ईटहरी । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) पार्टीले आब्हान गरेको नेपाल बन्दका कारण सोमबार बिहानै देखि जनजीवन प्रभावित भएको छ । लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन भने बन्दका कारण जनमानसमा अन्यौलता सिर्जना भएको छ । आईतबार साँझ काठमाण्डौमा सो पार्टीले गराएको बिस्फोटबाट मानिसहरु थप त्रसित बनिरहेका बेला बन्दले झन त्रास फैलाएको छ । भोजपुरमा प्रहरी कारबाहीमा परी आफ्ना कार्यकर्ता तीर्थराज घिमिरे मारिएपछि सरकारसँग बदला लिने चेतावनी दिएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाल बन्दसहितका चरणबद्ध संघर्ष कार्यक्रम घोषणा गरेका छन ।सरकारको प्रतिबन्ध झेलिरहेका विप्लवको घोषणाअनुरुप आइतबार साँझ देशैभर मशाल जुलुस निकालिनुपर्ने थियो । तर भइदियो अर्कै, दिउँसो राजधानीको अनामनगर, सुकेधारा र नागढुंगामा भएको विस्फोटमा चारजनाको मृत्यु भयो । यी घटनामा सातजना घाइते भए । प्रहरीका अनुसार ज्यान गुमाउने र घाइते हुनेमा विप्लवकै नेता कार्यकर्तासमेत छन् । सुकेधारा विस्फोटमा घाइते भएका नेवा ः मुक्ति मोर्चाका नेता सुरेन्द्र महर्जनले बम बनाउँदै गर्दा विस्फोट भएको बयान दिएका छन ्। थानकोटमा पनि दुईजना घाइते हुनेगरी विस्फोट भएको छ ।ललितपुर र भक्तपुरमा पनि प्रेसर कुकर बम फेला परेको प्रहरीले जनाएको छ । भोजपुर घटनाले विप्लव आक्रोशित गतसाता भोजपुरको ट्याम्के–मैयुङ गाउँपालिका–२ स्थित धोद्रे जंगलमा विप्लवका एक कार्यकर्ता मारिएका थिए । प्रहरीको कारबाहीमा विप्लवका कार्यकर्ता मारिएको यो पहिलो घटना थियो। पक्राउ गर्ने क्रममा प्रहरीमाथि गोली चलाउन खोजेपछि जवाफी कारबाहीमा विप्लव कार्यकर्ता तीर्थराज घिमिरे घाइते भएका थिए । प्रहरीको गोलीले घाइते भएका घिमिरेको उपचारका लागि धरान लाने क्रममा ज्यान गयो । विप्लव भने सरकारको दावी मान्न तयार छैनन्। उक्त घटनालाई उनले सरकारको नाटक भनेका छन् । जेठ ८ मा विप्लवद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ’सरकारले भिडन्तको झुठो नाटक रची सामान्य राजनीतिक कार्यक्रममा हिँडिरहेका युवा संगठनका कार्यकर्ताको निर्मम रुपमा हत्या गरेको छ ।
सरकारले गरेको जघन्य हत्याको बदला जनताले उचित समयमा लिने नै छन्।’ कडा भाषामा प्रस्तुत भएका उनले सरकारले आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाएर कार्यकर्तालाई चरम यातना दिनुका साथै हत्यासम्ममा उत्रिएर ’देशलाई योजनाबद्ध तरिकाले गृहयुद्धमा धकेल्ने कुचेस्टा गरेको’ भन्दै बन्दसहितका कार्यक्रम घोषणा गरेका थिए । विप्लवका कार्यकर्ता मारिँदा सरकार दुखी विप्लवको विज्ञप्ती आएको भोलिपल्ट सरकारले भोजपुर घटनाबारे प्रतिकृया जनायो ।
पार्टीको उपत्यका ब्यूरोको नाममा जारी पर्चामा ‘जेठ १३ को बन्द सफल पार्न’ आह्वान गरिएको छ । ठाउँठाँउमा भएका श्रृंखलाबद्ध विस्फोटले राजधानीमा त्रासको वातावरण बनेको छ । विस्फोटन भएका स्थान अहिले नेपाली सेनाको नियन्त्रणमा छ । आइतबार साँझ बसको आकस्मिक बैठकमा गृहमन्त्री रामबहादुर थापाले देशैभरका सुरक्षा संयन्त्रलाई सतर्क रहन निर्देशन दिएका छन् । तरपनि सोमबार बिहानैदेखि बन्दको प्रभाव देखिएको छ ।