घोराही १६ मा नेकपाका उम्मेदवार सुरेशलाई टोलटोलमा भव्य स्वागत

घोराही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट घोराही १६ मा अध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएका सुरेशबहादुर केसी (प्रताप) लाई टोल टोलामा भव्य स्वागत गरिएको छ ।
विभिन्न टोलमा मत माग्दै घरदैलोमा पुगेका केसीलाई मतदाताहरुले लछिन बुढा मगरले देखेका सपना पूरा गर्न आग्रह समेत गरेका छन् । उनीहरुले नेकपाको नेतृत्वमा मात्रै विकास सम्भव भएकाले सुर्य चिन्हमा मतदान गरेर सुरेशलाई विजयी बनाउने आश्वासन समेत दिएका छन् ।

मतदाताहरुसँग कुरा गर्दै उम्मेदवार केसीले आँफू निर्वाचित भइसकेपछि १६ नं मा रहेका सडकहरु कालोपत्रेमा विशेष ध्यान दिने बताउनुभयो । उहाँले खरको छाना मुक्त गर्ने लछिनको योजनालाई आँफूले पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

केन्द्र, प्रदेश र उपमहानगरमा नेकपाको सरकार भएकाले १६ नं वडामा अन्य उम्मेदवारले जितेमा विकास गर्न नसक्ने केसीको भनाई छ । उहाँले केन्द्र, प्रदेश र उपमहानगरमा आँफूले पार्टीगत रुपमा सहज तरिकाले पँहुच राख्ने भन्दै सुर्य चिन्हमा मतदान गर्न अपिल गर्नुभयो ।

नेकपाका केन्द्रीय सदस्य एवम प्रतिनिधिसभाका सांसद मेटमणी चौधरीले घोराही १६ मा नेकपाका उम्मेदवार सुरेशबहादुर केसी (प्रताप)को जित सुनिश्चित भइसकेको बताउनुभयो । उहाँले सुरेश केसी नै पार्टीको आधिकारीक उम्मेदवार भएकाले कोही पनि भ्रममा पर्न नहुने जिकिर गर्नुभयो ।
अर्का केन्द्रीय सदस्य निमर्ल आचार्यले नेकपाको नेतृत्वमा नै मुलुकले समृद्धिको यात्रा तय गरेको उल्लेख गर्दै सुरेश केसीलाई सहयोग गर्न मतदाताहरुलाई अपिल गर्नुभयो । उहाँले केसीसँग वडाको विकास गर्ने स्पष्ट भिजन भएकाले सबैले सहयोग गरेर विजयी बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस