नेपाल भ्रमणवर्ष २०२० आजबाट शुरु

काठमाडौं :- नेपाल भ्रमणवर्ष २०२० आजबाट शुरु भएको छ । मंगलबार १२ बजेबाट अँग्रेजी क्यालेण्डर २०१९ को विदाई र वर्ष २०२० को स्वागतसँगै भ्रमण वर्ष पनि शुरु भएको हो । यद्यपि सरकारी तबरबाट भने यसको औपचारिक घोषणा हुन बाँकी छ । आज दिउँसो काठमाडौंमा भव्य कार्यक्रम आयोजना गरी नेपाल भ्रमण वर्ष २०२० उद्घाटन गरिँदै छ ।

कार्यक्रमको उद्घाटन राष्ट्रपति विद्यादेव भण्डारीले गर्नुहुने कार्यक्रम रहेको छ । कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा वलीले समेत सम्बोधन गर्नुहुनेछ । पर्यटन मन्त्रालयको आयोजनामा गर्न लागिएको कार्यक्रममा लाखौंको सहभागिता रहने बताइएको छ । दिउँसो साढे ३ बजे उद्घाटन कार्यक्रम शुरु हुनु अघि विभिन्न जातजाती तथा भाषाभाषीको भेषभुषा झल्कने सांस्कृतिक झाँकीहरु काठमाडौंका विभिन्न ठाउँबाट निक्लने छ ।

सो झाँकीहरुले शहरका विभिन्न भागको परिक्रमा गरी काठमाडौंको दशरथ रंगाशालामा हुने कार्यक्रममा प्रस्तुती देखाउने छन् । भ्रमणवर्षको औचारिक कार्यक्रममा सहभागी पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्था, सरकारी निकाय, नेपालस्थित कुटनीतिक नियोगका पदाधिकारी, कलाकार, सञ्चारकर्मी तथा पेशा व्यवसाय सम्बन्ध व्यक्तिहरुलाई सरकारले निमन्त्रणा गरेको छ । यस्तै विभिन्न स्कुल र क्याम्पसका छात्रछात्राहरुले पनि कार्यक्रममा सहभागीता जनाउने छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निमन्त्रणामा हुने भ्रमण वर्षको औपचारिक उद्घाटन कार्यक्रममा सहभागी हुन तीन देशका पर्यटनमन्त्रीलगायत विदेशी पाहुनाको टोली काठमाडौं आएका छन् । भ्रमण वर्षको उद्घाटन कार्यक्रममा सहभागी हुन मंगलबार छिमेकी देश चीनका सहायक पर्यटनमन्त्री मवङ सियाओफेङ, आइल्याण्ड मुलुक जमैकाका पर्यटन मन्त्री ओन मउङ आएका छन् । यस्तै म्यान्मारका पर्यटन मन्त्रीको समय उपस्थिति रहेको छ । उनीहरुलाई सँस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले स्वागत गरेका थिए । विदेशी पाहुना आउने क्रम निरन्तर रहेको पर्यटन मन्त्रालयले जनाएको छ ।

नयाँ वर्ष २०२० को शुरुकै दिन भ्रमणवर्षको औपचारिक कार्यक्रम गर्न लागिएकोले यो कार्यक्रम अत्यन्तै भव्य हुने सरकारको भनाइ छ । अन्तर्राष्टिय स्तरमा नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको हो । सन् २०२० मा कम्तीमा २० लाख पर्यटकलाई नेपाल भित्र्याउने लक्ष्यको औपचारिक शुरुवातका लागि सरकारले यो कार्यक्रम आयोजना गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस