपदक विजेताहरुलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाल, राखेपका सदस्य एवं नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष अर्जुन केसी, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले खेलाडीलाई सम्मानित गरेका थिए ।
सो अवसरमा सिलवालले पुरस्कार राशिलाई सानो–ठूलो भनेर तुलना गर्नुभन्दा पनि खेलाडीलाई सम्झनु मुख्य कुरा भएको धारणा व्यक्त गरे ।
१३औं सागमा नेपालले ५१ स्वर्णपदकसहित कुल २०६ पदक जितेकामा बक्सिङबाट ३ स्वर्ण, ६ रजत र ३ कास्यपदक हासिल गरेको थियो ।