हरि शर्मा/नवलपरासी । भारतीय पक्षको अतिक्रमणमा पर्दै आएको पश्चिम नवलपरासीको सुस्तामा जंगे पिलर स्थापना गर्न स्थानीयले माग गरेका छन् ।
स्थायी स्तम्भ नभएकै कारण पटक-पटक सीमा अतिक्रमण भएको भन्दै उनीहरुले तत्काल स्थापना गर्न माग गरेका हुन् ।
सुस्ताको अतिक्रमित जग्गा फिर्ता गर्न र जंगे पिलर स्थापनाको लागि सुस्तावासीहरुले पटक-पटक जिल्लादेखि काठमाण्डौंसम्म आन्दोलन गर्दै आइरहेका छन् ।
तर आफूहरुको समस्यालाई सरकारले भने नसुनेको उनीहरुको गुनासो छ ।
नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो नक्सामा समावेश गरेपछि त्यसलाई फिर्ता गराउन सरकारले भारतसँग गर्ने संवादमा सुस्ताको समस्यालाई पनि उठाउनुपर्ने स्थानीय लैला बेगमको आग्रह छ ।
सुस्तामा २ सय ६५ घरधुरीमा ३ हजार १ सय ३३ जनसंख्याको बसोबास छ । पुल नहुँदा आफ्नै देशमा पनि भारतीय भूमि हुँदै जानुपर्ने बाध्यता सुस्तावासीलाई छ ।
सुस्तावासीहरु शिक्षादेखि स्वास्थ्य, खानेपानीलगायत न्यूनतम् सुविधाबाट समेत बञ्चित छन् ।
अधिकांश सुस्तावासीसँग नागरिकता नभएकाले लालपूर्जाबाट समेत वञ्चित छन् । जग्गा स्वामित्व नहुँदा पनि भारतले पटक पटक अतिक्रमण गर्ने गरेको सुस्तावासीको गुनासो छ ।
जंगे पिलर स्थापना गरे मात्र यहाँको समस्या समाधान हुने सुस्ता बचाउ अभियानका संयोजक गोपाल गुरुङको भनाइ छ ।
कुल ४० हजार ९ सय ८० हेक्टर क्षेत्रफल रहेको सुस्तामा स्थानीयले साढे ७ हजार हेक्टर मात्र भोगचलन गर्दै आएका छन् ।
१९ हजार ४ सय ८० हेक्टर जग्गा विवादित भन्दै कुनै पनि देशका नागरिकले भोगचलन नगर्ने भन्दै छुट्टाइएको छ ।
सुस्तामा भूमि विवाद भएपछि २०६४ सालबाट कल्भर्ट, रुख र नदीलाई अस्थायी सीमा तोकिएको छ । तर स्थानीयले भने उक्त सीमालाई समेत मान्न तयार छैनन् ।
२०३४ सालमा नारायणी नदीमा आएको ठूलो बाढीले नदीको धार परिवर्तन गरेपछि सुस्ता गाउँ नदीको पूर्वमा परेको छ । जहाँ तिनै तिरबाट भारतले घेरेको छ ।
सुस्ताको सुरक्षाका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीका अस्थायी पोष्ट राखिएको छ ।