कास्की २ मा चुनावी प्रचार तीव्र,नेकपा र काँग्रेसबीच मुख्य प्रतिष्पर्धा

कास्की :- आगामी मंसिर १४ मा हुने उपनिर्वाचनको लागि कास्की क्षेत्र नम्बर २ मा दहरुले चुनावी प्रचारप्रसार तीव्र वनाएका छन् । विभिन्न दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारी दिएकाहरुले बिहानैदेखि साँझसम्म चुनावी प्रचारप्रसारलाई तीव्र पारेका हुन् ।

प्रतिनिधिसभा सदस्य पदको लागि देशमै एकमात्र क्षेत्र कास्की २ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूले घरदैलो अभियान अन्तिम चरणमा पुगेको छ ।

मतदातालाई आकर्षित पार्न राजनीतिक दलहरुले घरदैलो अभियानलाई पहिलो प्राथमिकतामा राखेर उनीहरुले प्रचार कार्य गरिरहेका छन् ।

स्वतन्त्रसहित कुल २१ जना उम्मेदवार रहे पनि यहाँ मुख्यतः नेकपा र नेपाली काँग्रेसबीच मुख्य प्रतिष्पर्धा देखिएको छ । उम्मेदवारहरू घरघरमा पुगेर मतदाताबीच आपूm सांसदमा निर्वाचित भएपछि जनताको सेवामा समर्पित भएर काम गर्ने र सदैव सुखदुःखमा साथ दिने प्रतिबद्धता प्रकट गरिरहेका छन् ।

अधिकांश उम्मेदवार पोखराको पर्यटकीय क्षेत्रका रूपमा अन्तर्राष्ट्रियस्तर पहिचानमा थप वृद्धि गर्ने, बेरोजगारी, सुकुम्वासी, नदी नियन्त्रणलगायत समस्या समाधान गर्ने सम्बन्धमा मतदातासमक्ष वाचा गरिरहेका छन् ।

सत्तारुढ दल नेकपासहित प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, समाजवादी पार्टी, साझा पार्टी लगायतका दलले चुनाव प्रचारप्रसार समिति नै गठन गरेका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवारी दिएकाले पनि प्रचार समिति गठन गरी आफ्नो पक्षमा मत मागिरहेका छन् ।

पहिलो चरणको कार्यक्रमअन्तर्गत दलहरुले सबै वडामा घरदैलो कार्यक्रम सकाएका छन् । कास्की क्षेत्र नम्बर २ मा १० स्वतन्त्रसहित २१ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

उम्मेदवारमध्ये सबैभन्दा पाको उमेरका काङ्ग्रेसका ७४ वर्षीय खेमराज पौडेल र कान्छो उम्मेदवारका रुपमा २६ वर्षीय सुनील भुसाल छन् । उनी स्वतन्त्र रुपमा निर्वाचनमा सहभागी भएका छन् । कास्की क्षेत्र नं २ मा ७१ हजार ८७१ मतदाता छन् । पोखरा महानगरपालिकाको ११ वटा वडा मिलाएर बनेको सो निर्वाचन क्षेत्रअन्तर्गत-४, ७, ८, ९, ११, १५, १६,१७, २०, २१ र ३३ वडा पर्दछ ।

चुुनावमा काँग्रेस (वीपी) बाट चन्द्रबहादुर रानाभाट, नेकपा (माले) बाट टेकनाथ भण्डारी, समाजवादी पार्टीबाट धर्मराज गुरुङ, राष्ट्रिय जनमुक्तिबाट पूर्णबहादुर राना, मंगोल नेशनल अर्गनाइजेसनबाट रियाज गुरुङ, देशभक्त समाजबाट वीरबहादुर विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट गंगा मल्ल उम्मेदवारको रुपमा रहेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

यस्तै, १० स्वतन्त्र उम्मेदवारहरु पनि रहेका छन् । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि सो क्षेत्र रिक्त रहन गएको थियो ।

२०७४ सालको चुनावमा रवीन्द्र अधिकारीले काँग्रेस उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतले पराजित गर्नुभएको थियो । हाल कास्की क्षेत्र २ मा ७१ हजार ८ सय ७१ मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस