विप्लवको बन्दमा जनजीवन आतंकित पार्ने प्रयास, ठाउँ ठाउँमा बम

काठमाडौं ।

नेत्रविक्रम चन्द विप्लव समूहले आज आह्वान गरेको नेपाल बन्दका क्रममा विभिन्न स्थानमा बम र शंकास्पद बस्तु राखेर जनजिवन आतंकित पार्ने प्रयास गरेको छ । भोजपुरमा प्रहरी आक्रमणमा आफ्ना एकजना कार्यकर्ता मृत्यु भएको विरोधमा विप्लवले सोमबार नेपाल बन्दको आह्वान गरेका थिए । विप्लव समूहका कार्यकर्ता तीर्थ घिमिरेको प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।

बन्दलाई प्रभाव पार्न काठमाडौंका दर्जनौं स्थानमा बम विस्फोट गराउने तयारी गरेको भए पनि आइतबार नै काठमाडौंका तीन स्थानमा बम विस्फोट हुँदा चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरु विप्लव समूहकै कार्यकर्ता भएको प्रहरी निष्कर्ष भएपनि सबैको पहिचान भइसकेको छैन । सो समूहले आज बिहानै मकवानपुरमा ट्रकमा आगजनी गरेका छन् भने सुर्खेतमा यात्रुबाहक बसमा आगजनी गरेका छन् ।

महोत्तरीको बर्दीबास नगरपालिकाको मूल गेटमा बम फेला परेको छ । नेपाली सेनाको टोलीले उक्त बमलाई निस्क्रिय पार्ने प्रयास गरेको छ । उता मोरङको सुन्दरहरैंचा ७  ठडियामा राजमार्ग छेउमा सोमबार बिहानै फेला परेको प्रेसर कुकर बम नेपाली सेनाले निस्क्रिय पारेको छ । नेपाली सेनाको पूर्वी पृतना इटहरीबाट गएको सेनाको टोलीले राजमार्ग छेउमै फेला परेको कुकर बम निस्कृय बनाएको हो । केहीबेर अघिमात्र सेनाको टोली बम निस्कृय बनाएर इटहरी फर्किइसकेको छ । बम फेला पारेपछि राजमार्गमा निगरानी र सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

यता, मोरङको बुढीगंगा गाउँपालिका १ को कोशी राजमार्गमा बमजस्तो देखिने शङ्कास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित भएका छन् । सुरक्षाका कारण त्यो स्थानमा  प्रहरीले आवातजावतमा रोक लगाएको छ  । त्यहाँ इटहरीबाट सेनाको विशेषज्ञ टोली पुगिसकेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

उता पोखराका विभिन्न स्थानमा बम फेला परेको छ । पोखराको सिर्जनाचोकमा प्रेसर कुकर बम फेला परेको छ भने नयाँ बजार र न्यूरोडको बीचभागमा पनि बम फेला परेको छ । कास्कीकै अन्नपूर्ण गाउँपालिकाको ढिकुरपोखरीनजिकै नाउँडाँडामा पनि शंकास्पद बस्तु फेला परेको छ ।

प्रतिक्रिया दिनुहोस