सूर्योदय महोत्सवको निम्तो : कहाँ घुम्ने, कहाँ रम्ने ?

युवराज गौतम/काठमाडौं  :- ‘ग्रीन कार्पेट’ अर्थात डाँडाभरी सुन्दर चियावारी, सुसाइरहेका सल्लाहरु, नागबेली सडक, लाप्चाहरुको गर्भिलो इतिहास, स्वच्छ हावापानी र रमाइला गाउँलेहरुसँग रमाउन इलामले सबैलाई तान्छ । त्यतिमात्र होइन हनिमुन मनाउन र प्रेम जोडीहरु चियाबारीमा हराउन इलामलाई रोज्ने गर्छन । प्रकृतिप्रेमीहरु सुस्केरा हाल्न हरिया डाँडातिर उक्लिन्छन् । नेपाललाई पहिलो पटक स्पर्स गर्ने सूर्योदयको दृश्य नियाल्न मानिसहरु अन्तुडाँडातिर सोझिन्छन् ।

नेपाललाई प्रकृतिक रुपमा प्रसिद्धी दिलाउने यस्तै ठाउँ मध्येको एक हो इलामको सुर्योदय नगरपालिका । जहाँ प्रेमील जोडीदेखि, चिया पारखी र प्रकृतिप्रेमीहरु सूर्योदयका गन्तब्य फन्को लगाउँदा स्वर्गीय आनन्दको अनुभुति गर्छन । वास्तवमा यही सुरम्य गन्तब्यले हजारौं पर्यटकलाई भुल्याइरहेको छ ।

यसबर्ष प्रथम महोत्सवमार्फत विश्वभरका पर्यटकलाई निम्तो दिंदैछ । यही मंसिर १४ देखि १८ गतेसम्म महोत्सवको रमझम हुनेछ । नेपाल भ्रमण वर्ष २०२० लाई सघाउन र नगरभित्र आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न महोत्सवको आयोजना गर्न लागिएको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले जानकारी दिएका छन् ।

पश्चिम बंगालको दार्जिलिङ प्रवेशद्वार पनि हो सूर्योदय नगर । इलामका सबै पर्यटकीय स्थलको भ्रमण प्याकेज बनाउँदा सूर्योदयकै द्धारबाट प्रवेश गर्नुपर्छ । टुर एन्ड ट्राभल्स कम्पनीहरुलाई इलामको ‘आइटिनेरी’मा सूर्योदयका प्वाइन्टहरु समेट्नै पर्ने बाध्यता छ । कन्याम होस् वा श्रीअन्तु अनि माइपोखरी, सन्दकपुर नै होस् वा भारतको दार्जिलिङ्ग र मिरिक नै किन नहोस् सबैको प्रवेशद्धार सूर्योदय नगरपालिका नै हो । सरकारले विकास गर्नुपर्ने एकसय पर्यटन गन्तब्यको सूचीमा सूर्योदय समेटिएको छ ।

समुन्द्री सतहबाट ६ सय ४० देखि १८ सय ४० मिटरको उचाइमा अवस्थित सूर्योदय नपा सदरमुकाम इलामबजार देखि ३७ किलोमिटर दक्षिणमा छ । झापाको चारआलीबाट ४० किलोमिटर हुइकिएपछि सूर्योदय नपाको मैदानमा टेक्न सकिन्छ । यहाँका करिब ९० प्रतिशतभन्दा बढी जनता कृषिमा आधारित छन् । त्यसमध्ये चिया खेती धेरैले रोजेका छन् । यसले कृषि पर्यटनका लागि यो क्षेत्र उत्कृष्ट मानिन्छ ।

इलामलाई आकर्षक गन्तव्य बनाउन सूर्योदयको उल्लेख्य भूमिका छ । आठ ‘अ’ (अदुवा, अम्लिसो, ओलन, अर्थोडक्स चिया, अकबरे, आलु, अलैंची, अतिथि सत्कार)का अलावा अर्किड, अतिथि सत्कारका लागि मात्र नभई पर्यटनको प्रवेश द्धारका रुपले सूर्योदयले ख्याती कमाएको छ ।

सूर्योदय नगरपालिकाका मेयर राई नगरपालिकालाई प्रांगरिक कृषि, पर्यापर्यटन र आर्थिक समानताको अवधारणाका रुपमा विकास गर्दै लगिएकाले सूर्योदयले बेग्दै परिचय बनाएको बताउँछन् । घरि बादल, घरी घामको किरणले सूर्योदयका सबै डाँडाहरु झलमल्ल देखिन्छन् । जाडोमा न त अत्याधिक जाडो हुन्छ न त गर्मीमा पसिना आउने गर्मी नै हुन्छ । त्यसैले तराई मधेसबाट गर्मी छल्न सूर्योदयतिर उक्लिनेहरु प्रशस्त भेटिन्छन् ।

सिमित संख्यामा रहेका नेवारी समुदायहरुको संस्कार र संस्कृती यहाँको नौलो परिचय हो । सूर्योदय–९ का वडाध्यक्ष देवेन्द्र शर्माका अनुसार भुटान, बंगलादेश र भारतबाट एकैदिन भित्रमै सूर्योदयको भूमि टेक्न पाइने भएकाले छिमेकी देशका पर्यटकहरुका लागि आकर्षक प्याकेजहरु तयार गरिएको छ ।

मनोरम कन्याम

फिक्कलको दक्षिणमा पर्ने कन्याम आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि महत्वपूर्ण गन्तब्य  हो । फिक्कलबजार बाट करिब चार किलोमिटर दक्षिणमा रहेको कन्याममा होटल तथा लजहरु धमाधम खुल्न थालेका छन् । नजिकै रहेको खेलमैदान ‘डुँढे गहिरो’मा पर्यटकहरु खेलेर रमाउने गर्छन । पर्यटकहरु हर्कटे बजारमा पुगेर किनमेल गर्न र होटलमा बसेर गफिन सक्छन् । हुरहुरे भन्ञ्याङको पिकनिक स्पट, नजिकैको लभडाँडा, निर्माणाधिन शहीद स्मृती पार्क, चिया कारखाना यहाँका घुम्न लायक स्थानहरु हुन् ।

यहाँका डाँडाहरुमा घन्टौं समय विताउँदा पर्यटकलाई पट्यार लाग्दैन् । घोडचढी यहाँको प्रमुख आकर्षणका रुपमा विकास हुँदै गएको छ । जातीय पहिरन लगाएर चियाबारीमा फोटो खिच्न खुबै मजा आउँछ । घोडा चढेर तस्वीर कैद गर्दा पर्यटकहरु आनन्द मान्छन् । स्थानीय तामाङ, लाप्चा, राई लगायत समुदायको रहनसहन र संस्कृती अर्को आकर्षण हो । फिल्म सुटिङ र पिकनिकमा रमाउनका लागि कन्याम सबैको रोजाइमा पर्ने गर्छ ।

सुदरेपानीको सुन्दरता

सुदरेपानी नेपालमा चिया–पर्यटनको विकास सुरु गर्ने स्थानका रुपमा परिचित छ । स्थानीय गोर्खा टी–स्टेट संचालनमा आएपछि यहाँ पर्यटनका सम्भावनाहरु बढ्दै गएका छन् । यहाँ टि टुरिज्मको अवधारणा अनुरुप होम स्टे पनि संचालनमा ल्याइएको छ ।

फिक्कल बजारबाट करिब दुई किलोमिटर टाढा रहेको यस स्थानमा योल्मू तथा राई समुदायको संस्कृती हेर्न र घरेलु हाते चियाको स्वाद लिंदै पर्यटकहरु रमाउन सक्छन् । रमाइला डाँडाबाट ग्रामीण बस्ती तथा फिक्कल बजारको दृश्यावलोकन गर्न मजा आउँछ । सुन्दरेपानी खेल मैदानमा पर्यटकहरु घन्टौं रमाउने अवसर पाउँछन् । योल्मू समुदायको संस्कृती बुझ्न सुन्दरेपानी अब्बल गन्तब्य हो ।

पन्चकन्याको पहिचान

पन्चकन्या देवीको दर्शन र करफोक सल्लाघारीको फन्को पर्यटक भूल्याउने गतिलो माध्यम हो । पन्चकन्या देवीको दर्शनले मनोकांक्षा पुरा हुने विश्वास भएकाले यहाँ धार्मिक पर्यटकहरुको भीड लाग्ने गर्छ । फिक्कल बजारबाट करिब तीन किलोमिटर टाढा रहेका मन्दिर मेची राजमार्गसँगै जोडिएको छ । मन्दिर नजिकै रहेको पहाडमा खनिएको गहिरो इनारले पर्यटकलाई थप भूल्याउन सहयोग पुर्‍याउँछ ।

पबित्र गुम्बामा दर्शन

नेपालका लोपोन्मुख लाप्चा जातिको फरक संस्कृती र पृथक इतिहाँस छ । यिनीहरुको संस्कृती, भेषभूषाको आफ्नै महत्व छ । त्यसबाहेक सूर्योदय नगरपालिका रहेका दुईवटा लाप्चा गुम्बा पर्यटकका लागि नमुना स्थल हुन् । कजेनी र फिक्कलमा रहेको गुम्बामा लाप्चाको विशेष आस्था र विश्वास रहेको पाइन्छ । ‘रोङ से जुमठी’ अर्थात लाप्चा उत्थान मञ्चले गुम्बालाई संरक्षण र सम्बद्र्धन गर्ने काम गरिरहेको छ ।

बुद्ध जयन्ती, ‘नामउन नामआल’ पर्वका बेला गुम्बामा विशेष पूजा हुने गर्छ । यी दुवै गुम्बा दुई सय बर्ष पुराना हुन् । त्यसबाहेक लाप्चाहरुको पहिरन, रहनसहन साथै संस्कृती पर्यटकका लागि प्रमुख आकर्षण हुन् । सूर्योदय नगरकै काजी फाटकमा लाप्चाको ऐतिहासिक सामाग्रीहरु अझै पनि भेट्न सकिन्छ । लाप्चा दरबारको ऐतिहासिकता बुझन यहाँ पुग्नैपर्छ । तामाङ, योल्मूलगायतका समुदायको अगुवाइमा निर्माण भएका बौद्धधाम गुम्बा, तीनखुट्टेको योल्मू गुम्बा, गोर्खेको चित्रे गुम्बा, रम्फोक गुम्बा पनि बौद्धमार्गीहरुको गन्तब्य हो ।

अन्तु र मिर्मिरे डाँडाबाट सूर्योदय

चारैतिर चियावारी । डाँडा माथि सानो कच्ची टावर । टावरमा बसेर हेर्दा देखिने तराइका समथर फाँटहरु । दार्जिलिङ र इलामका अग्ला पहाडहरु । अनि टलक्क टल्किरहेको कञ्चनजंगा हिमालको मनमोहक दृश्य । त्यो भन्दा पनि महत्वपूर्ण त बंगोप सागरबाट उदाउँदो सूर्योदयको दृश्य आँखै अगाडी । वास्तवमा इलाम कन्याममा रहेको मिर्मिरे डाँडाको चित्रण यस्तै छ । विहानीको मिर्मिरेमा पश्चिम बंगालको खाडी तथा बंगोप सागरको छालबाट उदाउने सूर्योदयको दृश्यावलोकनका लागि अन्तुडाँडो नेपालकै उत्कृष्ट मानिन्छ ।

मेची राजमार्गसँगै जोडिएको कन्याम स्थित चियाबगाको थाप्लोमा पर्ने मिर्मिरे डाँडामा अचेल पर्यटकहरुको भिड देख्न पाइन्छ । भर्खरै खुलेको कन्याम इन होटलबाट पाँच मिनेट हिडें यो डाँडामा पुग्न सकिन्छ । अन्तुडाँडामा पुगेपछि अन्तुपोखरी, लाप्चा संग्रहालयमा पनि रमाउन पाइन्छ । होम स्टेमा बसेर मौलिक रहनसहन र परिकारमा आनन्द लिन पाइन्छ ।

मनोरम सिमपानी

सुर्योदय नगरको डाक्टरखोला नजिकै पर्ने सिमपानी क्षेत्र खुबै मनोरम स्थल मध्ये एक हो । डाँडाभरी चियावारी, रमाइलो खेलमैदान, सानो पोखरी सिमपानीको आकर्षण हो । यहाँ पुगेर पर्यटकले घन्टौ विताउन सक्छन् । नजिकै रहेको चिया कारखानाको भ्रमण गरेर चिया प्रशोधनको प्रक्रिया बुझ्न पर्यटकलाई सजिलो हुन्छ । मेची राजमार्गसँगै रहेको सिमपानी आसपासका डाँडामा बसेर कन्यामको चियाबारी, फिक्कल बजार, ग्रामीण बस्तीहरु साथै भारतीय बजारहरुको मजाले अवलोकन गर्न सकिन्छ । यो क्षेत्रमा सानातिना कटेज र रिसोर्ट संचालनका लागि उपयुक्त मानिन्छ ।

प्रणामी मन्दिरको दर्शन

हिन्दु धर्मावलम्बीहरु मध्ये पर्ने कृष्ण प्रणामी समुदायहरु प्रणामी मन्दिरको दर्शनमा विशेष आस्था र विश्वास राख्छन् । सूर्योदय नगर क्षेत्र भित्र नै दुईवटा कृष्ण प्रणामी मन्दिर निर्माण भएका छन् । आरुबोटे र फिक्कलबजारमा रहेका मन्दिरहरुमा भारतीय पर्यटकहरुलाई आइरन्छन् ।

प्रणामी समुदायका आस्थाका धरोहर मंगलदास गुरुजीको जन्मस्थल मेहेलबोटेमा रहेको अर्को चर्चित मन्दिरमा पुगेर दर्शन गर्न धेरै धर्मावलम्बीहरु मेहेलबोटे पुग्ने गर्छन । पश्चिम बंगालमा प्रणामी समुदायको ठूलो संख्या रहेकाले यी मन्दिरमा दर्शन गर्न र भजन मण्डलीमा रमाउन भारत तथा नेपालकै धेरै पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।

करफोकको स्वामी पार्क

करफोक इलामको पुरानो सदरमुकाम हो । उसबेला इलाम जिल्लालाई चारखोला भनिन्थ्यो । पछि यो एक शैक्षिक केन्द्रको रूपमा विकसित हुँदै गयो । त्यसपछि सदरमुकाम इलाम सारियो । स्वामी सोमेश्वरानन्दले यस स्थानमा तपस्या गरेका थिए र स्वामीकै इतिहास बुझन धेरै विद्यार्थीहरु करफोक पुग्ने गर्छन ।

वि.स.२०११ मा करफोक विद्या मन्दिरको स्थापना भएपछि यो स्थान शैक्षिक हबका रुपमा विकसित हुँदै गएको छ । करफोक नजिकै रहेको ऐतिहासिक गढीको विशेष महत्व रहेको छ । त्यसबाहेक यहाँको हावापानी र सल्लाघारी भित्र हाइकिङ गर्न खुबै मजा आउँछ । यहाँको बनमा यतिबेला स्वामी पार्कको अवधारणा अनुरुप पार्क निर्माण भइरहेको छ ।

जातीय संस्कृती

सूर्योदय नगर भित्र बसोबास गर्ने योल्मू र लाप्चा जातीकोे फरक संस्कार र संस्कृती छ । यीनिहरुको संस्कृतीमा रमाउन जोकोही पर्यटक लालायित हुन्छन् । योल्मू जातिका मानिसहरु स्वभावले अत्यन्तै सोझा इमान्दार र सहनशील छन् । धार्मिक एवम् सामाजिक कार्यमा आस्था राख्ने बौद्ध धर्मावलम्वी यी जातीका मानिसहरु अतिथि सत्कार र शौखिन जिवन जिउन चाहन्छन् ।

आफ्नै भाषा, भेषभूषा, संस्कृति र संस्कार भएका यस जातिका मानिसहरु हिमाली तथा लेकाली क्षेत्रमा वस्न वढी रुचाउने गरेको पाइन्छ । लाप्चाको पनि पृथक पहिचान र संस्कृती पाइन्छ यसलाई नगरपालिकाले सक्दो सदुपयोग गर्न सक्नुपर्छ । राई, लिम्बु, ब्राम्हण, सुनार, नेवार समुदायको सांस्कृतिक विशेषता पनि यहाँ पाइन्छ ।

लाप्चाहरुले वि.सं. १८८४ देखि वि.सं. २००५ सम्म प्रत्यक्ष रुपमा इलामको प्रशासन फिक्कलकै रम्फोकबाट चलाएका थिए । सिक्किमबाट भागेर आएका युक्लाथुपले तत्कालिन नेपाल सरकारबाट ५० नालबन्दुक सहितविर्ता लालमोहर र माना चामल लालमोहर प्राप्त गरेकमा थिए । यस्तो इतिहासको खोजकर्ताका लागि सूर्योदय गन्तब्य बन्न सक्छ ।

गोर्खे र खोले बाबा

ऐतिहासिक महत्व बोकेको गोर्खे बजार रेड पाण्डा ट्रेलका रुपमा विकसित भइरहेको छ । मयुँ खोला तरेर बजार पुगेपछिका अग्ला पहाडमा फैलिएको जंगलमा विश्वकै दुर्लभ जन्तु रेडपाण्डा अवलोकन गर्न विदेशीहरु पुगिरहन्छन् ।

खोलाको छेउमा रहेको खोलेबाबाको कुटी जापानीज नागरिकहरुको आस्थाको केन्द्र पनि भएकाले जापानीज नागरिकहरु यहाँ आइरन्छन् । गोर्खेबाट नै पुग्न सकिने चित्रे गुम्बा, थामी जातीहरुको भूमे थान, सिंहदेवी मन्दिर, थुम्के डाँडा नयाँ गन्तब्य हुन । फिक्कल बजारबाट १५ किलोमिटर हुइँकिएपछि गोर्खे पुगिन्छ ।

हटिया र किनमेल

सूर्योदय नगर भित्रको प्रमुख व्यापारिक केन्द्रमा प्रत्येक विहीबार लाग्ने हटिया पर्यटकलाई भूल्याउने माध्यम हो । बजारमा किनमेल गर्न जोकोही पर्यटक एक पटक फन्को लगाउन रुचाउँछन् । त्यस बाहेक पाँचथर, ताप्लेजुङ, सिक्किम दार्जिलिङ घुम्न आउने पर्यटक फिक्कललाई सपिङको केन्द्र विन्दु नै बनाउँछन् । त्यसैले फिक्ललबजार हटिया भर्न र कोशेलीहरु किनमेल गर्न पर्यटकका लागि भरपर्दो गन्तब्य हो ।

ललिपप, छुर्पी, बम्बइसन, चियापत्ती लगायतका खाद्य सामाग्रीहरु सूर्योदयन गरको कोशेलीका रुपमा पर्यटकले किनमेल गर्न सक्छन् । पशुपतिनगर चाइना उत्पादनका सामाग्री किनमेल गर्न अब्बल सपिङ गन्तब्य हो । दार्जिलिङ, सिक्किम, मिरिक घुम्न जान पशुपति नाका पार गर्नैपर्छ ।

बस्न खानाको सुविधा

सूर्योदय नगरभित्र लगभग सयवटा जति साना ठूला होटल संचालित छन् । तीन वटा रिर्सोट खुलेका छन् । अन्तु, सुन्दरपानी लगायतका स्थानमा होम स्टे छन् । एकदिनमा ३८ सय पर्यटक बास बस्नलाई समस्या छैन । पाँच सय रुपैंयाँ देखि पाँच चार हजार रुपैंयाँसम्मका कोठाहरु होटल र रिर्सोटमा छन् । मौलिक परिकारको स्वाद लिनका लागि यहाँ अधिकांश रेष्टुरेन्टहरुले मेनु तयार पारेका छन् ।

उत्सवमा अवसर

प्रदेश सरकारले घोषणा गरेको प्रदेश १ को एकमात्र पर्यटकीय नगर र संघीय सरकारले घोषणा गरेको एकसय प्रमुख पर्यटकीय गन्तव्यमा पर्ने नगर हो सूर्योदय । मंसिर १४ देखि १८ गतेसम्म चल्ने यस पटकको महोत्सवमा कन्याम, श्रीअन्तु, फिक्कल, पञ्चकन्या, पशुपतिनगर लगायतका स्थानमा मौलिक परिकारसहितको फुड फेस्टिबल, सांस्कृतिक कार्यक्रम, चंगा चेट, घोडाको सौन्दर्य प्रतियोगिता, ऐतिहासिक गोर्दे मेला, फोटो प्रर्दशनीजस्ता कार्यक्रम तय भएका छन् । मंसिर १४ गते बिहान १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले अन्तुडाँडामा सूर्य पूजा गरेपछि महोत्सव उद्घाटन हुनेछ ।

टी टेस्टिङ, डम्फू नाँच, लाप्चा दरबार अवलोकन, रेड पाण्डा ट्रेल, देउराली हाईक, साइकल दौड महोत्सवमा आकर्षण रहेको वडाध्यक्ष देवेन्द्र शर्माले जानकारी दिएका छन् । कन्याममा मंसिर १६ गते साहित्यिक विमर्श कार्यक्रम राखिएको छ । कन्याममै चंगा चेट कार्यक्रम छ । गोर्खे, फिक्कल र पशुपतिनगरमा पनि विशेष कार्यक्रमहरु तय भएका छन् ।

प्रतिक्रिया दिनुहोस