मिडिया काउन्सिल विधयेकबारे सांसदहरुबाट सुझाव संकलन

काठमाडौं :-   मिडिया काउन्सिल विधयेकबारे सांसदहरुले रिपोर्टर्स क्लब नेपालसँग सुझाव संकलन गरेका छन् । बिहीबार क्लबको भृकुटीमण्डपस्थित कार्यालयमा आएर सांसदहरुले सुझाव संकलन गरेका हुन् ।

नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधयेकमा सुझाव दिदै रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले विधयेकले पत्रकारको हक हितलाई अझ बलियो बनाउनुपर्ने बताए ।

विधयेकका नाममा पत्रकारको कलमलाई कुण्ठित पार्ने र समाचार लेखेको भरमा दुःख दिने परिस्थिति आउने बुँदा अस्वीकार्य हुने बताए । विधयेक संसदप्रति जवाफदेही हुनुपर्नेमा जोड दिए । उनले भने, ‘रिपोर्टर्स क्लब नेपालमा पत्रकारको हक हितको सुनिश्चिततासहितको विधयेकको पक्षमा छ ।’

नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापा मगरले विधयेक ल्याउँदा पत्रकारिताको विकास र पत्रकारको हितलाई केन्द्रमा राखिनुपर्ने बताए । उनले मिडियालाई अंकुश लगाउने प्रकारको गतिविधि कहीं कतैबाट हुन नहुने बताए ।

रिपोर्टर्स क्लब नेपालका वरिष्ठ उपाध्यक्ष डिल्ली बसेलले राज्यले कानुन बनाउन कार्यान्वयन हुनसक्ने गरी बनाउनुपर्नेमा जोड दिए । आमसञ्चार र पत्रकारिता क्षेत्रको व्यवस्थापन र नियमन स्वीकार्य भएपनि अंकुश लगाउने गतिविधि मानय नहुने स्पष्ट पारे ।

कार्यक्रममा क्लबका सदस्य तथा पत्रकारहरुले विधयेकबारे सुझाव दिदै पत्रकार र पत्रकारिताको पुर्नपरिभाषित आवश्यक रहेको बताए । पत्रकारिताका नाममा विकृती र विसंगति बढाउनेहरुले प्रश्रय पाउन नहुने र पत्रकारको हक अधिकार सुरक्षा पनि गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा विधयेक समितिको तर्फबाट सुझाव उपसमितिका संयोजक सांसद ठगेन्द्र प्रसाद पुरीले विधयेकबारे सुझाव संकलन गरी आमसञ्चार र पत्रकारिताका क्षेत्रको हितलाई दृष्टिगत गरी विधयेक तयार पारिने जानकारी दिए । उनले पत्रकारहरुबाट नै सुझाव लिएर विधयेकलाई अन्तिम रुप दिइने बताए

प्रतिक्रिया दिनुहोस