काठमाडौं :- राष्ट्रिय मेलमलिलाप दिवस, हरेक बर्ष काँग्रेसले धुमधामका साथ मनाउने गर्छ । राष्ट्र र राष्ट्रियताको जगेर्नाका लागि वीपी कोइराले अँगालेको मेलमिलाप नीति आज पनि उत्तिकै सान्दर्भिक छ ।
तर मेलमिलाप दर्शनका शूत्रधार वीपीलाई आर्दश मान्ने कांग्रेस नेताहरुको वर्तमान कार्यशैली र चरित्रले भने यो शब्दले उनीहरुलाई नै खिशीट्युरी गरिदिएको छ ।
२०३३ साल पुस १६ गते भारतको लामो निर्वासन त्यागी बीपी कोइरालासहित नेताहरु स्वदेशमै बसेर व्यवस्था परिवर्तनविरुद्धको आन्दोलनमा सहभागि बन्ने अठोटका साथ स्वदेश फर्किएका थिए ।
विदेशमा बसेर स्वतन्त्रताको लडाई लड्दा त्यसले मुलुकको राष्ट्रियतामा आँच पु¥याउने ठम्याईसहित आफ्नै पार्टीका नेताहरुको असन्तुष्टिका बीच वीपी आफ्ना सहयोद्धाका साथ नेपाल फर्किएका थिए ।
तर मेलमिलापको नीति बोकेर नेपाल आएका वीपीसहितका नेतालाई तत्कालीन सरकारले पक्राउ गरी सुन्दरीजल बन्दीगृहमा लगेर थुन्यो । फेरी पनि वीपीले राजासँगको एकता नै मेलमिलाप हो भन्न छुटाएनन् ।
त्यति बेलाको राजासँग मेलमिलाप गरेर राष्ट्रियता बलियो बनाउने वीपीको मेलमिलाप आज दर्शन जस्तै बनेको छ । वीपीका अनुयायी काँग्रेसका पुराना नेता कुलबहादुर गुरुङ घर, परिवार, समाजदेखि देश चलाउने तहसम्म मेलमिलापको खोजी हुनु नै मेलमिलाप दर्शन थियो भन्ने प्रमाण हो भन्छन् ।
काँग्रेसको मूल नीति नै वीपीले देखेको समाज हो । तर सत्तामा पुग्दा उसले आफ्नो आदर्श बिर्सने गरेको आरोप काँग्रेसका हरेक नेतृत्वलाई लाग्दै आएको छ ।
पछिल्ला दिनमा सत्ताबाट च्यूत भएपछि मेलमिलापको विषय काँग्रेसको प्राथमिकतामा पर्न सकेको छैन । राष्ट्रिय एकता तथा मेलमिलाप भनेको स्वदेशी शक्तिहरुबीचको एकता नै हो ।
जसले मुलुक सम्मृद्ध बनाउन सहयोग पुर्याउँछ । नेपालको सन्र्दभमा अहिले पनि राष्ट्रिय मेलमिलापको त्यत्तिकै आवश्यकता छ । जुन कुरा नेताहरु यदाकदा भाषणको क्रममा व्यक्त गर्दछन् ।
यो सिद्धान्तको वकाल गर्ने काँग्रेसलाई भने आज मेलमिलाप भन्ने शब्दले खिसीट्युरी गरिरहेको छ । राष्ट्र र राष्ट्रिताको रक्षाका खातिर प्रयोग भएको मेलमिलापको दर्शनकर्तालाई आर्दश मान्ने काँग्रेस आज आफैं भित्रको गाईजात्रे गुटगत स्वार्थमा रमाईरहेको छ ।
नेताहरुबीच बैठक बहिस्कार र बोलचाल बन्द भएको छ । अरुलाई मेलमिलाप गराउन पहल गर्नुपर्ने कांग्रेस नेताहरु आज आफैलाई मिलाईदिन मेलमिलापकर्ता खोज्दैछन् ।
सायद, कांग्रेस शीर्ष नेताहरुको यस्तै चरित्रले होला काँग्रेसका महामन्त्री समेत भईसकेका गुरुङ आज म काँग्रेस खोज्दैछु भन्छन् । मेलमिलाप दिवसको अवसमा काँग्रेसहरुले यस पटक त केन्द्रीय कार्यलयमा सम्झना समेत गरेनन् ।
केही जिल्लामा कर्मकाण्डी भेला गरेर वीपीलाई सम्झना गर्दैछन् । त्यसले वीपीको मेलमिलापको विम्ब बोक्दैन । वीपीले देखेको समाज सम्मृद्धशाली र शुखी परिवार नै हो ।
राजनीतिको मुल उद्दृेश्य पनि समाजलाई सम्मृद्ध बनाउने नै हो । कम्तीमा त्यो मुल बाटोबाट विचलीत नहुन राजनीति गर्नेहरुलाई आजको दिनले झकझकाओस् ।