प्रदीप पौडल/पोखरा :- समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सीमा अतिक्रमण विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको खोक्रो राष्ट्रवाद शिवाय अन्य केही नभएको टिप्पणी गरेका छन् ।
समाजवादी पार्टीको चुनावी सभालाई पोखरामा आइतबार सम्बोधन गर्दै डा भट्टराईले त्यसबेलाका महेन्द्रदेखि अहिले केपी ओलीले भित्रभित्र विदेशी शक्तिसँग मिलेर देशको भूमि सुम्पिने काम गरेको समेत लगाए ।
उनले भने, ‘लाछी बाहुनले आफ्नो घरमा आएर ढाल ढकाएजस्तो, बाहिर राष्ट्र ठूलो डंका पिट्ने र भित्रभित्र भने सत्ताको डरले लत्रक्क पर्ने चरित्र ओलीमा रहेको छ । ओलीको नक्कली राष्ट्रवादबाट कहिले मुक्ति हुने ?’
ओलीले सीमा सुरक्षाको विषयमा कसैले थाहा नपाउने गरी ‘डिप्लोमटिक नोट’ (कर्मचारीले लेख्ने नोट) मात्र लेखेको र त्यो बाहेक अन्य राजनीतिक पहल नगरेको डा. भट्टराईले बताए ।
उनले ओलीको जस्तो अन्धराष्ट्रवादबाट होइन, सुगौली सन्धीले निर्धारण गरेको भूमिको रक्षा र स्वाधिनताको रक्षा आफूहरुले गर्ने बताए ।
उनले सीमा अतिक्रमणको बेला दुई उपाय गर्न सकिने भन्दै उनले ओलीलाई सुझाए, एउटा भनेको बलियो देशले आफ्नो सेना प्रयोग सीमाबाट विदेशी शक्ति हटाउने र अर्को भनेको कुटनीतिक पहल गर्ने । आफ्नो दलले पनि ओलीलाई उच्चस्तरीय वार्ताको लागि पहल गर्न सुझाव दिएको बताए ।
उनले भने, ‘यो समस्या सचिवस्तरको संयन्त्रले हल गर्न सक्दैन । राज्यस्तरको वार्ता अघि बढाउनुपनुपर्छ । ओलीले सिधै मोदीसँग टक गर्नुपर्छ ।’
उनले उपनिर्वाचनबारे धारणा राख्दै यो देशमा नेकपा र काँग्रेस फेल भइसकेको र तिनीहरुको विकल्प समाजवादी पार्टीमात्र भएको दाबी गरे ।
उनले भने, ‘सरकार भ्रष्टाचार, कमिसनखोर, अपराधी संरक्षणमा लिप्त छ, यस्तो अवस्थामा देशको समृद्धि कसरी हुन्छ ?’
उपप्रधानमन्त्री समेत रहेका समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले आफूहरु सरकार र सदनमा संघर्ष गरिरहेको बताए ।
उनले संघीयताको अधिकार दिलाउन सडकबाट समेत आन्दोलनको चेतावनी दिए ।
उनले भने, ‘हाम्रो शत्रु भनेको नेकपा र काँग्रेस नै हो । यिनीहरुबाट समृद्धि हुँदैन ।’ विभेद, असमानता, आर्थिक पछौटेपन नहटेसम्म संघर्ष जारी रहने उनले यादवले बताए ।
समाजवादी पार्टीका केन्द्रीय सहअध्यक्ष राजेन्द्र श्रेष्ठले मुलुकलाई कमिसनखोर र अपराधीको संरक्षणमा सरकार लागेको आरोप लगाए ।
समाजवादी पार्टीका कास्की २ का उम्मेदवार इञ्जिनियर धर्मराज गुरुङले आफूले भाषणभन्दा काममा विश्वास गर्ने बताए । उनले उपनिर्वाचनमा आफूलाई मत दिलाई जिताउन मतदातासमक्ष आग्रह गरे ।
पोखराको पृथ्वीचोकमा भएको सो चुनावी सभा अघि चिप्लेढुंगाबाट सुरु ¥यालीले महेन्द्रपुल, नयाँबजार परिक्रमा गरेको थियो