काठमाडौँ- आइतबार काठमाडौँ उपत्यकाका ३ स्थानमा बम विस्फोट ४ स्थानमा डिस्पोज भएसँग समग्र उपत्यकाको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।
कोटेश्वर, ग्वार्को, सातदोबाटो र लगनखेलमा शंकास्पद बम भेटिएपछि चक्रपथ आसपासका क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरेसँगै सवारीको जाम परेको छ। सुकेधारा, चाबहिल, गौशाला, तीनकुने, कोटेश्वर, बालकुमारी, ग्वार्को,सातदोबाटो, लगनखेल घट्टेकुलो र नागढुंगालगायतका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
आइतबार दिउँसोदेखि उपत्यकाका ७ स्थानमा बम फेला परेको थियो। यी मध्ये ३ स्थानमा श्रृंखलाबद्ध विस्फोट भएको थियो। कोटेश्वर, सातदोबाटो, ग्वार्को र लगनखेल शंकास्पद बम भेटिएको छ। यी चारै स्थानमा नेपाली सेनाको टोलीले बम निस्क्रिय गरेको छ।
दिउँसो लगभग एकै समय सुकेधारा र घट्टेकुलोमा भएको विस्फोटमा परी ३ जनाले ज्यान गुमाएको नेपाल प्रहरीले जानकारी दिएको छ। अन्य ६ जना गम्भीर घाइते भएका छन्।
आइतबार साँझै नागढुंगामा भएको बम विस्फोटमा परी २ जना घाइते भएका छन्। सो विस्फोटमा परेको आशंकामा आदिनारायण इटाभट्टा नजिकैबाट बा २८ प ८१४५ मोटरसाइकलमा सवार २ जना पक्राउसमेत परेका छन्।
प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट ९ जना शंकास्पद व्यक्तिलाई पक्राउ समेत गरेको छ।