सुर्खेतमा चन्द समूह र प्रहरीबीच दोहोरो ‘फायरिङ’

सुर्खेत :- सुर्खेतको पञ्चपुरी नगरपालिका–८ स्थित चेनेरीताल जंगलमा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता र प्रहरीबीच दोहोरो ‘फायरिङ’ भएको छ ।

चन्द समूहका नेता बज्रबहादुर शाहीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि बुधबार दिउँसो तीन राउन्ड फायर गरिएपछि प्रहरीले पनि जवाफी फायरिङ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दिल्लीराज पन्तले चन्द समूह र प्रहरीबीच दोहोरो फायरिङ भएको पुष्टि गरे ।

चन्द समूहका जिल्ला नेता शाही घरमा आएको सूचनाका आधारमा प्रहरी उनलाई पक्राउ गर्न गएको थियो ।

प्रहरी उपरीक्षक पन्तले शाहीको घरमा नपुग्दै जंगलमा प्रहरीमाथि आक्रमणको प्रयास गरिएको बताए ।

शाहीलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय बाबियाचौरबाट पेस्तोलसहित दुईजना प्रहरी सादा पोसाकमा खटाइएको थियो ।

‘प्रहरीलाई देख्नेबित्तिकै ८–१० जनाको संख्यामा रहेका विप्लवका कार्यकर्ताले फायरिङ गरे । हाम्रो तर्फबाट दुईजनामात्रै भएकाले पक्राउ गर्न सकेनौं’–इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रमुख ज्ञानबहादुर खत्रीले भने–‘अहिले थप प्रहरी परिचालन गरेर जंगल क्षेत्रमा उनीहरुको खोजी भइरहेको छ ।’

एनसेल टावरमा बम

यसैबीच, चन्द समूहले मंगलबार राति सुर्खेतका विभिन्न स्थानमा रहेको एनसेल टावरमा बम राखेको थियो ।

भेरीगंगा नगरपालिकाको एनसेल टावरमा आगजनी गर्नुका साथै वीरेन्द्रनगर, पिपिरास्थित एनसेल टावरनजिक बम राखेको थियो । उक्त बम बुधबार बिहान नेपाली सेनाले निस्क्रिय पारेको थियो । रासस

प्रतिक्रिया दिनुहोस