कैलाली :- कैलाली र कञ्चनपुरमा गरिमा धान नपसाए पनि दुवै जिल्लामा धान उत्पादन घटेको छैन । नक्कली गरिमा धानका कारण यो वर्ष धान उत्पादन घट्ने अनुमान गरिएको थियो । तर, दुवै जिल्लामा गतवर्षकै हाराहारीमा धान उत्पादन भएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जानकारी दिएको छ ।
गत वर्ष कैलालीमा तीन लाख ५५ हजार मेट्रिकटन र कञ्चनपुरमा एक लाख १७ हजार आठ सय मेट्रिकटन धान उत्पादन भएको थियो । यो वर्ष पनि दुवै जिल्लामा गरेर करिब चार लाख ७२ हजार ८०० मेट्रिकटन हाराहारीमा नै धान उत्पादन भएको ज्ञान केन्द्रले जनाएको छ ।
कैलालीमा ७१ हजार हेक्टर क्षेत्रफल र कञ्चनपुरमा ३८ हजार हेक्टर क्षेत्रफल जमिनमा धान खेती भएको थियो । दुवै जिल्लाको औसत उत्पादकत्व प्रति हेक्टर जमिनमा क्रमशः पाँच प्रतिशत र ३.१ प्रतिशत रहेको छ ।
‘क्रप कटिङको प्रारम्भिक विवरण अनुसार दुवै जिल्लामा धान उत्पादन घटेको देखिएको छैन’, कृषि ज्ञान केन्द्रका सूचना अधिकारी रमेश चन्द्र भट्टले भने–‘औसत उत्पादन गतवर्षकै हाराहारीमा रहेको छ ।’ धान उत्पादनमा कमी नभए पनि यकिन तथ्याङ्क निकाल्नलाई भने अझै केही दिन लाग्ने उनको भनाइ छ । ‘हामीले विवरण कम्पाइल गरिरहेका छौं’, उनले भने–‘त्यसैले अहिलेसम्म औसत तथ्याङ्क मात्रै छ ।’
गरिमा धान लगाएका किसानलाई व्यक्तिगत रुपमा धेरै नोक्सान भए पनि दुवै जिल्लामा समग्र धान उत्पादनको अवस्था राम्रो नै रहेको कृषि ज्ञान केन्द्रको ठहर छ । यो वर्ष बाढी नआउँदा खल्ला र पानी जम्ने खेतमा पनि धान उत्पादन भएको थियो । यसैगरी, किसानले विभिन्न प्रजातिको उन्नत धानको खेती गर्नुका साथै, उपयुक्त तरिकाले मलखाद हालेकाले पनि उत्पादन राम्रो भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
गरिमा धान खेती नपसाए पनि अरु जातको धानको उत्पादन धेरै राम्रो भएको सूचना अधिकारी भट्टको भनाइ छ । ‘एक लाख आठ हजार ३०० हेक्टर जमिनमा धान खेती राम्रो थियो’, उनले भने-‘सात सय हेक्टर जमिनमा लगाइएको गरिमा धान खेती भने पसाएन ।’
कैलाली, कञ्चनपुरमा उत्पादन भएको धानले सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लालाई पनि धान्ने गरेको छ । प्रदेशको पहाडी सात जिल्ला पनि तराईकै उत्पादनमा निर्भर रहेको छ ।