ए बा……
आमाको सिउँदोको
सिमा मिचेर
दायाँ कानबाट सिउँदोको
सिमा बन्दा पनि चुपचाप भयौ,तिमी ,
त्यो मायाको स्पर्श थिएन बा,
त्यो कुटिल नजर थियो ,
तिमीलाई सुम्सुम्याएको,
लोभ्याएको,मुस्कुराएको सबै कुटिल थियो।
आमाको सिउँदोको
सिमा-सत्यलाई नाश गर्न हो बा,
आमा प्रती देखाएको मोह होइन…
बिष्णु ले बिन्द्रा लाई छले जस्तै
एक छल हो ,एक स्वाँग हो,
बुझन बा,आँखा खोलन अब त
तिमी निर्ल्लज बनेर मुस्कुराउदै नबस न ,
तिम्रै आयुको लागि कोरिने ती
सिउँदोका सिमाहरु आज बाङ्गिएका छन,
तिम्रै प्रगतिका खातिर
सिन्दुरे रङ्गले भरिने ती
सिमाहरु
आज पुरिएका छन ,सारिएका छन!
ए बा भन अब तिम्रो आयु कति छ?
मानौ सिउँदोको सिमा हरायो
सगरमाथाको शिर मात्र
बाँकी रहयो आमाको भन्नु,
लिपुलेक भाँचिनै लाग्दा
सगरमाथा छ
हाम्रो भनेर मख्ख नपर न बा!
नजर त उनिहरुको सगरमाथा मै छ,
बा ,तिमी अझै मुस्कुराउछौ ?
आज हाम्री आमाको छात्तीमा
किला गाडिएको छ!
आमाको सिउँदोको सिमा
खगमज पारिएको छ!
बा तिमी मौन छौ आखिर कहिले सम्म?
आमाको छात्तीमा किला ठोकिँदा
हामी सन्ततिलाई
असैहय पीडा हुन्छ बा
नशा नशामा रगत उम्लिएर आउँछ,
खुकुरी बोकेर
सिमामा पहरेदार बनुँ झै लाग्छ!
लाग्छ,कि आफू टुक्राटुक्रा बनुँ
कि ती रक्तपिपाशुहरुलाई टुक्राटुक्रा बनाउँ ,
नेपाली झन्डा बोकेर सिमा मा लगाउँ
ग्रेट बाल जस्तै पर्खाल बनाउँ,
तर
तिम्रो मौनता ले मलाई त्यो भन्दा बढी टुक्राईदिन्छ!
छियाछिया बनाईदिन्छ,
आँसु कालापानी जस्तै निरही बनेर बगिरहन्छ…!
मेरा उम्लिएका रगतहरु
जिउँदो शरीर भित्र जमेर किमा बनिदिन्छन,
महशुस गर,बा, किमा बन्न
कति चोट सहनु पर्छ?
आज म जस्तै हरेक सन्तानहरुको
शरीरमा देशभक्ति भावले रगत उम्लिएको छ!
तात्तेको छ,
अनि पुनः
तिम्रो मौनताले गर्दा
उम्लिएको रगत जमेर किमा बनेको छ,
आफ्नो घर बनाउँदा छिमेकीको
जग हल्लाउने गरि किला ठोक्ने
दुष्ट छिमेकीलाई कति दिन सम्म
ज्यु ज्यु गरेर बस्छौ बा?कतिदिनसम्म?
सहनुको सिमा हुन्छ,
बा,तिम्रो स्वार्थ के मा छ?
आफ्ना सन्ततिहरुलाई अरुको दास बनाएर
मेरि आमा तिम्री “भुमि”लाई
छात्तिमा सङ्गिन भालाले रोपिँरह्ँदा ..
तिमी मात्र राजमहलमा बस्दा,
कति दिनसम्म चैन हुन्छ तिमीलाई?
दुख्दैन होला र? ,पोल्दैन होला र ?
उठ्न बा ,जाग न,अब
आउ केही शक्तिशाली निर्णय गर,
स्वार्थीहरुको पन्जाबाट
छुटकार दिलाउ आमालाई
मलाई आमाको बाङ्गिएको सिउँदो
स्विकार्य छैन,
अनि तिमी अस्तित्व
मेटाएर निर्ल्लज भएर मुस्कुराएको
कदापी हेर्नू छैन!
ए बा,
आमाको सिउदो सिधा कोरेर सिन्दुरे रङ्गले
पुनः सिन्दुर भरिदेउ न,
छचल्किएका आँसुहरुलाई मुस्कानमा भरिदेउ न।
एक शक्तिशाली निर्णय गर न बा….।
दुनियाँमा बा हुनु को अर्थ ,बा को अर्थ
बताईदेउ न,
ए बा,एक शक्तिशाली निर्णय गरि देउ न….।