विप्लवको बन्दले दाङसहित देशभरको जनजिवन प्रभावित ।।

आशिष के.सी
दाङ, १३ जेठ
नेत्रविक्रम चन्द विप्लव निकट नेकपाले आह्रवान गरेको नेपाल बन्दले दाङसहित देशभरको जनजिवन प्रभावित भएको छ । प्रहरीको गोलि लागेर एक कार्यकर्ताको मृत्यु भएपछि विप्लव समूहले आज बन्दको आब्हान गरेको छ ।

बन्दका कारण दाङमा लामो तथा छोटो दुरीका सवारी साधन संचालनमा आएका छैनन् भने शैक्षिक संस्था, बजार ,उद्योग तथा कलकारखाना लगायत सबै ठप्प भएका छन् ।

युवा संगठनका तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेको भन्दै विप्लवले संघर्षका कार्यक्रमहरु घोषणा गर्दै आज एक दिन बन्द गरेको हो । विप्लव निकट नेकपाले तीर्थ घिमिरेलाई नियन्त्रणमा लिएर भीडन्तको झुठो नाटक रचि निर्ममरुपमा हत्या गरिएको भन्दै विप्लवले घटनाको भत्सना पनि गरेका छन् ।

नेपाल वन्दका कारण आज बिहानैदेखि जिल्लाका घोराही, तुलसीपुर, लमही, भालुवाङ, नारायणपुर, लगायतका क्षेत्रमा रहेका बजारहरु विहानैदेखि बन्द रहेका छन । जिल्लामा कुनै रुटमा सवारीसाधानहरु चल्न नसकेको प्रहरीले जनाएको छ ।

तर सामान्य रुपमा मोटरसाइकल, अटोलगायतका सवारी साधनहरु चलेका छन । बन्दको समयमा हुन सक्ने सम्भावित खतरालाई रोक्न प्रहरीले उच्च सतकर्ता अपनाएको दाङ जिल्ला प्रहरी प्रमुख तथा एसपी वेल बहादुर पाण्डेले जानकारी दिनुभयो ।।

यसैबीच दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले दाङका कुनै पनि सरकारी कार्यालय बन्द नरहेको बताउनुभएको छ । बन्दको हल्लाका कारण सरकारी कार्यालय पनि बन्द भएको भन्ने खबर संचार माध्यममा आएको भन्दै कार्यालय बन्द नरहेको जानकारी दिनुभयो ।

उहाँले सेवाग्राहीले आजपनि अन्यदिन झैँ सेवा पाउने बताउनुभएको छ । यसैबीच सरकारी कार्यालय खुल्ला रहेपनि सेवाग्राहीको संख्या भने न्युन देखिएको सम्बन्धित कार्यालय प्रमुखहरुले बताएका छन् ।

यातायातको बन्दका कारण सरकारी कार्यालयमा सेवाग्राहीको चाप न्युन देखिएको सहकर्मीहरुले बताएका छन् ।।

प्रतिक्रिया दिनुहोस