कमरेड ओलीलाई मेरो सुझाव

अबिसेक डाँगी/काठमाडौं :-
यो सरकारसँग दुईतिहाइको समर्थनमात्र होइन, दुईतिहाइकै आशा अनि अपेक्षा पनि छ। त्यो अपेक्षा सम्बोधन हुन सकेन भने जति काम गरे पनि सानो हुन्छ। झन् केपी ओलीले त प्रत्येक भाषणमा चन्द्रमा पुग्ने गफ दिएका छन् त्यसैले जति गरे पनि उनी असफल नै देखिनेछन्। त्यसैले केपी ओलीलाई मेरो पहिलो सुझाव– तपाईँ अब केही महिना नबोल्नुहोस्, केही आमनागरिकले परिवर्तन महसुस गर्न सक्ने काम गर्नुहोस्। तपाईँले नागरिकको अनि मिडियाको साथ पाउनुहुनेछ। तपाईँकै आत्मविश्वास बढ्नेछ।

तपाईँले अहिलेसम्म म भ्रष्टाचार गर्दिन भन्नुभएको छ। अध्यक्ष कमरेड, के तपाईँमा मेरा पार्टीका कुनै पनि नेता अनि कार्यकर्ताले भ्रष्टाचार गर्दैनन् भनेर भन्ने ल्याकत छ? छैन भने कर्मचारीलाई बिहानै भ्रष्टाचार गर्दिन भनेर सपथ खुवाउनुको कुनै तुक छैन । डाक्नुहोस् आफ्नो संगठनको बैठक । गर्नुहोस् उदघोष । नत्र यी नारा गफमै सीमित हुनेछन्।

निर्देशनले मात्र नपुग्ला प्रेरित गर्नुहोस्। कर्मचारीमा ऊर्जा भर्नुहोस् । त्यसका लागि तपाईँले केही त्याग गर्नुपर्ने हुन्छ। १४ वर्ष जेल बसेको विगत हो। त्यसले तपाईँलाई सत्तासम्म त पुर्यायो अब अगाडि लान सक्दैन। रेलका केही पूर्वाधार बनाएर, मेलम्ची ल्याएर, शिक्षा स्वास्थ्यमा केही सुधार, फास्ट ट्रयाकको कामहरू देखाएर विकास गरेको भन्छु अनि अर्को पल्ट भोट ल्याउँछु भन्ने सोच्नुभएको छ भने त्यो भ्रम नपाल्नुहोला । त्यो समय क्रमसँगै आउने विकास हो। तपाईँहरू नभएर अरू जो कोही भएको भए पनि आउँथ्यो। जनता त्यति नबुझ्ने छैनन् अब । साथै, समृद्धिको नाममा जनता जिस्काउने काम धेरै नगर्नुहोस् । गोबर ग्यास उद्घाटन गरेर, धाराको टुटी घुमाउँदै धारा उद्घाटन गरेर, पिङ उद्घाटन गरेर दिन खेर नफाल्नुहोला । ठोस उपलब्धिका लागि जनता काकाकुल छन्।

दुईतिहाइको सरकारको नेतृत्व गर्दैगर्दा उहाँका कतिपय शैली आज पनि देशका प्रधानमन्त्रीको भन्दा कुनै दलका नेताको जस्तो देखिन्छ। प्रधानमन्त्री कार्यकारीको प्रमुख हो र कार्यकारी प्रमुखले बोलिसकेपश्चात् जनताले अब त्यो काम अघि बढ्छ, र पूरा हुन्छ भनेर सोच्छ, दिन गनेर पर्खन्छ। त्यो कुरा हेक्का नराखी बोलेको बोल्यै गर्ने अनि कसैले आलोचना सहनै नसक्ने प्रधानमन्त्रीका पक्षमा एउटा स्वाभिमान बनाएको लेखक या चिन्तकले गुनगानका लागि मात्र त कति पटक लेखोस् र ? लोकतन्त्रमा प्रक्रिया र सहभागिताको भूमिका हुने व्यवस्था भएकाले नै अरूभन्दा फरक र असल भनिएको हो। ती सबै प्रक्रियालाई थाँती राखेर तपाईंको वचनवाणी मात्र सत्य भनेर हिँड्ने भीड खोज्नुभएको हो भने ‘म पनि लोकतन्त्रका लागि लडेको’ भन्ने तपाईंको भनाइमा प्रश्नचिह्न लाग्न सक्छ।

‘मुर्छित समाजलाई जगाउनु, तिनीहरूप्रति विश्वास बढाउनु र ती विश्वास साकार पार्न हरेकले प्रयास गरून्, जसबाट देश विकास सम्भव बनाउन सकिन्छ, समाज विकास सम्भव बनाउन सकिन्छ र यसका लागि कोसिस गरेको हुँ, त्यो गर्नुपर्छ’ भन्ने तपाईंको भावनामा तपाईंका विपक्षी पनि असहमत हुनपर्ने कारण छैन। तर यी हरफको अनुशरणमा तपाईंका आफ्नै क्रियाकलाप कति सहयोगी भए त भनेर एकपटक आफैं हेर्नुस न। ‘हरेकले प्रयास गर्ने’ बाटोको तगारोका रूपमा आज प्रधानमन्त्रीको कार्यालय उभिएको देखिन्छ। सरकारी विद्यालयको शिक्षक र डाक्टरबाट कमसेकम सरकारी विद्यालय र अस्पताल नै अघि बढाउन पहल होस्, पुरानो व्यवस्थालाई नराम्रो भन्दै ल्याइएको नयाँ व्यवस्थामा नेतृत्व तहमा पुग्नेले राम्रो आचरण गर्न नबिर्स जस्ता सन्देशसहित आएका एक लोकगायकका सिर्जनामाथि तपाईं हप्तौं तीखो प्रतिक्रिया दिएर हिँड्नुहुन्छ भने तपाईंको भ्रातृसंगठन गीतकै अवरोधक बन्छ। २०४६ मै ‘पम्फादेवी मुर्दावाद’ भनेर तत्कालीन रानीका विलासी जीवनविरुद्ध नाराबाजी गर्न आँट गर्ने तपाईंकै कमरेडहरूले आज पदमा पुगेकाहरू बढी सुविधाभोगी भए है भन्न पनि नपाउने ?

प्रधानमन्त्रीलाई लाग्न सक्छ कि अझै मसँग विकल्प छन्। म राम्रो गर्छु, सरकारका राम्रा मान्छे ल्याएर काम अघि बढाउँछु। तर यी सबै काममा एक नेता त्यतिखेर सफल हुन्छ, जतिखेर उसलाई जनसमर्थन कायम रहन्छ। तर अहिलेको तपाईंको अवस्था भनेको २०५१ तिरको गिरिजाप्रसादको जस्ता अवस्था हो। संसद्मा बहुमत देखिन्छ, तर दलभित्रै, संसद् र जनस्तरमा तपाईं अलोकप्रिय भइसक्नुभएको छ। तपाईंले अब आएर मन्त्रिपरिषद्मा संशोधन खोज्नुभयो भने जोजो मन्त्रीबाट बाहिरिन्छन्, तिनीहरूले नै तपाईंविरुद्ध ग्याङअप गर्छन्, तपाईंका कमजोरीलाई अरू उछाल्छन्।

प्रतिक्रिया दिनुहोस