आज राष्ट्रिय टोपी दिवस मनाइँदै

काठमाडौं :- आज राष्ट्रिय नेपाली टोपी दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।

नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । नेपाली टोपीको साइनो बंगलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ ।

विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ-आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् ।

पछिल्लो समयमा युवा पुस्ताले नेपाली टोपीको संरक्षण र संम्बद्र्धन गर्ने उद्देश्यले शुरु गरेको यो अभियानले अहिले दिवसको रुप लिँदै गइरहेको छ ।

शताब्दीऔं अघिदेखि प्रयोगमा आएको नेपाली टोपीको संरक्षण गर्न, यसलाई विश्वव्यापी गराउन र भावि पुस्तालाई यसको महत्वको बारेमा जानकारी गराउन सन् २०१४ को जनवरी १ देखि यो दिवस मनाउन शुरु गरिएको हो । अहिले काठमाडौंलगायत विश्वका विभिन्न देशमा रहेका नेपालीहरुले पनि स्वर्तस्फूर्त रुपमा राष्ट्रिय टोपी दिवस मनाउन थालेका छन् ।

यही क्रममा आज काठमाडौंको बसन्तपुरमा एक कार्यक्रम आयोजना गरिँदै छ । राष्ट्रिय टोपी दिवस अभियानले कार्यक्रममा सहभागिताको लागि सबैलाई आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस