चिनियाँ अभियुक्तको कनेक्सन आईजीपीदेखि मन्त्रीसम्म

मनबहादुर बस्नेत/काठमाडौं :-  प्रधानमन्त्री निवास छिर्ने मूल गेटको उत्तर–दक्षिणतिरको मुख्य सडकदेखि उत्तरपट्टि भित्र छिर्दा इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुको ४ नम्बर ब्लक छ । यो ब्लकको पूर्वतिर सँगै जोडिएको ठूलो भवन छ । १० पुस अपराह्न पुग्दा गेट बन्द थियो । भित्र पाले थिए । घरबेटीलाई भेट्ने बहानामा भित्र छिर्न खोज्दा चिनियाँले ५/७ महिनादेखि भाडामा लिएको भन्दै पालेले रोके ।

“कसैलाई भित्र छिर्न नदिनू भनेका छन्,” पालेले चिनियाँको भनाइ जस्ताको तस्तै उतारे, “प्रहरी आयो भने पनि हामीलाई खबर गर्नू ।” चार–पाँच जना चिनियाँ बस्दा रहेछन् । कहिले यो संख्या थपिन्छ, कहिले घट्छ । उनीहरूको कार्यालय महाराजगन्जतिर छ भन्दा रहेछन् । “दुई–तीन वटा अफिस छ भन्छन्,” ती पालेले यत्ति मात्र चुहाए, “के काम गर्छन्, थाहा छैन ।” भान्सेदेखि सबै चिनियाँ रहेछन् ।

७ पुसमा नेपाल प्रहरीले काठमाडौँका मनमैजु, बूढानीलकण्ठलगायत स्थानमा छापा मारेर अवैध गतिविधिमा संलग्न १ सय २२ चिनियाँलाई पक्राउ गर्‍यो । तर प्रधानमन्त्री निवाससम्मुख र चिनियाँ दूतावास छेउको यो भवन भने प्रहरी छापाबाट जोगियो, जहाँ अनलाइनमार्फत अवैध धन्दा चलाउने गिरोहका ‘बोस’ बस्थे । प्रहरीले अन्यत्र छापा मारेसँगै यहाँ ती बोसहरू आउन छाडिसकेका छन् । कतिपय पहिल्यै निस्किए । अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार गिरोह सञ्चालक चेन सितियानसहित चार जना यहीँ बस्थे । उनी उम्कनुको तथ्य खोतल्दा झस्काउने खालको छ ।

८ असोज ०७६ । मध्याह्न साढे १२ बजे । ठूल्ठूला सुटकेस गुडाउँदै ५ चिनियाँ नागरिक थाई एयरवेजबाट काठमाडौँ उत्रिए । सुटकेसमा एमआई, हुवावे, एप्पल कम्पनीका २ सय ९३ थान मोबाइल भेटिए । ल्यापटप, माउस, किबोर्ड छुट्टै थिए । यति धेरै सामान भेटिएपछि प्रहरीले शंकास्पद ठान्यो र भन्सारमै रोकिदियो । कानुनी कागजात माग्यो । दिन सकेनन् । केही दिनपछि ती चिनियाँ बूढानीलकण्ठ नगरपालिकामा दर्ता भएको रोयल स्यान्ड्स होटल प्रालिको प्रमाणपत्र बोकेर पुगे, सोही होटलले मगाएको भनेर । मगाएको पत्र थिएन । प्रहरीले नेपालस्थित सञ्चार मन्त्रालयले स्वीकृति दिएको कागज ल्याउन भन्यो । अनुमतिपत्र ल्याउन नसकेपछि सामान भन्सारमै थन्कियो । प्रहरी अनुसन्धान जारी थियो ।

सामानधनी चिनियाँ काठमाडौँमै रहेको खुल्यो । ती व्यक्तिसम्म प्रहरीले छद्म परिचयसहित पहुँच विस्तार गर्‍यो । छद्म व्यक्तिले आफ्नो मानिस (प्रहरी) विमानस्थलमा रहेको र उसले चाहे सामान छुटाइदिन सक्ने भन्दै चिनियासँग कुराकानी थाल्यो । तर २४ दिनसम्म सामान नछुटेपछि ती चिनियाँले एउटा भ्वाइस म्यासेजसहित विच्याटमा फोटो पठायो । जसले नेक्ससको एउटा पर्दा उघार्छ ।

ती चिनियाँले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगै खिचाएको फोटो देखिन्छ । (हेरौँ, आवरण) महानिरीक्षकको सचिवालयमा त्यो फोटो खिचाएको प्रस्टै बुझिन्छ । २ कात्तिकमा पठाएको चिनियाँ भाषाको भ्वाइस म्यासेजमा ती चिनियाँ भन्छन्, ‘मैले फोटो पठाइदिएको छु । तपाईंको मानिसलाई त्यो देखाइदिनू र भनिदिनू कि तेरो बोस (आईजीपी) लाई मैले भेटिसकेको छु । सामान छिटो छुटाइदिनू ।’

विच्याटमा जेसन आईडी बनाएर कुराकानी गर्ने यी चिनियाँको सक्कली नाम, वतन प्रहरीले जुटाइसकेको थियो । उनी जेसन नभएर, फुजियान प्रान्तका ४३ वर्षीय चेन सितियान थिए । सितियानको समूहले नै ठूलो मात्रामा मोबाइल फोन थाइल्यान्डबाट झिकाएको थियो । महानिरीक्षक खनालसँग बसेका अर्का व्यक्ति फुजियानकै रोङफेङ र परिचय नखुलेका अन्य दुई जना मिलेर नेपालबाट उनीहरूले अनलाइन ग्याम्बलिङ, म्याच फिक्सिङ, अश्लील भिडियो देखाएर चीनमा रहेका नागरिकबाट आम्दानी गर्छन् ।

प्रधानमन्त्री निवास बालुवाटार नजिकै रहेको चिनियाँ गिरोहको आवास ।

अश्लील भिडियो हेर्न, जुवामा भाग लिन डलरमा पैसा माग्छन्, सञ्चालकले । यसो गर्दा व्यक्तिको विस्तृत विवरण तान्छन् र परिवारका सदस्यलाई मारिदिने धम्की दिएर फिरौतीसमेत उठाउने गरेको एक प्रहरीले बताए । लागूऔषध, मानव तस्करीमा समेत यो समूह संलग्न हुन्छ । चिनियाँ पैसा बाहिरिने भएकाले चीनले यो अपराधलाई आफ्नो मुलुकविरुद्धको सुरक्षा चुनौतीको रूपमा विश्लेषण गरेको छ । गिरोहसँग प्रहरी नेतृत्वको उठबसबारे भेउ पाएर नै हुन सक्छ, मन्त्रिपरिषद्ले महानिरीक्षक खनालको चीन भ्रमण अस्वीकृत गरिदियो ।

महानिरीक्षक खनालसँग नेपालले यसबारे सोध्दा उनले आफूले ती मानिस नभेटेको दाबी गरे । चिनियाँ प्रतिनिधिमण्डलसँग औपचारिकबाहेक अन्य भेटबारे आफूलाई जानकारी नभएको उनको भनाइ थियो । “कतै बाहिरको कार्यक्रममा भेट्दाको फोटो हो कि,” उनले भने, “त्यसबाहेक अरूसँग उठबस गरेको भन्ने मलाई लाग्दैन ।”

चिनियाँ दूतावासले समेत नेपालमा यस्ता चिनियाँ ८ हजार हाराहारी रहेको मोटामोटी विवरण परराष्ट्र मन्त्रालय हुँदै गृहमा पठाएको थियो । तर एकदमै सानो संख्यामा मात्रै उनीहरू पक्राउ परे । सुरक्षा निकायदेखि राजनीतिक तहसम्म ती चिनियाँले पहुँच बढाएकाले यस्तो भएको प्रमाणित हुन्छ ।

उच्च तहमा कनेक्सन

विमानस्थलमै जफत भएको सामान छुटाउन सितियानले पठाएको फोटोले आईजीपीसँगको उठबस देखाउँछ भने उक्त गिरोहका सदस्यले भन्सारमा पेस गरेको कागजातले नेक्ससको अर्को तह उजागर गर्छ । चिनियाँले सामान छुटाउन रोयल स्यान्ड्स होटलको दर्ता प्रमाणपत्र बुझाएका थिए । यो थाहा पाएपछि हामीले होटल स्यान्ड्सको कागजात केलायौँ ।

बूढानीलकण्ठ नगरपालिका कार्यालयमा मञ्जिल श्रेष्ठको नाममा दर्ता यो होटलको कम्पनी रजिस्ट्रार कार्यालयमा भने अरू सेयरधनी पनि रहेको खुल्छ । श्रेष्ठसहित रोल्पाकी अमला रोका, चिनियाँ नागरिकद्वय फ्रेगचेङ्ग लिन र लोङ्गयुआन लिन कम्पनी सञ्चालक छन् । यसबाट रोका, श्रेष्ठमार्फत सितियानले आफ्नो अवैध कारोबार चलाएको प्रस्ट हुन्छ ।

प्रहरीको अनुसन्धान प्रतिवेदनअनुसार श्रेष्ठ र रोका यस्तो प्रकृतिको कारोबार गर्ने चिनियाँ गिरोह नेपाल भित्र्याउने एजेन्ट हुन् । नेपालमा कम्पनी दर्तादेखि आइपरेका अन्य समस्या मिलाउने जिम्मा यी दुई जनाले लिएका छन् । सन् २०१७ अगस्तदेखि रोका र श्रेष्ठले यो कारोबारमा चिनियाँ ल्याउन थाले । जलविद्युत्, कृषि, होटल, पर्यटन क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने नाममा यो गिरोह नेपाल छिरेको प्रहरी दाबी छ ।

प्रहरी दाबीलाई चिनियाँ नागरिक र यी दुई नेपालीको साझेदारी भएका उद्योगसमेत भेटिनुले पुष्टि गर्छ । उद्योग विभागमा ०७५ मंसिरदेखि ०७६ सम्मको एक वर्षे अवधिमा दर्ता भएका दुइटा परियोजनामा यी दुई नेपाली चिनियाँ नागरिकको स्थानीय साझेदार बनेका छन् । परियोजनाको कुल पुँजी ६५ करोड रुपैयाँ छ । होटल, रेस्टुराँ चलाउन भनेर यो संयुक्त परियोजना उद्योग विभागमा दर्ता छ । यही अवधिमा विभागमा सफ्टवेयर विकास गर्ने भनेर २२ वटा उद्योग दर्ता भएका छन् । सफ्टवेयर कम्पनी चलाउने आवरणमा उनीहरू नेपाल छिरेको आशंका छ ।

जुवा गिरोह : नेपालमा अवैध कारोबार भित्र्याउने दावा छिरिङको समूह ।

३९ वर्षीया रोका सत्तारुढ नेकपा आबद्ध हुन् । एमाले र एमाओवादी एकताअघि रोका एमाओवादीको रोल्पा–काठमाडौँ सम्पर्क मञ्चकी उपाध्यक्ष थिइन् । एकतापछि रोकाको पदीय हैसियत तोकिएको छैन । माओवादी युद्धमा सामेल उनका पति त्यसै अवधिमा दुर्घटनामा परेर बितेका थिए ।

राजनीतिक कार्यकर्ता देखिए पनि रोकाको भूमिका उच्च तहमा लाइन मिलाउने प्रहरी अनुसन्धानले देखाउँछ । फाट्टफुट्ट जडीबुटी व्यवसायसमेत गर्ने रोका तिब्बती मूलका चिनियाँ दावा छिरिङमार्फत यो कारोबारमा लागेकी हुन् । दावा र रोका पति–पत्नी हुन् ।

रोल्पा गृहजिल्ला भएका ऊर्जामन्त्री एवं नेकपा नेता वर्षमान पुन ‘अनन्त’ र उनको परिवारसँग रोकाको विशेष सम्बन्ध छ । सितियानकै समूहका रोङफेङले दावा छिरिङमार्फत  धेरैचोटि ऊर्जामन्त्री पुनलाई भेटेको प्रमाण प्रहरीले संकलन गरेको छ । ऊर्जामन्त्री पुन र उनकी पत्नी पूर्वसभामुख ओनसरी घर्तीसँगै दावा छिरिङले डिनर गरेको फोटो नेपालसँग सुरक्षित छ ।

नेपालले ऊर्जामन्त्री पुनलाई यसबारे जानकारी माग्दा रोका थबाङकै रहेको बताए । पछिल्ला दिनमा मन्त्रालयसग सम्बन्धित काममा चिनियाँहरू आइरहने र त्यो भेटघाट स्वाभाविक भएको उनको भनाइ थियो । “उनले चीनतिरै बिहे गरेकी छन्, त्यसैले यता आएका बेला चिनियाँ ज्वाइँ, देवर लिएर भेटाउने गरेकी छन्,” रोकाबारे पुनले भने, “त्यसै क्रममा उनका अन्य आफन्तसँग पनि भेट भएको हुन सक्छ ।”

पुनले रोका आफ्नो चिनारु कार्यकर्ता रहेको बताउँदै गर्दा ओनसरी घर्तीले भने आफूले तिनलाई नचिन्ने दाबी गरिन् । “कुनै बेला डिनर पनि खाइयो होला तर अहिले सम्झना भएन,” उनले भनिन् ।

असफल अपरेसन

सीमितबाहेक अन्यत्र हात नहालेको भन्दै प्रहरीभित्रै यो अपरेसनप्रति असन्तुष्टि विस्तारै छाउँदै छ । गृहसचिव प्रेमकुमार राईले समेत यसबारे सोधपुछ गरिरहेका छन्, प्रहरी अधिकारीलाई ।

यस्तो हुनुमा राजनीतिक र सुरक्षा संगठनसम्म गिरोहको नेक्सस फैलनु त छँदै छ, प्रहरीभित्रै समन्वय नुहुनुले समेत भूमिका खेल्यो । प्रहरी उच्च स्रोतका अनुसार गत २५ र २६ असोजको चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणपूर्व नै चिनियाँको अवैध गतिविधिबारे प्रहरी निगरानी बढेको थियो । अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार अवस्था कस्तो आइदियो भने चिनियाँ राष्ट्रपतिलाई राख्न तय गरिएको होटल सोल्टीमै गिरोहका झन्डै १५ जना चिनियाँ युवती बसिरहेको पाइएपछि सुरक्षाका कारण हटाउनु परेको थियो ।

२७ असोजमा महानिरीक्षक खनाल इन्टरपोलको ८८ औँ महासभामा भाग लिन चिली गएपछि निमित्तको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्कर कार्कीलाई दिइयो । सोही बेला कार्कीले गृहसचिव, गृहमन्त्री र प्रधानमन्त्रीलाई चिनियाँ गतिविधि र चासोबारे जानकारी गराएका थिए । त्यसपछि काठमाडौँस्थित चिनियाँ दूतावासले औपचारिक पत्राचार गरेर आफ्ना नागरिक पक्राउ गरिदिन भन्यो । त्यसलगत्तै प्रहरीले टिम नै बनाएर काम अगाडि बढायो ।

प्रहरी मुख्यालयको अपराध अनुसन्धान विभागका एआईजी कार्कीले महानगरीय आयुक्त कार्यालय रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापा (हाल प्रवक्ता) लाई अनुसन्धानको जिम्मा दिए । तर ७ पुसमा अपरेसन गर्दा आफूलाई थाहा नभएको एआईजी कार्की बताउँछन् । उनी भन्छन्, “अनुसन्धान परिपक्व भएपछि अपरेसन गर्ने तयारीमा थियौँ । तर मलाई नै थाहा नदिई अपरेसन गरियो ।”

प्रहरीभित्र यो घटनाले विवाद ल्याएको ९ पुसमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा आयोजित पत्रकार सम्मेलनबाट समेत बुझिन्छ । पत्रकार सम्मेलनमा अपरेसनको योजना कहाँ बनेको र कसको निर्देशनमा काम भयो भन्नेमा सीआईबी प्रमुख डीआईजी निरज शाहीले समय खर्चिएका थिए । पत्रकार सम्मेलनको उद्देश्य नै यो अपरेसनमा आईजीपीलाई स्थापित गर्नुजस्तो बनेको थियो । तर अपेक्षित नतिजा ननिस्किएको सम्बन्धमा शाही अनुसन्धान हुँदै छ भनेर पन्छिएका थिए ।

दूतावासलाई गृह मन्त्रालयले ५ देखि ८ सय चिनियाँ पक्राउ पर्न सक्ने अनौपचारिक जानकारी गराएको थियो । गृहसचिव राई अपेक्षाअनुसार काम नभएको बताउँछन् । “जति काम गर्नुपर्ने हो, गर्न सकिएन । मैले यो प्रश्न प्रहरीसमक्ष समेत उठाएको थिएँ । एकातिर काम गर्दागर्दै अर्कोतिर सकिएन । भागेछन् भन्ने जवाफ आएको छ,” राई भन्छन् । गृहसचिवकै भनाइले पनि प्रहरीको अपरेसन शैली कति फितलो रहेछ भन्ने बुझाउँछ । यसको त्रुटि पहिल्याउनेसमेत उनी बताउँछन् ।

प्रहरीभित्रैबाट सूचना चुहिएर कतिपय ठाउँबाट चिनियाँ भागे । गिरोहका नाइके कोही पक्राउ परेनन् । छापा मार्नुभन्दा केही दिनअघि नै बालुवाटार बस्ने सितियानसहितको सञ्चालक टिम फिलिपिन्स पुग्यो । छापा मारेकै बिहान बूढानीलकण्ठका सुरेन्द्र लामाको घरबाट लाइन लागेर चिनियाँ बाहिरिएका थिए । अपराह्न प्रहरी पुग्यो । काठमाडौँका २० ठाउँबाट चिनियाँले यस्तो धन्धा चलाउने गरेको पहिचान गरेको थियो, प्रहरीले । तर छापा मारियो तीन ठाउँमा मात्रै । छापा मारिएका क्षेत्रका समेत सबै घर समेटिएनन् ।

मनमैजुमा सबैभन्दा थोरै चिनियाँ बसेको ठाउँमा प्रहरी पुग्यो तर नजिकैको २ सय जना बसेको ठाउँ चिनेन । चिनियाँ दूतावासले समेत केही ‘लोकेसन’ दिएको थियो । नेपाललाई प्राप्त अनुसन्धान प्रतिवेदनअनुसार प्रहरीले छापा मारेबाहेक सामाखुसी, लाजिम्पाट, बालुवाटार, महाराजगन्ज, चप्पल कारखाना, ललितपुरको नखिपोटका विभिन्न घर चिनियाँ गतिविधिका क्षेत्र हुन् । केही होटलमा समेत उनीहरूको गतिविधि हुने गरेको पहिचान भएको थियो ।

प्रहरी अपरेसनकै शैलीसमेत अचम्मका देखिए । कोही नउम्किऊन् भनेर यस्ता अपरेसन सामान्यत: सबै सुतेका बेला बिहान झिसमिसमै गरिन्छ । तर चिनियाँ गिरोहविरुद्धको अपरेसन दिनमै गरियो । “पहिचान भइसकेका ठाउँमा एकसाथ गरिनुपर्नेमा कामदार बस्नेमा मात्र गरियो,” प्रहरीका एक डीआईजी भन्छन्, “प्रहरीको कार्यशैली सन्देहपूर्ण देखियो ।”

प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा भने सुझबुझपूर्ण तरिकाले नै अपरेसन सञ्चालन गरिएको भन्दै प्रतिरक्षा गर्छन् । “परिचालित प्रहरी युनिटहरूले अवस्था हेरेर कुनमा तत्काल छापा मार्ने र कुनमा थप सूचना आएपछि छापा मार्ने भन्ने निर्धारण गर्छन् । सोहीअनुसार भएको हो,” डीआईजी थापाको प्रस्टीकरण छ ।

नखोजिएको पाटो

आधा दर्जन नेपालीले चिनियाँलाई यस्तो काममा सघाएको पर्याप्त आधार प्रहरीसँग थियो । मञ्जिल, अमलासहित सीता राना मगर, दीपक बुढा मगर, सुनील अग्रवाल, दिलीप आचार्य, निस श्रेष्ठ, सागर पाली र गोविन्द सापकोटा चिनियाँ गिरोहसँग काम गर्ने नेपाली हुन् ।

अनुसन्धानमा खटिएका प्रहरीका अनुसार सीता भाषा अनुवादकको भूमिकामा छिन् भने आचार्य, श्रेष्ठ, पाली र सापकोटा कानुनी कागजात बनाउन संलग्न छन् । बुढा मगर माओवादी (हाल नेकपा) सँग नजिक छन् । अग्रवाल उक्त गिरोहको रकम चीनबाट हुन्डीमार्फत नेपाल ल्याउन सक्रिय भूमिकामा देखिएका छन् । याद रहोस्, प्रहरीले छापा मारेलगत्तै कानुनी कागजात मिलान गरिदिनेबाहेक सबैको फोन स्वीच अफ भइसकेको छ । यसले समेत उनीहरूको संलग्नता रहेको थप आधार मिल्छ ।

अमलाका श्रीमान् दावासमेत फरार छन् । रोचक के भने उद्योग विभागमा दावाले आफ्नो राष्ट्रियता नै फरक–फरक पेस गरेका छन् । विभागमा दर्ता भएको वैदेशिक लगानीका परियोजनामा उनले फरक–फरक पहिचान दिएका हुन् । सिन्धुपाल्चोकमा खानी सञ्चालन गर्नेसम्बन्धी योजनामा उनले आफ्नो राष्ट्रियता नेपाली उल्लेख गरेका छन् भने होटल, रेस्टुराँ सञ्चालन गर्ने योजनामा बेल्जियम नागरिक भएको प्रमाण पेस गरेका छन् । उनीसँग नेपाल र बेल्जियमको पासपोर्ट रहेको छ । चिनियाँ नागरिकले कसरी नेपाली पासपोर्ट लिए भन्ने खुलेको छैन ।

जुवा गिरोहका नाइके दावा छिरिङसँग उपराष्ट्रपति पुत्र दीपेश पुन (वायाँ) ।*

कानुनी रूपमा दर्ता नै नहुनुपर्ने कम्पनीसमेत इजाजतप्राप्त छन् । ओरियन्टल इन्टरटेनमेन्ट अनलाइन र रोयल स्यान्ड्स टेक इन्टरटेनमेन्ट ग्याम्बलिङ नामक कम्पनी दर्ता छन् । ओरियन्टल ७ माघ ०७५ मा र रोयल १३ साउन ०७६ मा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको छ । ओरियन्टल विपना तामाङको नाममा दर्ता छ भने रोयलमा अमला रोका र मञ्जिल श्रेष्ठ सञ्चालक छन् । कम्पनी कानुनका जानकार वरिष्ठ अधिवक्ता मेघराज पोखरेलका अनुसार जुवा ऐनले क्यासिनोबाहेकका अन्य जुवा सञ्चालनमा रोक लगाएको छ । तर यो समूहले बकाइदा जुवा कम्पनी दर्ता गरेरै चलाएको देखिन्छ ।

नेपाललाई अप्ठेरो

नेपालका सुरक्षा अधिकारीले अपरेसनमा चिनियाँ संलग्नता लुकाउन खोजिरहेकै बेला चीनको विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरेर यसलाई नेपाल र चीनको संयुक्त अपरेसन भएको दाबी गर्‍यो । १४ जना चिनियाँ अनुसन्धान अधिकृत काठमाडौँ आए पनि उनीहरूको अपरेसनमा कुन तहको संलग्नता थियो भन्ने दुवै मुलुकले खुलाएका छैनन् । तर नेपाल र चीनबीच सुपुर्दगी सन्धि नभएकाले पक्राउ परेका चिनियाँलाई कसरी नेपालले पार लगाउँछ भन्ने धेरैको चासो छ ।

सुपुर्दगी सन्धि नभए पनि नेपाल र भारतबीच भने कोर अपराधमा संलग्नलाई एकआपसमा हस्तान्तरण गर्ने प्रचलन छ, अनौपचारिक रूपमा । तर त्यसका लागि उनीहरूको प्रमाणित अपराधको प्रोफाइल चाहिन्छ । नेपालमा पक्राउ परेका चिनियाँको कसुर नै भेटिएको छैन । अर्थात्, प्रहरीले पक्राउ गरेपछि कसुर खोजिरहेको छ । यसले दुइटा अर्थ बोक्छ या त चिनियाँ दबाबमा नेपालले काम गर्‍यो या त अपरेसन चलाउने तयारी नपुग्दै हतार गरियो । यसले नेपाललाई कूटनीतिक अप्ठेरोमा घचेट्ने जोखिम छ ।

चिनियाँ चासो

चिनियाँ दूतावासले प्रहरीलाई दिएको जानकारीअनुसार चिनियाँ आपराधिक गिरोहले अनलाइनमार्फत अवैध रूपमा वार्षिक ६ खर्ब आरएमबीभन्दा बढी चिनियाँ मुद्रा विदेशमा तान्छ । यसअघि गिरोहले पूर्वी एसियाली मुलुकमा बसेर यस्तो कारोबार सञ्चालन गरेको थियो । मलेसिया, फिलिपिन्स, कम्बोडिया, भियतनाम, सिंगापुर, इन्डोनेसिया, लाओसलगायत मुलुकमा यो समूहले अनलाइनमार्फत ठूलो आर्थिक ठगी गर्दै आएको थियो । चाइना डेलीका अनुसार चीनले सन् २०१५ अप्रिलदेखि ती मुलुकमा ‘फक्स हन्ट’ नामक अपेरसन चलायो ।

ती मुलुक असुरक्षित भएपछि भाग्न सफल गिरोह नेपाल छिरेको प्रहरीको भनाइ छ । यस्तो अपराधमा संलग्न अधिकांश चीनको फुजियान प्रान्तका हुन् । नेपालमा यो कारोबार सञ्चालन गर्ने सितियान र रोङफेङ त्यही प्रान्तका हुन् । यो प्रान्त चीनको स्वशासित क्षेत्र ताइवानको सीमावर्ती हो । यस्तो अपराध ताइवानबाटै अन्य मुलुकमा सुरु गरेको मानिन्छ । ताइवान अमेरिकालगायत पश्चिमा मुलुकको प्रभाव क्षेत्र हो र चीनबाट अलग हुने मुद्दामा सघाउँदै आएको छ । चीनले भने ताइवानलाई आफ्नो अभिन्न भूमि मान्छ ।

विश्व महाशक्तिको होडमा तीव्रतर लागिरहेको चीनको अर्थतन्त्र कमजोर पार्न अमेरिकाको सहयोगमा यस्तो गिरोह विश्वव्यापी परिचालन भएको चीनले दाबी गर्दै आएको छ । गत असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानलाई चीनबाट खण्डित बनाउने गतिविधि रोक्न अमेरिकालाई नेपाल भ्रमणका बेला चेतावनी दिएका थिए । अर्थतन्त्र कमजोर भए चीनको अहिलेको विश्वशक्ति बन्ने तीव्रतर चालमा बाधा पर्नेछ । यही चासोका कारण चीनले नेपालमा रहेका आफ्ना नागरिकका अवैध गतिविधि रोकिदिओस् भन्ने चाहना राखेको हुन सक्छ । तर माफियाराजसँग सुरक्षा निकायदेखि सत्तासीन व्यक्तित्वको साँठगाँठले सन्देह पैदा गरिदिएको छ । स्रोत नेपाल राष्ट्रिय साप्ताहिक

प्रतिक्रिया दिनुहोस