अन्ततः विप्लव शान्तिपूर्ण राजनीतिमा आउनुको विकल्प छैन:प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव समूहले घोषणा गरेको बन्दको कार्यक्रम वार्ताको वातावरण बनाउनको लागि भएको बताएका छन्।

‘उहाँहरुले बन्द इत्यादि जे गर्नुभएको छ, प्रकारान्तरले वार्ताको वातावरण बनाउनकै लागि हो भन्ने मैले बुझेको छु’, विराटनगरमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भने।

‘मलाई लाग्छ, यो (बन्द/बम विस्फोट) अन्तिम-अन्तिमतिर हुनुपर्छ। उहाँहरु अन्ततः वार्तामा आउनुको विकल्प छैन। शान्तिपूर्ण राजनीतिमा आउनुको विकल्प छैन। अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति, जनताको चाहना र भावना, राष्ट्रको आवश्यकता बम पड्काउने हुँदै होइन’, उनले भने, ‘यतिबेला हामी सबै मिलेर विकास र समृद्धितिर, समाजवादतिर जाने तयारी गर्नुपर्छ।’

उनले विप्लव समूहसँग सरकारले वार्ताको पहल गरिरहेको पनि बताए। परिणाम निस्केपछि सबै कुरा थाहा हुने उनको भनाइ छ।

‘वार्ताको लागि पहल भइरहेको होला। पहिले सिके राउतसँग पनि वार्ताको पहल भइराखेको थाहा भएन। एकैपटक परिणाम थाहा भयो’, उनले भने, ‘विप्लव समूहसँग पनि परिणाम निस्केपछि सबै कुरा थाहा हुन्छ।’

उनले विप्लव समूह वार्तामा आउने भनेपछि प्रतिबन्ध ठूलो समस्या नहुने बताए।

प्रचण्डले एकदुई वटा बम विस्फोट हुँदैमा राजनीतिक स्थिरता छैन भनेर नसोच्न पनि आग्रह गरे। ‘बम आतंक फैलाएर मात्रै राजनीतिक उद्देश्य प्राप्त हुन्छ भन्ने ठान्ने कुरा विल्कुल सही छैन’, उनले भने।

प्रतिक्रिया दिनुहोस