उपनिर्वाचन दाङ : कांग्रेस र नेकपामा को बलियो र किन ?

दाङ– १४ मंसिरमा हुने उपनिर्वाचनमा दाङ क्षेत्र नम्बर ३ (ख)मा चुनावी माहोल निकै बढिसकेको छ । निर्वाचनका लागि त्यहाँ १२ दलसहित २ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका छन् ।



तर, अन्यत्रजस्तै दाङमा पनि यो उपनिर्वाचनमा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

दाङका तत्कालीन प्रदेश सभा सदस्य उत्तरकुमार ओलीको सडक दुर्घटनामा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । नेपाल कम्युनिस्ट पार्टीले यहाँ पनि उपनिर्वाचनमा उत्तरकी श्रीमती विमला ओलीलाई अघि सारेको छ । प्रतिनिधिसभामा हुने एक सिटको निर्वाचनमा पनि नेपाल कम्युनिस्ट पार्टीले भोजपुर हेलिकोप्टर दुर्घटनामा परेका तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराई अघि सारेको छ ।

उम्मेदवार चयनमा नेकपाको जस्तै कास्की र दाङमा नेपाली कांग्रेसमा पनि समानता देखिएको छ । नेपाली कांग्रेसले जसरी कास्कीबाट उपनिर्वाचनमा खेमराज पौडेललाई उठाएको छ, दाङमा पनि कांग्रेसका पुराना नेता केशवराज शर्मालाई उठाएको छ।

को बलियो र किन ? 

यसअघिको निर्वाचनमा दाङबाट उत्तर कुमार ओलीले तत्कालीन माओवादीको समर्थन पाएका थिए । तत्कालीन एमालेबाट उठेका ओलीले २३ हजार ९ सय ७० मत ल्याएका थिए । त्यति बेला उनका मुख्य प्रतिस्पर्धी थिए, कांग्रेसका बुद्धिराम भण्डारी । भण्डारीले त्यो निर्वाचनमा १७ हजार ५ सय ३५ मत ल्याएका थिए । उनीहरुबीच ६ हजारभन्दा बढीको मत भिन्नता रहेको थियो ।

अहिले दाङमा ३ हजारभन्दा धेरै मतदाता थपिएका छन् । त्यसैले यी तीन हजार मतादाता नै यसपटक कसलाई जिताउने भन्नेमा निर्णायक हुने नेपाली कांग्रेस र नेकपाका निर्वाचन कमिटीमा खटिएकाहरुले अनुमान गरेका छन् ।

दाङ ३ मा भएका स्थानीय तहमा नेकपाभन्दा नेपाली कांग्रेस बलियो देखिन्छ । बबई र दंगिशरणमा नेकपाको राम्रो पकड रहेको स्थानीय बताउँछन् । सँगै शान्तिनगर गाउँपालिकालाई चाहिँ नेपाली कांग्रेसले आफ्नो पकेट क्षेत्र मान्ने गरेको छ । यो क्षेत्रमा तुलसीपुर उपमहानगरपालिकाका चार वडा पनि समावेश हुन्छन् । यी चारमध्ये तीन वडामा यसअघि नेकपाले जितेको थियो ।

ठ्याक्कै यसअघि भएको निर्वाचनलाई ख्याल गर्ने हो भने नेकपा कांग्रेसभन्दा बढी बलियो देखिएको छ ।

तर, दाङको चुनावी परिणाम यसै अनुमान गर्न सकिँदैन । किनकि यहाँ प्रत्येक पटक भएका निर्वाचनहरुमा अनुमानभन्दा फरक मत परिणाम आएका छन् । जस्तो कि २०६४ सालमा दाङका सबै निर्वाचन क्षेत्रमा तत्कालीन माओवादीले जित दर्ज गरेको थियो । तर, ०७० सालमा भएको संविधान सभाको दोस्रो निर्वाचनमा यी पाँचै स्थानमा कांग्रेसले जित हात पारेको थियो । फेरि २०७४ सालको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा कांग्रेस दाङका सबै क्षेत्रमा पराजित भयो । कांग्रेसले प्रदेश सभामा दाङ ३ (क)मा जित हासिल गरेको थियो ।

त्यसैले यसपटक पनि दाङमा सोचिएको भन्दा भिन्न परिणाम आउने धेरैको अनुमान छ ।

‘हामी जति ठाउँ पुगेका छौँ,’ नेकपाबाट चुनावी अभियानमा खटिएका एक नेताले भने, ‘ती ठाउँमा हाम्रो पक्षमा जनउभार देखिन्छ ।’ ती नेताले यही आधारमा पनि दाङमा नेकपाले जित्ने अनुमान गर्न सकिने बताए ।

अर्कोतिर, कांग्रेसले चाहिँ प्रदेश पाँचको सरकारले नै दाङका लागि केही नगरेकाले जनता निराश भएको र आफूले जितिने अनुमान गरेको छ । ‘हाम्रा उम्मेदवार जनताको आवाज सुन्न लायक उम्मेदवार हुन्,’ दाङमा चुनावी अभियानमा होमिएका एक कांग्रेस नेताले भने, ‘उहाँको नेकपा उम्मेदवारसँग तुलना हुनै सक्दैन । उहाँले यहाँका जनतासँग सुखदुःख सेयर गर्नु भएको छ ।’

प्रतिक्रिया दिनुहोस