एकसय तीन सीमास्तम्भ नै गायब

काशीराम शर्मा/बाँके :- बाँकेको गुर्देनगौरीदेखि बर्दियाको कर्णाली नदीसम्म नेपाल–भारत छुट्याउने ५५२ सीमास्तम्भ कायम गरिएका छन् ।

त्यसमा मुख्य, सहायक र साना छन् । ती सबै सीमास्तम्भ जहाँ गाडिएको थियो, त्यहाँ नभएको अवस्था छ । बर्दियामा त झन् ९४ सीमास्तम्भ नै गायव छन् । यी सीमास्तम्भ कहाँ गए भन्ने स्पष्ट जानकारी छैन ।

जसमध्ये मुख्य सात, सहायक नौ र साना ७८ छन् भने बाँकेमा नौ सीमास्तम्भ गायव पारिएका छन् । जसमध्ये मुख्य चार र सहायक पाँच सीमास्तम्भ छन् ।

बाँके, बर्दियासँग सीमा जोडिएको भारतको बहराइच जिल्ला पर्दछ । करीब ६५ किलोमिटर बाँकेखण्ड र ८० किलोमिटर बर्दियाखण्ड रहेको छ ।

बाँके र बर्दियालाई स्थानीय मानखोला नदीले छुट्याएको छ । नेपाल–भारत छुट्याउने बाँकेखण्डमा जम्मा ३०७ सीमास्तम्भ छन् ।

यसमा पनि मुख्य ३२ र सहायक २७५ सीमास्तम्भ छन् । जसमध्ये मुख्य २७ सीमास्तम्भ राम्रो अवस्थामा छन् भने चार खोलाले बगाएको छ ।

एउटा सीमास्तम्भको पुनःनिर्माण गर्नुपर्ने देखिएको छ । दुई सय ४६ सहायक सीमास्तम्भ राम्रो अवस्थामा भए पनि २१ को मर्मत गर्नुपर्ने देखिएको छ ।

तीन सहायक स्तम्भ पुनःनिर्माण गर्नुपर्ने देखिएको छ भने पाँच खोलाले बगाएको छ । यस्तै बर्दियाखण्डमा ७२ सीमास्तम्भ मर्मत गर्नुपर्ने भएको छ ।

तीमध्ये ३१ मुख्य, ४० सहायक र सानो एउटा सीमास्तम्भ छन् । पुनःनिर्माण गर्नुपर्ने मुख्य सीमास्तम्भ चार वटा छन् भने सहायक १२ र साना ३१ सीमास्तम्भ रहेका छन् ।

यस्तै सात साहयक सीमास्तम्भ खोलाले बगाएको छ भने २५ साना सीमास्तम्भलाई पनि खोलाले बगाएको छ ।

नापी विभागको रेकर्डअनुसार ४२ नम्बरको सीमास्तम्भ मानखोलादेखि ९८ नम्बरको सीमास्तम्भ कर्णाली नदीसम्म बर्दियाखण्ड हो भने मानखोलादेखि गुर्जेनगौरीसम्म बाँकेखण्ड पर्दछ ।

फेला नपरेका, पुनःनिर्माण, मर्मत गर्नुपर्ने काम सबै फिल्ड सर्वे टोलीले गर्दछ । फिल्ड सर्वेमा नेपाल– भारत दुवै देशका अधिकारी संलग्न रहन्छन् ।

फिल्ड सर्वे टोलीले पनि समयमा काम पूरा गर्न सकेको छैन । सर्वे टोलीले पूर्वदेखि काम थालेको बताइन्छ । नेपालतर्फ सीमानाकामा सशस्त्र प्रहरी बल नेपाल तैनाथ छ ।

सशस्त्र प्रहरी चौकी १३ देखि करीब २० किलोमिटरको फरकमा स्थापना गरिएको छ । यो दूरी बाँके र बर्दियाकै हो ।

भारतले भने सशस्त्र सीमा बल (एसएसबी) लाई करीब पाँच किलोमिटरको फरकमा तैनाथ गरेको छ । भारततर्फ बाटो छ, तर नेपालतर्फ बाटो छैन ।

त्यसकारण भारतले नेपालतर्फको सीमा नाकामा आफ्नो दबाब बढाउँदै लगेको स्थानीयवासीको भनाइ छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को उपस्थिति भने बाक्लो रहेको छ ।

प्रत्येक एक-दुई किलोमिटरमा एसएसबीले गस्ती गरिरहेको दशगजामा देख्न सकिन्छ । भारत सिमानाको बाँकेखण्डमा नेपाली सुरक्षा उपस्थिति कमजोर देखिएको छ ।

सीमाको निगरानीका लागि सशस्त्रको मात्रै सीमित जनशक्ति परिचालित छ । भातरतर्फ भने एसएसबीको बलियो उपस्थिति रहने गरेको छ ।

सशस्त्र प्रहरी बल नं ३० गण बागेश्वरीले नेपालगञ्ज भन्सार, कालाबन्जर, गङ्गापुर, नरैनापुर, सुइयालगायतका ठाउँमा सीमा सुरक्षाका लागि चौकी स्थापना गरेको छ ।

“हामीले दैनिकरूपमा सीमामा गस्ती गरिरहेका छौँ”, गणका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक दीपक अधिकारीले भने, सिमास्तम्भको अवस्था नियमितरूपमा अवलोकन गर्दै आएका छौँ ।”

सीमामा दुई देशका सुरक्षाकर्मीको संयुक्त गस्तीसमेत बेला–बेला हुन्छ । कतिपय बेला क्षेत्र तोकेर समेत गस्ती हुने गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

“सीमा सुरक्षाका सन्दर्भमा काउण्टर पार्टसमा छलफलसमेत हुने गरेको छ”, उनले भने, “प्रत्येक साता र आवश्यकताअनुसार नियमित पनि संयुक्त गस्ती हुने गरेको छ ।”

सशस्त्र प्रहरीले सीमाको सुरक्षाको काम मात्र गर्ने भएकाले सीमास्तम्भ मर्मत आफ्नो कार्यक्षेत्रभित्र नपर्ने बताएको छ ।

“हामीले सीमास्तम्भ मर्मत गर्ने होइन, हाम्रो काम सीमा सुरक्षाको मात्रै हो, सीमा सुरक्षाकै लागि पनि हामीसँग आवश्यकताभन्दा कम जनशक्ति छ, पाँच वटा युनिटबाट ६५ किलोमिटर हेर्नुपर्छ”, प्रहरी उपरीक्षक अधिकारीले भने ।

सीमावर्ती क्षेत्रका बासिन्दा नेपाली सुरक्षाकर्मीको अवस्था सीमामा पातलो रहने गरेको बताउँछन् । उनीहरु भन्छन्, “नेपाली सुरक्षाकर्मीको तुलनामा भारतीय सीमा सुरक्षा बलको गस्ती बढी रहेको देखिन्छ ।”

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले सीमामा नियमित गस्ती गरिरहेको बताउँछन् ।

“सीमामा नेपाली सुरक्षाकर्मी ‘एलर्ट’ छन्, सीमा क्षेत्रमा थप युनिट विस्तारका लागि हामीले पहल गरिरहेका छौँ”, उनले भने ।

बाँकेको महेन्द्रनगरमा सशस्त्र प्रहरी गणको मुख्यालय राखिएको छ । सशस्त्रले सीमा सुरक्षासँगै अर्को युनिटले राजश्व चुहावट नियन्त्रणका लागि भन्सार, औद्योगिक सुरक्षा बलका रूपमा पनि जिल्लामा परिचालित छ

प्रतिक्रिया दिनुहोस