मेरो धोती खोलिदिने, मधेशी भनेर हेप्ने गरियो–सीके राउत

काठमाडौ :-  जनमत पार्टीले काठमाडौंकों माईतीघरदेखि भृकुटीमण्डपसम्ममा सांस्कृतिक विविधितासहितको झाँकी प्रदर्शन गरेको छ । पार्टीका संयोजक सीके राउतको नेतृत्वमा झाँकी प्रदर्शन गरिएको हो ।

प्रदर्शन सकिएलगत्तै भृकुटीमण्डपस्थित् बगैंचामा ‘रंगभेदविरुद्ध एकतासभा’ समेत आयोजना गरिएको हो । प्रदर्शनमा सहभागीहरुले ‘नो रेसिजम’ लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

एकता सभामा सम्बोधन गर्दै संयोजक राउतले रंगभेदविरोधको आन्दोलन आफुहरुमाथि लादिएको बताए । उनले हरेक पाईलामा रंगभेद रहेको बताए । उनले भने,‘रंगभेद कहाँ छ ? भन्नेहरुले आफ्नो पूर्वाग्रहको चश्मा खोलेर हेर्नुहोस् ।’ उनले पटक पटक आन्दोलनमार्फत व्यवस्था परिवर्तन भएपनि रंगभेद आजसम्म अन्त्य नभएको जिकिर गरे । उनले भने,‘म काठमाडौंमा अध्ययन गरिरहेको बेला ईन्जिनियरिङ कलेजमा, असनमा, धोती खोलिदिने, मधेशी भनेर हेप्ने गरियो ।”

उनले खोक्रो राष्ट्रवादको नारा लगाउनेहरुले नै रंगभेद समाप्त भएको भनेर झुठो दाबी गरिरहेको पनि स्पष्ट पनि पारे । उनले भने,‘झुठो नारा र दाबी गर्नेहरुले अहिलेसम्म शासन गर्दै आएका छन् । गजेन्द्र नारायण सिंहको आन्दोलनमा सिसा, लाठी र ढुंगाले हिर्काईयो । पुलबाट फालियो । ऋतिक रोशनको काण्डमा मधेशीहरुको पसलमा लुटपाट भयो । इराक घट्नामा मस्जितमा समेत आगो लगाईयो । के यो रंगभेद होईन ?’

आफूले पनि देशमा एकता चाहेको राउतको भनाई छ । गौतम बुद्ध मधेशकै मान्छे भएको सुनाउँदै भने,‘गौतम बुद्धले विश्वभरि शान्तिको सन्देश फैलाउनुभयो । सीतापनि मिथिलाकै चेली हो । उहाँले पनि विश्वमा नारीहरुलाई जिउने तरिका सिकाउनुभयो ।’

उनले लिपुलेक, कालापानी र लिम्पियाधुरा कुन मधेशीले बेचेको छ ? भन्दै प्रश्न गरे । मेचीको पशुपतिनगरलगायत भारतसँगको सीमा त्यहीँका मधेशी नागरिकहरुले गरिरहेको उनको भनाई थियो । उनले भने,‘यो कुरा खोक्रो राष्ट्रवादीहरुलाई थाहा छैन् ? अहिलेसम्म कुन मधेशीले सुगौली सन्धिलगायत सन्धिसम्झौता गरेर कसले बेचेको हो ? यो कुरा थाहा छैन् ।’

उनले देशमा एकता कायम गर्ने हो भने सबै विविधतालाई आत्मसात गर्दै अघि बढ्नुपर्ने धारणा राखे । उनले भने,‘यसको लागि सबै किसिमको विभेदहरुको अन्त्य गर्नुपर्छ । अनेकतामा एकता र विविधतामा सम्भाव्यता खोज्नुपर्छ ।”

आफूहरुले नेपालमा रंगभेद अन्त्य भएको हेर्न चाहेको बताए ।

प्रतिक्रिया दिनुहोस